अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

कोलोराडोमा सरस्वती पूजासँगै कवि गोष्ठी सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ माघ १३ गते १६:२७ मा प्रकाशित

कोलोराडोमा आज सरस्वती पूजा सँगै कवि गोष्ठी सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोलोराडोका नेपाली दाजु भाइ, दिदी बहिनी, कवि कवयत्री, पत्रकार, बाल बालिका, गन्यमान्य तथा सर्वसाधारणको उपस्थिति रहेको थियो भने अनेसासका केन्द्रिय अध्यक्ष पदम विश्वकर्माको विशेष उपस्थिति रहेको थियो ।

आमा भवानी ढुङ्गेलले सरस्वती माईको बिधिबत रूपमा पूजा गरी कार्यक्रमको सुरुवात गरेकी थिइन । सो अवसरमा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल र पूजारी जीवन बरालले सरस्वती मन्त्रोच्चारणसँगै संख घण्ट बजाएर माता सरस्वतीको आराधना गरेका थिए । त्यस पछि उपस्थित सबैले सरस्वतीको पूजा गरेका थिए । कार्यक्रममा गत वर्ष देहान्त भएका श्रष्टाहरु कला भुशन, प्रेमा शाह तथा हिजै मात्र देहान्त हुनु भएका गायक रमेश ताम्राकारलाई सम्झिएको थियो ।

कार्यक्रममा अग्रज बुवा केशव मिश्राले उपस्थित सबै बालबालिकाहरूलाई बिआरटी नेपाल डट कमद्वारा प्रदान गरिएको विभिन्न शैक्षिक सामग्रीहरू वितरण गरेका थिए । साथै बुवा मिश्राले पुजारी जीवन बरालका सुपुत्रलाई पहिलो चोटि “क” लेख्न सिकाएका थिए । कार्यक्रममा च्याप्टरकी उपाध्यक्ष मिना पौडेलले नव नियुक्त पर्टन दूत साबु गदाललाई खादा ओडाई सम्मान गरेकी थिइन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संस्थाका महासचिव श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने धन पौड्यालले कार्यक्रम संचालन गरेकी थिइन् । पूजारी जिबल बरालले बासुरिको मिठो धुन सुनाएका थिए । 

दोस्रो चरणको कार्यक्रममा कवि कबियत्रीहरुले आ-आफ्ना रचना बाचन् गरेका थिए । रचना वाचन गर्नेहरुमा कुमार जङ कार्की, टिका पौडेल, श्याम श्रेष्ठ, समीर आचार्य, पदम विश्वकर्मा, प्रमिला शर्मा, साबु गदाल, हरि राज अधिकारी, ज्ञानेन्द्र गदाल, वासु खनाल, कृष्ण मुरारी ढुङेल तथा डा विशाल सिटौला थिए । उक्त कार्यक्रममा रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष विनोद त्रिपाठी, अनेसासका ट्रस्टी डा. विजय राज शर्माको पनि उपस्थिति थियो ।

विश्वको ७३ देशमा शाखा र सयौँ च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया