अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

उपराष्ट्रपति पुन र भारतीय राजदूत सिंहबीच शिष्टाचार भेट

बिआरटीनेपाल २०७४ माघ २ गते ६:५१ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटवार्तामा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताउनुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

अब नेपाल आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको चर्चा गर्दै उहाँले युगौँदेखिको नेपाल–भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको बताउनुभयो ।

उपराष्ट्रपति पुनले आउँदै गरेको भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, समकक्षी, प्रधानमन्त्री, राजनेता र आम भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभयो ।

भेटमा भारतीय राजदूत सिंहले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताउनुभएको प्रेस संयोजक घर्तीले जानकारी दिनुभयो ।

भर्खरै सम्पन्न निर्वाचनमा नेपाली जनताको अभिमतलाई भारतले स्वागत र सम्मान गर्ने बताउँदै उहाँले निर्वाचनले नेपालको लोकतन्त्रलाई सुदृढ गरेको छ भन्नुभयो ।

राजदूत सिंहले भारत र नेपालबीच राजनीतिक र भौगोलिक सिमानाको सम्बन्धमा मात्रै सिमित नरही जनस्तरसम्म फैलिएको उल्लेख गर्दै प्रविधि, पूर्वाधार, जलविद्युत्, व्यापारलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत सदैव तयार रहेको बताउनुभयो ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू