अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

मुलुकको अबको एजेन्डा आर्थिक समृद्धि हुनु पर्ने – उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७४ पुष २७ गते ११:१४ मा प्रकाशित

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनले मुलुकको अबको एजेन्डा आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिनु भएको छ । नेपाल चेम्वर अफ कमर्सको चेम्वर दिवस २०७४ तथा ६७ औँ वार्षिक साधारण सभाको बिहीबार राजधानीमा उद्घाटन गर्दै उपराष्ट्रपति श्री पुनले राजनीतिक संक्रमणकाल अन्त भई मुलुकमा शान्ति स्थापना भएकाले मुलुकले अव आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनु पर्ने धारणा राख्नु भयो ।

उहाँले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनु पर्ने पनि उल्लेख गर्नु भयो । यसका लागि सरकारले निर्यात वृद्धि गर्ने नेपाली उद्योगी व्यवसायीहरूलाई सम्मान गर्ने परम्परा थाल्नु पर्ने आवश्यकता औँल्याउनु भयो । मुलुकको आर्थिक समृद्धिका लागि नेपाल चेम्वर अफ कमर्सले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै उहाँले चेम्वर सरकार र निजी क्षेत्रबिच सेतुको रूपमा रहँदै आएको चर्चा गर्नु भयो ।

स्वागत मन्तव्य राख्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको समग्र चेम्बर अभियानका अग्रणी एवं मार्गदर्शक संस्था नेपाल चेम्बर अफ कमर्स स्थापना भएको ६७ वर्ष भएको उल्लेख गर्दै निजी क्षेत्रको सशक्तिकरणबाट मात्र राष्ट्रको समग्र विकास सम्भव हुने मूलमन्त्र लिई नेपाल चेम्वर अफ कमर्सले आफ्नो स्थापनाकाल देखिनै निजी क्षेत्रको सम्वद्र्धन र संरक्षण गर्दै सरकार र निजी क्षेत्र बिच सेतुको रूपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको जनाउनु भयो ।

निजी क्षेत्रको धरोहरका रूपमा स्थापित नेपाल चेम्बर अफ कमर्स मुलुकको विद्यमान सङ्घीय संरचना अनुरूप संस्थागत स्वरूपमा विस्तार हुन गइरहेको जानकारी दिँदै मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पु¥याउने अभियानको शुभारम्भ यसै ६७ औँ वार्षिक साधारणसभा मार्फत भएको जानकारी दिनु भयो । हाल चेम्बरमा ८५ वटा वस्तुगत सङ्घ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ आबद्ध रहेको छ र ५२ वटा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिनु भयो ।

नेपाल सार्वजनिक बिदा दिने देशमा सबै भन्दा अगाडी देखिएको चर्चा गर्दै विदाहरु कटौती गर्नु पर्नमा झन् थपिँदै आएको बताउनु भयो । उहाँले सांस्कृतिक दृष्टिकोणले निश्चित समुदायका पर्वमा सोही समुदाय तथा क्षेत्रलाई बिदा दिने गरी अन्य कार्यालय बन्द नगर्ने व्यवस्था हुनु पर्ने बताउनु भयो । सास्कृतिक पर्वका बिदाको दिनमा समेत बैङ्क वित्तीय एवं सेवाका कार्यालयहरू खुला हुने व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नु भयो ।

निजी क्षेत्रप्रतिको सकारात्मक धारणा निर्माणका लागि अझै पनि पहल हुन नसकेकोमा चिन्तित भएको भन्दै व्यापारीलाई पहिला थुन्ने अनि सुन्ने गर्नु भन्दा पनि कालोबजारी ऐन २०३२ लाई अन्य ऐन जस्तै आजको खुला अर्थतन्त्रको परिवेश तथा आवश्यकता अनुरूप परिमार्जन एवं परिस्कृत गर्नु पर्दछ भन्नु भयो ।

सो अवसरमा लाइफ टाइम एचीभमेन्ट अवार्डबाट गशेशभक्त साख, इन्द्रभक्त मेमोरिय अवार्डबाट शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई पुरस्कृत गरियो । साथै नेपाल चेम्वर अफ कमर्सको कार्यसमितिमा रहेर निरन्तर ४० वर्ष भन्दा बढी विभिन्न पदमा रहेर कार्य गरी विशेष योगदान पुयाउनुभएका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरलाई कदरपत्र प्रदान गरियो । साथसाथै चेम्वरको अग्रसरतामा सञ्चालित प्राकृतिक प्रकोपबाट पीडित राहत कार्यमा योगदान पुयाउनुभएका नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घका अध्यक्ष तथा चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ल, प्रभु इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य, मनाग एयर प्रालिका अध्यक्ष सतिश प्रसाद प्रधान, भक्तपुर इटा तथा टायल उद्योग सङ्घका अध्यक्ष दुर्गाप्रसाद मल्ल, श्रीकृष्ण सुधा अमृत सेवा सङ्घका माता सपना श्रेष्ठ, चेम्वर कार्यसमिति सदस्यहरू सुरेन्द्रकुमार श्रेष्ठ, सुवास चन्द्र संघाई, दीपक मल्होत्रा, आरबी कम्प्लेक्स व्यापार सङ्घका महासचिव संदीपकुमार अग्रवाल, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला, खिचापोखरी न्युरोड व्यापार सङ्घका अध्यक्ष मनोज बाबु श्रेष्ठ, नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ गरी १२ जनालाई सम्मान गरियो । यसै गरी चेम्वरबाट तेस्रो मुलुकतर्फ जारी गरिएको उत्पतिको प्रमाणपत्रको आधारमा उत्कृष्ट स्थान हासिल गर्न सफल पाँच जना कार्गाे एजेन्ट तथा निकासीकर्ताहरुलाई पनि सम्मान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि पुनलाई चेम्वर अध्यक्ष राजेश काजी श्रेष्ठले उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छाज्यूले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू