अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

साउदी अरेवीयाको जेलमा रहेका थानेश्वर भुषाललाई कारागारबाट मुक्त गर्नको लागि दुई चेक हस्तान्तरण

प्रवासी नेपाली समन्वय समितिले २५ लाख ४८ हजार र गैर आवासीय नेपाली सङ्घले रु १५ लाख ५० हजारको चेक

बिआरटीनेपाल २०७४ माघ ५ गते ११:२३ मा प्रकाशित

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन व्यतित गरिरहेका थानेश्वर भुषाललाई कारागारबाट मुक्त गर्नको लागि प्रवासी नेपाली समन्वय समितिले भुषाल बचाउ अभियान अन्तर्गत सङ्कलन गरेको २५ लाख ४८ हजार र गैर आवासीय नेपाली सङ्घले उपलब्ध गराएको रु १५ लाख ५० हजारको बेग्ला बेग्लै चेक आज नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास वैरागीलाई हस्तान्तरण गरिएको छ ।

आज प्राप्त भएको सहयोग रकम साउदी अरेवीयाको नेपाली महावाणिज्य दूतावासमा पठाई थानेश्वर भुषाललाई जेलबाट रिहा गर्ने प्रक्रिया सुरु गरिने परराष्ट्र सचिव वैरागीले जानकारी दिनु भएको छ । सहयोग रकम जुटाएकोमा उहाँले गैर आवासीय नेपाली सङ्घ र प्रवासी नेपाली समितिलाई धन्यवाद व्यक्त गर्नु भयो ।

आजको सहयोग रकम सङ्घले आफ्नो राहतकोषबाट रु १२ लाख ५० हजार, एनसिसि साउदी अरेवीयाले रु २ लाख ५० हजार र एनसिसि मलेसियाले रु ५० हजार उपलब्ध गराएको हो । यस सहयोग हस्तान्तरण कार्यक्रममा सङ्घका अध्यक्ष भवन भट्ट, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कूल प्रसाद कार्की, गैर आवासीय नेपाली सङ्घका सचिव डी बि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक किरणविक्रम थापा र सचिवालयका प्रमुख कार्यकारी अधिकृत डा हेमन्त दवाडीको सहभागिता रहेको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रम पछि गैर आवासीय नेपाली सङ्घको सचिवालयमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सहयोग बारे जानकारी गराइयो । यस कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कूल प्रसाद कार्कीले समितिका साथै भुषालको रिहाइका लागि सङ्कलन गरिएको रकम बारे जानकारी दिनु भएको थियो । यस्तै भुषालकी आमाले आपत् परेको बेलामा रकम जुटाई सहयोग गरेकोमा गैर आवासीय नेपाली सङ्घ र प्रवासी नेपाली समन्वय समिति प्रति आभार प्रकट गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा सङ्घका अध्यक्षले सहयोग रकम जुटाएकोमा एनसिसि साउदी अरेवीया, एनसिसि मलेसिया र यस काममा पहल गर्ने प्रवासी नेपाली समन्वय समिति लगायत सहयोग गर्ने गैर आवासीय नेपालीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले आज थानेश्वर भुषालको रिहाइमा चाहिने आवश्यक रकम नेपाल सरकारलाई बुझाईसकेको र चाडै नै सरकारले आवश्यक प्रक्रिया पुर्‍याई नेपाल फर्काउने विश्वास व्यक्त गर्नु भयो ।

सङ्घका प्रवक्ता भूषण घिमिरेले कार्यक्रमको सञ्चालन गर्नुका साथै सहभागी हुनु भएका सबै संचारकर्मीहरु र सरोकारवालाहरु प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू