अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

बाना औपचारिक रूपमा आफ्नो सामुदायिक भवनमा प्रवेश

विजय थापा २०७४ माघ ७ गते २२:१२ मा प्रकाशित

बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रूपमा आफ्नै सामुदायिक भवनमा प्रवेश गरेको छ l बानाले आफ्नो सामुदायिक भवनको औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गर्दै भव्यताको साथ सम्पन्न गरेको छ l

बानाले हालै भवन खरिद गरेको थियो भने विधिवत रूपमा सर्न पूजा आराधना सम्पन्न गरेको छ l उक्त उद्घाटन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष लगायतहरुका पदाधिकारी समेत पूजामा सरिक भएका थिए l

उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (विद्या वारिधि ) प्रमुख अतिथि रहेका थिए भने उक्त कार्यक्रममा बाल्टिमोर सहरका विभिन्न विदेशी अतिथिहरू रिपब्लिकन तथा डेमोक्रेटिक दलका सिनेटर ,सभासद् ,अन्य स्थानीय बिदेशीहरुको साथै महा वाणिज्य दूत प्रेम राजा महत लगायत को सहभागिता रहेको थियो l अतिथिहरूको साथै अन्य स्थानीय सङ्घ/संस्थाका प्रतिनिधिहरूले पनि मन्तव्य राखेका थिए l

बाल्टिमोरमा सन् १९९६ देखि नै नेपाली समुदायको जन घनत्व वृद्धि सँगै एउटा सामुदायिक भवन बनाउने विषयमा कुरा चर्चा परिचर्चा भएको थियो l तत्कालीन समयमा बाल्टिमोरका समाजका अगुवा तथा समाजसेवीहरू गणेश मलेगु ,वर्तमान महा वाणिज्य दूत प्रेम राजा महत लगायत ले बाल्टिमोरमा संस्था हुनु पर्ने कुरामा जोड दिएका थिए l

तर अन्तत्वगत्वा डिसी महानगर क्षेत्रमा सक्रिय रहेको नेपालीहरूको गैर मुनाफा सामाजिक संस्था बाना सन २००४ मा स्थापना भएको हो l सन् २०११-२०१३ को समितिका पदाधिकारीहरूले सामुदायिक भवनको परिकल्पना गरेका थिए l तत्कलिन अध्यक्ष विजय श्रेष्ठले आफू अध्यक्ष भए पछि केही महिना भित्र पण्डित दिन बन्धु पोख्रेल लाई बोलाई महा पुराण लगाई कोष वृद्धि गरी सामुदायिक भवनको सुरुवात गरेका थिए l

उक्त समयमा महा सचिवका उम्मेदवार तथा वर्तमान प्रवासी नेपाली मञ्चका केन्द्रीय अध्यक्षले उम्मेदवार हुँदा सामुदायिक भवन चाहिन्छ भनी जोड दिएका थिए l

पूर्व अध्यक्ष कुलमणि आचार्य को कार्यकाल सन् २०१५-२०१७ मा सामुदायिक भवन सम्बन्धी धेरै काम भएको थियो l कार्यक्रममा प्रवासी नेपाली मञ्च का केन्द्रीय अध्यक्ष प्रभु थापा ,नासो कम्युनिटीका केन्द्रीय अध्यक्ष गोपाल विश्वकर्मा ,एनआरएनए का संस्थापक केन्द्रीय उपाध्यक्ष डा श्याम कार्की ,एनआरएन का उपाध्यक्ष जादु पोख्रेल लगायत बाल्टिमोर तथा डिसी महानगर क्षेत्रका अन्य सङ्घ/संस्थाका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो l

कार्यकममा स्वागत मन्तव्य बाना कि अध्यक्ष अनु श्रेष्ठ वन्तले गरेकी थिइन् भने पूर्व अध्यक्ष कुलमणि आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए l कार्यक्रम सञ्चालन महा सचिव हिरा गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष सुबोध विलास पन्तले गरेका थिए l

बानाको यस सामुदायिक भवनको शुभारम्भ सँगै अब बैठक ,कार्यक्रम तथा अन्य कार्यक्रम गर्न सहज हुने महसुस गरिएको छ l अमेरिकामा रहेका विभिन्न सङ्घ/संस्थाले निर्माण गरेका सामुदायिक भवनमा मन्दिर जोडिने हुन्छ भने बानाले केवल सामुदायिक भवनको रूपमा मात्र प्रयोग गर्ने छ l

बाना सामुदायिक भवन निर्माण गर्न बाहिर बाट पनि सहयोग जुटेको छ l सामुदायिक भवनमा दुई तला छन् ।

प्रतिक्रिया