अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

१९५० नेपाल-भारत बीचको सबै सन्धि–सम्झौता पुनरावलोकन र सीमा व्यवस्थापन मुद्दा टुगांईने

बिआरटीनेपाल २०७४ पुष २६ गते १८:०४ मा प्रकाशित

नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठक बिहीबार नयाँदिल्लीमा बस्दै छ । बैठकमा १९५० मा हस्ताक्षरित नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन तथा सीमा व्यवस्थापनको मुद्दा टुंग्याउने गरी नेपाल पक्षले प्रस्ताव पेस गर्दै छ ।

बैठकमा सहभागी हुन नेपालतर्फका संयोजक डा. भेषबहादुर थापा र सदस्यहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई बुधबार नयाँदिल्ली गएका छन् ।

भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी. लामा र बिसी उप्रेती बैठकमा सहभागी हुँदै छन् ।

अघिल्लो बैठकमा बिरामी भएका कारण जयन्त प्रसाद सहभागी भएनन् । निवर्तमान सांसद भए पनि सरकारले अर्को निर्णय नगरेका कारण एमाले नेता डा. भट्टराई बैठकमा सहभागी हुन गएका छन् ।

‘यसपटक हामी १९५० को नेपाल–भारत सन्धि संशोधनसहित पुनरावलोकनको विषय टुंग्याउने गरी गएका छौँ, सीमा व्यवस्थापनका विषयमा पनि ठोस सहमतिमा पुग्ने अपेक्षा छ,’ इपिजीका एक सदस्यले भने ।

गत असोज २१ र २२ मा काठमाडौंमा बसेको इपिजीको पाँचौँ बैठकमा खुला सिमाना बन्द नगर्ने, तर आवतजावत अनुगमन गर्ने सहमति भएको थियो ।

सो बैठकमा नेपाल–भारत सिमानामा जनताको आवतजावत अनुगमन गर्ने संयन्त्र बनाउनुपर्नेमा सहमति भएको थियो ।

दिल्ली जानुअघि इपिजी संयोजक डा. भेषबहादुर थापाले सबै विषयमा छलफल हुने जानकारी दिए । ‘अहिलेसम्मका बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएका छन्, सबै विषयमा खुलेर छलफल भएको छ र हामी समयमै प्रतिवेदन दिने गरी यसपटक पनि छलफललाई निरन्तरता दिनेछौँ,’ थापाले भने ।

सन्धिको धारा २, ५, ६ र ७ सच्याउनुपर्ने नेपाल पक्षको मागमा भारतीय टोली यसअघिको बैठकमा सकारात्मक रूपमा पेस भएको थियो । यसपटक इपिजी सदस्य आचार्यले सन्धिसहित नेपाल–भारत सिमाना व्यवस्थापनबारे नेपालको पछिल्लो अडान प्रस्तुत गर्नेछन् ।

सदस्य उपाध्यायले नेपाल–भारत डुबान नियन्त्रणबारे विगतमा झैँ प्रस्तुतीकरण गर्नेछन् भने सदस्य डा. भट्टाराईले व्यापार तथा पारवहनका विषयमा धारणा राख्नेछन् ।

सीमा नियमन गर्ने संयन्त्र गठन गर्नुपर्नेमा यसअघि नै दुवै पक्षको छलफलमा सहमति भएको एकजना सदस्यले बताए ।

इपिजीको छैटौँ बैठक २५ कात्तिकमा नयाँदिल्लीमा हुने सहमति भए पनि नेपाल र भारत दुवैतिर निर्वाचन भएका कारण दुई महिना ढिलो भएको हो ।

संयोजक थापाका अनुसार यससहित इपिजीका अब तीनवटा बैठक हुनेछन्, त्यसपछि दुवै टोलीले प्रतिवेदन लेख्नेछन् । दुवै पक्षले साझा प्रतिवेदन लेखेर आ–आफ्ना सरकारलाई बुझाउने कार्यादेश छ । इपिजीको कार्यकाल आगामी असार २१ गते सकिनेछ ।

इपिजीको पहिलो बैठक ०७३ असार २० र २१ मा काठमाडौंमा बसेको थियो । पहिलो बैठकको पहिलो एजेन्डा १९५० को शान्ति तथा मैत्री सन्धि थियो । पहिलो बैठक बसेदेखि इपिजीको कार्यकाल दुई वर्ष तोकिएको छ ।

०७३ असोज १८ र १९ मा दोस्रो बैठक दिल्लीमा भएको थियो । ०७३ चैत २३ र २४ गते तेस्रो बैठक काठमाडौंमा भएको थियो ।

इपिजीको चौथो बैठक ०७४ जेठ १५ देखि १७ सम्म भारतको देहरादुनमा भएको थियो । पाँचौँ बैठक ०७४ असोज २१ र २२ गते काठमाडौंमा बसेको थियो । आजको  नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू