अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

बेलायती जेलमा सजाय भोग्दै ११ नेपाली

बिआरटीनेपाल २०७४ माघ १० गते १८:५१ मा प्रकाशित

बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय भोगिरहेका छन् । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले लन्डनस्थित नेपाली दूतावासलाई उक्त तथ्यांक दिएको हो ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले यसअघि २० नेपाली जेलमा रहे पनि हाल ११ जनाले मात्र जेल सजाय भोगिरहेको जानकारी पाइएको बताए ।

‘चोरी, लागूऔषध कारोबार, गैरकानुनी काम र ओभर स्टे तथा अन्य अपराधका कारण नेपाली जेल परेको पाइएको छ,’ दूतावासका प्रवक्तासमेत रहेका आरणले भने, ‘भिसा सकिएपछि गैरकानुनी बसेका नेपालीसमेत समातिएर जेल जाने क्रम बढेको पाइएको छ ।’ डेटा प्रोटेक्सन एक्टअनुसार व्यक्तिका विवरण सबै खुलाउन नमिल्ने भएर पनि जेल बसेका नेपालीबारे पर्याप्त सूचना नपाएको दूतावासको भनाइ छ ।
केहीअघि लागूऔषध कारोबारमा संलग्न अभियोगमा एक नेपाली चमन श्रेष्ठलाई ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले दुई वर्ष ८ महिना जेल सजाय सुनाएको थियो । बेलायतको कानुनमा गैरकानुनी काम गरेको भेटिए ६ महिनासम्म जेल सजाय हुने प्रावधान छ । त्यस्ता व्यक्तिलाई काम दिने रोजगारदाताले जनही २० हजार पाउन्डसम्म तिर्नुपर्ने हुन सक्छ । गैरकानुनी बसेकालाई घरभाडामा दिए ५ वर्षसम्म जेल सजाय र जरिवाना हुन सक्ने प्रावधानसमेत यहाँ छ ।
बेलायतमा १० लाख हाराहारी आप्रवासी गैरकानुनी बसिरहेको अधिकारीहरूले बताउँदै आएका छन् । सन् २००१ मा होम अफिसले गरेको एउटा विश्लेषणमा गैरकानुनी बसेका आप्रवासीको संख्या करिब ४ लाख ३० हजार थियो । तर, अहिले त्यो संख्या दोब्बरभन्दा बढी रहेको अनुमान छ ।
सरकारले यही जनवरीदेखि गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्ने अभियानकै एक हिस्साअनुरूप यूके बैंक तथा बिल्डिङ सोसाइटीलाई करिब ७० मिलियन बैंक खाता जाँच गर्न भनेको छ । ३–३ महिनामा बैंक खाता जाँच गरिने र यसो गर्दा पहिलो वर्षमै गैरकानुनी बसेका, शरणार्थी आवेदन दिएर अस्वीकृत भएका वा अन्य अपराध गरेका करिब ६ हजार आप्रवासीलाई स्वदेश फर्काउन सकिने विश्वास सरकारको छ ।   आजको कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू