राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’, ‘सूचनाको हकः सफलताका कथाहरु’ र ‘२०७३ माघदेखि २०७४ पुस मसान्त सम्म भएका महत्वपूर्ण आदेशहरु’ नामक पुस्तक आज सार्वजनिक गरेको छ । 
आयोगद्वारा यहाँँ आयोजित पदाधिकारीहरुको तीन वर्षे कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, सूचना आयुक्त किरणकुमार पोखरेल, सचिव शंकरप्रसाद पाठक लगायतले संयुक्तरुपमा ती पुस्तक विमोचन गर्नुभयो ।
‘सूचनाको अधिकार’ नामक पुस्तकमा सूचनाको हक, सुशासन, राष्ट्रिय सूचना आयोगको भूमिका, लोकतन्त्र, प्रेस स्वतन्त्रता सम्बन्धी लेख, सूचनाको वर्गीकरण, खुल्ला सरकारको अवधारणालगायत विभिन्न २६ वटा लेख समावेश छ । यो आयोगको तेस्रो अंक हो ।
सफलताका कथाहरु पुस्तकमा सूचना माग, आदेश र कार्यान्वयन एकै दिनमा, सूचनाको स्वयंसेवक परिवर्तन, निःशुल्क औषधिको सूची प्राप्त लगायत २० वटा लेख समावेश छ ।
त्यसैगरी महत्वपूर्ण आदेशमा नेपालमा स्थापित सबै स्थानीय तहका नाममा पाँच बुँदे आदेश जारी, सबै जिल्ला प्रशासन कार्यालयका नाममा आफू कहाँ दर्ता भएका गैरसरकारी संस्थानको एकीकृत विवरण सूचना मागकर्तालाई उपलब्ध गराउनुलगायतका पाँचवटा जारी आदेश संग्रहित छ ।
प्रमुख आयुक्त बाँस्कोटाले जनता मुलुकको मालिक भएकाले कुनै पनि सूचना अधिकारीले भेदभाव नगरी ऐनअनुसार सूचना प्रदान गर्नुपर्नेमा जोड दिंदै उच्च मनोबलका साथ काम गर्न सूचना अधिकारीलाई आग्रहसमेत गर्नुभयो ।
उहाँले प्रथम तीन वर्षमा स्कूलको पाठ्यक्रममा सूचनाको हक समावेश, रेडियो टेलिभिजन र पत्रपत्रिकाबाट सन्देशमूलक जानकारी प्रवाह, स्वतन्त्र आयोगको लोगो निर्माण, आयोगको पाँच वर्षे रणनीति पत्र जारी, राष्ट्रिय आयोगका सबै जिल्लामा सम्पर्क बिन्दु खडा गर्ने लगायतका विषयमा काम गरेको जानकारी दिनुभयो ।
आयुक्त पोखरलेले सूचनाको हक लोकतन्त्रको आधार हो भन्नुभयो भने सचिव पाठकले कर्मचारी तन्त्र सूचना दिन प्रतिबद्ध हुने उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी केदार शर्माले काठमाडौँ जिल्ला सूचनामैत्री भएको दाबी गर्नुभयो । (रासस)