अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४९ | Colorodo: 11:04

खाडी मुलुकबाट फर्केर गाईपालनमा सक्रिय सफल युवा

बिआरटीनेपाल २०७४ माघ १ गते १:३४ मा प्रकाशित

खाडी मुलुकमा पसिना बगाएर स्वदेश फर्केका पाल्पाका युवा गाईपालनबाट यथेष्ट कमाइ गर्न सफल भएका छन् ।  दाम र कामको खोजीमा साहुसँग ठूलो ऋण झिकेर खाडी मुलुकमा पुगेका युवाले पशुपालनलाई पछिल्लो समय आम्दानीको बलियो र दिगो माध्यमबा रुपमा अपनाएका छन् ।

रामपुरका गणेश आचार्यले तीन वर्ष खाडीमा समय बिताएर गाउँमै फर्की गाईपालन व्यवसाय थाल्नुभएको छ । जर्सी र होलस्टिन जातका गाई पालेर आचार्यले मासिकरुपमा खर्च कटाएर रु ६० हजार आम्दानी गर्नुहुन्छ ।

त्यस्तै ज्ञानराज पोखरेललाई पनि विदेशबाट फर्केपछि आम्दानीको बाटो बनेको छ गाईपालन व्यवसाय । विदेशमा गई पैसा प्रशस्त कमाउने र परिवारलाई सुख सुविधाका साथ लालनपालन गर्ने सोच राख्नुभएका पोखरेलले सोचेअनुसारको कमाइ नभएपछि स्वदेश फर्की गाईपालन व्यवसाय थालनी गर्नुभएको हो ।

तीन वर्ष साउदीमा पसिना बगाएर स्वदेश फर्किनुभएका पोखरेल अहिले रामपुरकै नमूना व्यवसायीका रुपमा चिनिन थाल्नुभएको छ । उहाँको फार्ममा हाल १२ वटा उन्नत जातका गाई रहेका छन् । उहाँले दैनिक ५० लिटर दूध उत्पादन गरेर मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “घरमै बसेर खर्च कटाएर मासिक रु ५० हजारजति आम्दानी हुन्छ, विदेशमा वर्षको रु एक लाख पनि कमाइ हुन्न, विदेश जानुअघि धेरै इच्छा, आशा मनमा हुन्छ, गएपछि सबै सपना खाडीमा विहीन हुन्छ ।”

बौघा पोखराथोकका कृषक रुकबहादुर रेश्मी पनि दुई वर्षसम्म बहराइन बस्नुभयो । विदेशबाट फर्केलगत्तै गाईफार्म चलाउनुभएका रेश्मीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने रेश्मीको सपना गाईपालन व्यवसायबाट पूरा भएको छ । “घरमै बसेर व्यवसाय गरियो भने पर्याप्त कमाउन सकिने रहेछ भन्ने अहिले चेतना जागेको छ”,उहाँले भन्नुभयो ।

जिल्लामा अहिले विदेश गएर फर्केका र विदेश जान लागेका १३० भन्दा बढी युवाले व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

कार्यालयले व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढाउन युवालक्षित कार्यक्रमअन्तर्गत अनुदान रकम, चापकटर मेशिन, भकारो सुधार, गोठ निर्माण, निःशुल्क घाँसको बीउ, औषधि उपचारजस्ता सेवा उपलब्ध गराएपछि जिल्लामा पशुपालनमा युवाको आकर्षण बढेको पशु चिकित्सक उत्तम आचार्यले जानकारी दिनुभयो ।

विदेशको लगानी कृषिमा गरियो भने प्रशस्त कमाइ गर्न सकिन्छ । स्वदेशमै बसेर यथेष्ट आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि युवा विदेशिने गरेका छन् । विदेशको पीडा भोगेपछि हिजोआज युवा गाउँमै बसेर पशुपालनमा लाग्न थालेका छन् ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू