अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो वर्ष कस्तो रह्यो

राष्ट्रपती ट्रम्पको दिक्दारीपूर्ण पहिलो वर्ष: उनी अझ कठोर र विध्वंशक हुने छन्

स्टेफेन कोलिन्सन, सिएनएन । अनुवाद: लोकमणी राइ २०७४ माघ २ गते १७:१२ मा प्रकाशित

विश्लेषण: 

डोनाल्ड ट्रम्पको राष्ट्रपतिको पहिलो वर्ष कस्तो रह्यो भन्ने सटिक व्याख्या दशकौं सम्म गर्न असम्भव छ ।

उनले सुरुवाती सम्बोधनमा नै ‘अमेरिकीहरूको नरसंहार’ भनेर एकता भाँडे । आफ्नै कार्यालयको शोभा घटाउँदै जातीय र सामाजिक फाटो ल्याउने गरी, र अझ जुन मान्यतामा अमेरिकाको जग ठडिएको छ त्यसप्रति नै शङ्का उत्पन्न गरेर उनले राजनीतिक आचार भत्काए ।

ट्रम्प नरोकिने रिसाहा आँधीजस्तै छन् । उनको बिहानी ट्वीट राष्ट्रको केन्द्रीय स्नायु प्रणालीमा गढिएको छ । त्यसले दिनलाई हप्ता, हप्तालाई महिना र महिनालाई वर्षजस्तो अनुभूति लाग्ने गरी चलिआएको राजनीतिक बहसको परम्परा ध्वस्त बनाएको छ ।

पारित भएको विधेयक, विश्वमा अमेरिकी शक्तिको तुलनात्मक अवस्था, अर्थतन्त्रको स्वास्थ्य, ट्रम्पको ‘रेटिङ’, र सुरक्षा र सम्पन्नताक अवस्था राष्ट्रपतिका रूपमा ट्रम्प कति सफल छन् भनेर मूल्याङ्कन गर्ने सामान्य साधन हुन् । तर, यी चल्तिका साधनले ट्रम्पको असामान्य राष्ट्रपतित्वको सफलता÷असफलता मापन गर्न सक्दैन । साथै, ट्रम्प, जो भड्काव र सनकलाई प्रयोग गरेर मानिसको ध्यान आफुतर्फ खिँचिरहेका छन्, ले राष्ट्रिय जीवनमाको हरेक क्षेत्र प्रभावित बनाइरहेका छन् ।

आइतबार ‘शिटहोल’ अफ्रिकी देश भनेको कुरा उठेपछि उनले पत्रकारहरूलाई भने, ‘म रेसिस्ट होइन ।’ उनको राष्ट्रपतित्व कति असामान्य छ भन्ने देखाउन यो अभिव्यक्ति काफी छ । बच्चादेखि बुढासम्म देशमा भएका हरेकसँग ट्रम्पबारे आफ्नो धारणा छ । उनलाई बेवास्ता गर्न वा नकार्न कसैले सक्दैन । न त उनीसँग कोही भाग्न वा छलिनन् सक्छ । उनले चाहेको पनि यस्तै हुनु हो ।

जितहरू
उनकै शब्दमा, राष्ट्रपतिको पहिलो वर्ष उपलब्धिमुलक छ । उनको मन्त्रिपरिषदका सदस्यहरू यथास्थितिवादी कठोर एजेन्डा कार्यान्वयन गरिरहेका छन्, जसले अमेरिकालाई नयाँ आकार दिइरहेको छ । उनले न्यायालयमा नियुक्त गरेका मानिसहरूले नयाँ पुस्ताका लागि न्यायशास्त्र पुनर्लेखन गरिहेको छ । उनको कर कानुन र त्यसमा भएको १४ प्रतिशन कर्पोरेट कर घटाउने व्यवस्थाले, वर्तमान प्रशासनको भनाइ अनुसार, नगद प्रवाहमा बाढी ल्याउने छ, रोजगारी सिर्जना गर्ने छ र ट्रम्पलाई राष्ट्रपति बनाउने मध्य पश्चिम राज्यहरूमा व्यावसायिक फाइदा पुर्याउने छ ।

चुनावी अभियान ताका गरेका केही विवादास्पद प्रतिबद्धताहरू डटेर लागु गरे पनि ट्रम्पको विजय आफ्ना समर्थकलाई उत्तेजित बनाउने तर अरू धेरैलाई अपमानको कारण बन्ने व्यवहारले छायाँमा परेको छ । अर्थतन्त्र चुस्त हुनु, स्टक मार्केट आकाशिनु, बेरोजगार दर १७ वर्ष यता सबैभन्दा कम हुनु र आइएसआइएस पराजित हुनु तर, राष्ट्रपति ट्रम्पको ‘अप्रुभल रेटिङ’ सबैभन्दा कमजोर अवस्थामा झर्नु आफैँमा विरोधाभासपूर्ण छ । यसमा राष्ट्रपति ट्रम्प आफैँले निराशा व्यक्त गरेका छन् ।

‘मेरो पालामा जस्तो पहिलो वर्ष प्रशासनले यस्तो कहिल्यै गरेको छ भन्ने मलाई लाग्दैन,’ अघिल्लो साता मन्त्रिपरिषदमा ट्रम्पले भनेका थिए, ‘हाम्रो देश, हाम्रा जनता र विश्वमा हाम्रो अडान हेर्ने हो भने यो उपलब्धि स्मरणीय रहने छ ।’ एक अर्थमा उनको यो भनाइ सही हो । किनभने उनको प्रशासनले जे काम ग¥यो अरू कसैको प्रशासनले त्यो गरेको छैन । त्यो काम पूर्ण रूपमा ट्रम्प प्रशासनको हो जसले राष्ट्रपतिका रूपमा उनको वास्तविकता बताएको छ ।

ट्रम्प राष्ट्रपति बनेको शनिवार एक वर्ष पुरा भएको छ । यो अवधिमा उनले जे गरे त्यसलाई सच्याउन पूरा २ कार्यकाल लाग्ने छ । पहिलो सम्बोधनमै आकारबारे विवाद, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनका बहिर्गमन, यात्रा प्रतिबन्ध, ओबामा प्रशासनले आफ्नो वार्तालाप रेकर्ड गरेको दाबी, सिरियामाथि हवाई हमला र सुप्रिम कोर्टमा निल गोर्सचको नियुक्ति विचित्रका छन् ।

एफबिआई डाइरेक्टर जेम्स कोमी बर्खास्तगी पछि भएका श्रंखलागत घटना, विशेष सल्लाहकार रबर्ट मुलरको आगमन, चुनावमा रसियाको भूमिकाबारे छानबिन, कस्मेटिक सर्जरी गर्दा मिका ब्रेजेन्स्कीको रक्तश्राव भएको देखेको भन्ने दाबी, ओबामा केयर खारेज गर्ने असफल प्रयत्न, नियो नाजी मार्चर्सबारे गोलमोल अभिव्यक्ति लगायतका घटना राष्ट्रपति ट्रम्पका लागि नाङ्गो आँखाले ग्रहण हेरेजस्तै भयो ।

एक पुस्तामा एक पटक हुने कर कटौती, सामाजिक रूपमा सचेत एनएफएल खेलाडीमाथि हमला, पूर्व ह्वाइट हाउस रणनीतिकार स्टिभ बेननको ‘स्वः दहन’, माइकल उल्फको छक्क पार्ने किताब प्रकाशन पछि ट्रम्प राष्ट्रपति कार्यालयका लागि उपयुक्त भए÷नभएको बारे विचित्रको सार्वजनिक चासो र ‘लिटिल रकेट म्यान’ किम जोङ उनप्रतिको भड्काउपूर्ण अभिव्यक्ति यस्तै श्रंखलागत घटना हुन् । सूची अझ लामो छ । ‘रियालिटी टिभीमा जस्तो हरेक दिन केही न केही हुन्थ्यो,’ ट्रम्पबारे ओहायोका रिपब्लिकन गभर्नर जन केसिकले शुक्रवार सिएनएनका जेक टेपरलाई भनेका छन्, ‘यो हाम्रो देश वा विश्वका लागि स्वस्थकर छैन ।’

तारोमा संस्था
ट्रम्पको पहिलो वर्ष यदि कुनै भित्री उद्देश्य थियो भने त्यो राष्ट्रपतिको कार्यालयको हरेक अपेक्षा र सीमा भत्काउनु थियो । आर्थिक क्षेत्रमा उनको व्यावसायिक साम्राज्य छ जसको आचार र राष्ट्रपतित्व मेल खाँदैन । उनी आफुसँग जस्टिस डिपार्टमेन्टमा जे पनि गर्न सक्ने अधिनायकी अधिकार रहेको विश्वासमा देखिन्छन् ।

उनले यसरी सुरु गरेको संस्थामाथिको धावा शक्ति सन्तुलनमा भूमिका खेल्ने हरेक संस्थामा प्रथाकै रूपमा अघि बढेको छ । उनले ओभल अफिस (राष्ट्रपतिको कार्यालय) छाडेर जाँदा इन्टेलिजेन्स एजेन्सीज्, न्यायपालिका र प्रेसको अनुहारमा त्यसको दाग देखिने छ ।

‘डोनाल्ड ट्रम्पसँग नियमप्रति आस्था छैन । उनले जीवनभर नियम तिरस्कार गरेका छन्,’ ट्रम्पलाई ३० वर्षदेखि चिनेका पुलिट्जर प्राइज विजेता पत्रकार डेभिड केले मङ्गलवार सार्वजनिक गरेको किताबमा उल्लेख गरेका छन् ।

किताबमा ट्रम्प तानाशाह स्वभावको भएको, उनी तानाशाह जस्तो बोल्ने र व्यवहार गर्ने मानिस भएको केको पुस्तक ‘इट्स् इभन वर्ष देन यु थिंकः व्हाट द ट्रम्प एडमिनिस्ट्रेसन इज डुइङ टु अमेरिका’ मा उल्लेख छ । किताबको निष्कर्ष छ– राष्ट्रिय स्वार्थमा नीति नलिने अमेरिकी राष्ट्रपतिमा ट्रम्प अद्वितीय छन् । ‘ट्रम्पको राष्ट्रपतित्व ट्रम्पकै लागिमात्र हो,’ केले लेखेका छन् ।

यो सत्य हो भने राजनीतिक प्रणाली आफैँले नसोचेको चुनौती सामना गरिरहेको छ । ट्रम्पले हालै एफबीआई र जस्टिस डिपार्टमेन्टको विश्वासनीयतामा धावा बोले । रसिया संलग्नताबारे क्यापिटोल हिल रिपब्लिकनको छानबिनमा बाधा उत्पन्न गरे । यसबाट न्याय सम्पादनमा बाधा पुगेको वा चुनावमा रसियन संलग्नताबारे हाउस र सिनेट ट्रम्प दोषी भएको निष्कर्षमा पुग्न सक्छ । त्यसको असर सन् २०१८ मा हुने मध्यावधि निर्वाचनमा देखिने छ । त्यसमा डिमक्र्याटहरुले भारी सिटले जित हासिल गर्ने लक्ष्य लिएका छन् । त्यस्तो भएमा त्यो राष्ट्रपति ट्रम्पविरुद्ध हुने छ ।

बदलिँदो विश्व
असामान्य राष्ट्रपतित्वले घरेलु रानीतिक संरचना मात्र दबाबमा छैन । ट्रम्पले अमेरिकाको विश्वमा खेल्दै आएको भूमिकामा समेत आधारभूत रूपमा ठुलो परिवर्तन गरिदिएका छन् । उनको राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले गत महिना ट्रम्को नेतृत्वमा अमेरिकाले पुनः ‘रणनीतक विश्वास’ हासिल गरेको बताएका थिए ।

प्रशासनले चीन र रसियाजस्ता प्रगतिशील शक्ति र इरान, उत्तर कोरियार जेहादी समूह जस्ता ‘दुष्ट’ शक्ति लक्षित राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरेको छ । तर, ट्रम्प आफैँ रसियाका राष्ट्रपति भ्लादमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङको प्रशंसा गर्छन् । यसले उनको सुरक्षा नीति र विदेश नीति बाझिन्छ । उनको विदेश नीति विश्व रणनीतिसँग मेल खाँदैन, बरु उनको राजनीतिक आधारको इच्छामा चलेको देखिन्छ ।

उनको प्रशासनले सिरियामा आइएसआइएस पराजित गर्न ओबामा प्रशासनको योजना बेजोडका साथ लागु ग¥यो र उत्तर कोरियामा सबैभन्दा कडा नाकाबन्दी लगायो । तर, घरमा भने उनको आफ्नै कामहरू, जंगली ट्वीट र ‘अमेरिका फस्र्ट’ आकाङ्क्षा छाँयामा प¥यो । विश्वको स्थायितवमा लामो समयदेखिको बलियो किल्ला अमेरिकालाई उनले त्यसबाट विघटन गराउने तथा अनिश्चयको दिशातर्फ लाने काम गरे । उदाहरणका लागि जाती र धर्मबारे उनको अभिव्यक्तिले अमेरिकाको शक्ति कमजोर बनाउने जोखिम छ ।

अमेरिकाको सैन्य शक्तिलाई कसैले चुनौती दिन सक्ने अवस्था नरहे पनि ट्रम्पले अमेरिकालाई ट्रान्स अमेरिका पार्टनरशीप र पेरिस वातावरण सम्झौताबाट अलग्याए ।

अब के ?
एउटा महत्त्वपूर्ण प्रश्न अब ट्रम्पले राष्ट्रपतित्व बदल्छन् कि राष्ट्रपति बदलिन्छ भन्ने हो । प्रस्ट के छ भने उनी अघिका राष्ट्रपतिका ४३ जागिरे आफैँ बदलिए । उनको काम गर्ने अनियन्त्रित तरिकाकै कारण उनका समर्थकले एक वर्षको कार्यकालमा उनलाई अझ बढी माया गरेका छन् । तर, बहुसङ्ख्यक मानिस उनी राष्ट्रपतिका लागि अयोग्यमात्र होइन खतरा पनि भएको ठान्छन् । पहिलो वर्ष ट्रम्प कठोर, अनियन्त्रित र शर्म नभएको राष्ट्रपतिका रूपमा देखिए । दोस्रो वर्ष उनी अझ कठोर र विध्वंशक हुने छन् । विश्लेषक: स्टेफेन कोलिन्सन, सिएनएन । अनुवाद: लोकमणी राइ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू