अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

डिसीमा तमु ल्होसार कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ माघ ३ गते २२:५६ मा प्रकाशित

शिवहरी पौडेलले हँसाउनु हँसाए, रामप्रसाद खनालले छमछमी नचाउनु नचाए,

जनवरीको चिसो मौसममा गुरुङ गुरुङ्सेनीहरु आफ्नो रीति रिवाज, संस्कृति अनुरूपको चाड ल्होसार मनाउन आफ्नै भेसभुसामा उपस्थित थिए । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा वाशिङटन डिसीमा आयोजित ल्होसार कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् लोकप्रिय हास्य कलाकार शिवहरी पौडेल मँचमा पुगे र हँसाउन थाले । शिवहरीको हँसाउने कला तपाईँलाई थाहा नै छ उनी कति हंसाउँछन । हाँसो लगत्तै मँचमा पुगेका अतिथि कलाकार, अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले एउटा विरहको गीत गाए, स्तब्ध बनाए सबैलाई । त्यसपछि पञ्चेबाजाको उनको गीतमा छमछमी नचाए सबैलाई ।

यस अघि प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कुमार कार्कीले पानसमा बत्ती बालेर गरिएको उद्घाटन गरेका थिए । राजदूत कार्कीले प्रवासमा पनि नेपालको गुरुङ भेषभूषा प्रस्तुति सहितको नेपालको संस्कृति सम्बर्धनमा तपाईहरुले गर्नुभएको यो राम्रो कामको प्रशंसा गर्दै नेपाल सरकार तथा नेपाली दूतावासको तर्फबाट ग्रेटर वासिङ्टन तमु समाजलाई धन्यवाद दिएका थिए ।

उनले अगाडी भने यस्तो नेपालको संस्कृति चिनाउने यस्तो कार्यक्रमले हालका स-साना केटाकेटीको पछिल्लो पिँढीलाई नेपालबारे राम्रो प्रभाव पर्दछ । समाजका निबर्तमान अध्यक्ष तथा ल्होशार संयोजक नन्द गुरुङको स्वागत मन्तव्य पछि ८२ वर्षीय टिकाराम गुरुङ अर्का एक मात्र वक्ता थिए। न्यु योर्क देखी आएका ग्याल साम्बो समाज (मनाङ्ग समाज) का महासचिव याङ्गचुङ्ग फुनेल, तामांग समाज, थकाली समाज लगायत डिसी एरियाका सङ्घ, संस्थाका अध्यक्षहरू लगायतका अतिथीहरुलाई गुरुङ महिलाको पहिरन गुन्यु, चोलो, निलो पटुका, हरियो पोते, घलेक लगाएका हेर्दा आकर्षक गुरुङ चेलीहरु मनमाया दाहाल गुरुङ, लुमा गुरुङ र सृजना गुरुङको टोलीले खादा ओढाएर स्वागत गरेका थिए।

नेपालको र अमेरिकाको राष्ट्रिय गानबाट सुरु गरिएको समारोहमा स्कुल, कलेज ग्राजुयेट गरेका गुरुङ समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने तमु समाजका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा स्वागत समारोह सम्पन्न भएको थियो। कलाकारहरूको बेजोड सांस्कृतिक कार्यक्रम मध्य रातको १२ बजे सम्म चलेको थियो।

गुरुङ समुदायमा दुख र सुख पर्दा गरिने सेरु भनिने सेर्का नृत्य आकर्षक थियो। सेर्का नृत्य तमु समुदायको एक मुख्य संस्कृति हो ग्रेटर वासिङ्टन तमु समाजका एक बुद्धिजीवी प्रेम गुरुंगले बताए। मनमाया दाहाल गुरुङ बबीले सांस्कृतिक कार्यक्रमको संयोजन गरेकी थिइन्। तमु ल्होशार-कार्यक्रममा नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया