अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

आप्रवासीलाई लिएर वाकयुद्ध

पर्खाल बनाउने बजेट दिएमात्र डाकाः ट्रम्प

बिआरटीनेपाल २०७४ पुष २२ गते १५:५८ मा प्रकाशित

ड्रिमरहरु बार्गेनिङ चिप्स होइनन्ः सिनेटर बारेन
सरकार बन्द हुने दिशातर्फ अघि बढ्दैछः डर्बिन

आप्रवासीलाई लिएर ट्रम्प प्रशासन र सिनेटर बिचको वाकयुद्ध गम्भीर मोडमा पुगेको छ । यसबाट सरकार बन्द हुनेसम्मको अनुमान हुन थालेको छ ।

सिनेटर एलिजावेथ वारेनले ‘ड्रिमर्स’ भनेर चिनिने डाका प्रोग्राम अन्तर्गत आएका आप्रवासी बार्गेनिङ चिप्स नभएको अभिव्यक्ति दिएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिवाद गर्दै उनले ट्वीटरमा उक्त अभिव्यक्ति दिएकी हुन् ।

ट्रम्पले हालै अमेरिका– मेक्सिको सीमामा पर्खाल लगाउन पर्याप्त बजेट छुट्याउन सहयोग गरेमात्र डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डाका) प्रोग्राम ल्याउन सहयोग गर्ने बताएका थिए । त्यसको प्रतिवाद गर्दै ड्रिमर्स बार्गेनिङ चिप्स नभएको उनले बताएकी हुन् ।

‘ड्रिमर्स बार्गेनिङ चिप्स होइनन्,’ वारेनले ट्वीटेकी छन्, ‘राष्ट्रपतिको चालमा उनीहरू गोटी हुन सक्दैनन् ।’ डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सिनेटरहरुको एक समूहलाई तयार पारिदिएको ट्रम्पको दस्ताबेजमा अमेरिका– मेक्सिको सीमामा पर्खाल लगाउन बजेटको व्यवस्था गर्ने, स्यांचुअरी सिटीलाई कमजारे बनाउने र नियमित आप्रवासन रोक्ने लगायतका कुरा समेटिएको छ ।

राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि बजेट पारित नभए डाका प्रोग्राम अस्वीकार गर्ने स्पष्ट पारिसकेका छन् । उनले सीमामा पर्खालका लागि १८ अर्ब अमेरिकी डलर लाग्ने बताउँदै आएका छन् ।

ट्रम्पले डाका संरक्षण गर्ने कानुन पारित गर्न कङ्ग्रेसलाई आगामी मार्च सम्मको समय दिने बताएका छन् । विधायकहरु त्यसमा दुवै पक्ष सन्तुष्ट हुने प्रावधान राख्ने प्रयत्न गरिरहेका छन् । तर, नतिजा हात लागेको छैन ।

उता दोस्रो बरियतमा भएका डेमोक्र्याट सिनेटर डिक डर्बिनले ट्रम्प प्रशासनले प्रस्ताव गरेको सुरक्षा नीतिले खडा गरेको समस्याको कुनै समाधान नभएको अभिव्यक्ति दिएका छन् । ‘राष्ट्रपति ट्रम्पले पर्खाल पर्खालका लागि सरकार बन्द गर्नुपर्ने हुनसक्छ भन्नुभएको थियो,’ उनले वक्तव्यमार्फत भनेका छन्, ‘अहिलेको माग हेर्दा उहाँ त्यही दिशामा अघि बढ्नुभएको देखिन्छ ।’

ट्रम्पले मागेको १८ अर्ब अमेरिकी डलरबाट अमेरिका– मेक्सिको सीमामा प्रारम्भिक रूपमा ७ सय २२ माइल लामो पर्खाल बनाउने ट्रम्प प्रशासनको योजना छ । त्यस अन्तर्गत ३ सय १६ माइल लामो नयाँ ब्यारियर बनाइने र ४ सय ७ माइल लामो पुरानो पर्खाल प्रतिस्थापन गरिने योजना छ । अमेरिका– मेक्सिको सीमामा २ हजार २६ माइल लामो पर्खाल चाहिन्छ । त्यसमा ८ सय ६४ माइल लामो नयाँ पर्खाल र १ हजार १ सय ६३ माइल लामो पुरानो पर्खाल र ब्यारियर प्रतिस्थापन गर्ने योजना छ ।

त्यसबाहेक सीमा सुरक्षित राख्न ड्रोन र सेन्सर लगायतका अत्याधुनिक प्रविधिका लागि ५ वर्षमा ५ अर्ब ७० करोड अमेरिकी डलर, नयाँ सडक र भवन व्यवस्था गर्न १ अर्ब २५ लाख अमेरिकी डलर र थप सुरक्षा अधिकारीका लागि ७ वर्षमा ८ अर्ब ५० करोड अमेरिकी डलर विनियोजन गर्न प्रस्ताव गर्ने ट्रम्पको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू