अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

डिसीमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न

विजय थापा २०७४ पुष २२ गते १८:३४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरूका विभिन्न विधाका कृतिलाई प्रदान गर्दै आएको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ वितरण समारोह सम्पन्न भएको छ । 

उक्त कार्यक्रमका लागि अनेसासका पूर्व पदाधिकारीहरू, अमेरिकाका विभिन्न राज्यहरूबाट आएका पदाधिकारी, साहित्यकार, अतिथि तथा विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरू को सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले कार्यक्रमको पानसमा बत्ती बाली उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा राजदूत कार्कीले मन्तव्य राख्ने क्रममा विदेशमा भाषा संस्कृतिलाई साहित्यकारहरूले योगदान गरेको कुराको प्रशंसा गर्न चाहेको बताउनु भयो l राजदूत कार्कीले नेपाल सरकार र राजदूतावासको तर्फबाट विजेताहरूलाई बधाई दिँदै कार्यक्रम सफलताको कामना गर्नु भयो l

अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालिकाहरूले नेपाली तथा अङ्ग्रेजी दुवै देशका राष्ट्रिय गीत गाएका थिए । कार्यक्रमको सभापतित्व केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले गरेका छन् भने संस्थापक अध्यक्ष होमनाथ सुबेदी, पूर्व अध्यक्षहरू, बोर्ड अफ ट्रस्टीका सभापति डा. श्याम कार्की, अनेसास बोर्ड अफ ट्रस्टिज् पुरस्कार समितिका अध्यक्ष सीता पाण्डे लगायत अन्यको उपस्थिति रहेको थियो ।

बोर्ड अफ ट्रस्टीका सभापति डा. श्याम कार्कीले सर्वोत्कृष्ट पुरस्कार अब क्षेत्रीय रूपमा गर्नु पर्ने बताउनु भयो । यसको साथै बिजेताहरुका पुस्तक कम्तीमा पनि एक हजार बेच्ने प्रयास गर्नु पर्ने कुरामा जोड दिनु भयो । डा. कार्कीले अनेसास उत्कृष्ट पुरस्कारका विजेताका पुस्तकलाई अरूको जन्म दिवस तथा अन्य कार्यक्रममा किन नदिने भन्नुभयो ।

कार्यक्रम तीन चरणमा गरिएको थियो भने उक्त कार्यक्रममा उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रूपमा घोषित भएकोले पुरस्कार सहित अमेरिकी डलर $ १,५०० नगद प्रदान गरियो ।

कार्यकममा बिजेताहरुमा मन्तव्य गर्ने क्रममा उनले पुरस्कार प्राप्त गरे पछि कृष्ण धरावासीले उनको पुस्तक ग्रेट फल्सले डायसपोरिकलाई समातेको छ भन्नु भयो । वहाँले उक्त पुस्तक जीवन र सङ्घर्षमा आधारित छ । उनले अगाडी पुस्तक बारेमा कुरा राख्दै पुस्तक कल्पना र सत्य मिसिएको बताउनु भयो ।

कृष्ण धरावासीको अङ्ग्रेजी पुस्तक राधा, बिमला निरौलाको सिडी तथा नर्बेबाट आएका वैज्ञानिक संसार एक पाठशालाको समेत बिमोचन गरियो l यसै गरी मन्तव्य तथा शुभकामना दिने क्रममा अनेसास पुरस्कार वितरण कि सभापति सीता पाण्डे, महा वाणिज्य दूत प्रेम राजा महत, युवा साहित्यकार ह्यारी एचबि भण्डारी, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, नर्वेका साहित्यकार तथा वैज्ञानिक विशाल सिटौला, अनेसासका बोर्ड अफ ट्रस्टिका रोहिणी शर्माले बोल्नु भएको थियो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले आफूले प्राप्त गरेको २ हजार डलरको रकम व्यक्तिगत रूपमा खर्च नगरी किताब प्रकाशनमा खर्च गर्ने घोषणा गर्नु भएको छ l यसै गरी अनेसासको आफ्नै एक भवन डिसीमा क्षेत्रमा खरिद गर्ने विषयमा चर्चा गरिएको र त्यसका लागि अग्रिम रूपमा केही रकम प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् l

१९ जना पुरस्कृतहुनेहरुमा अधिकाश उपस्थित भएका थिएनन् । उपस्थित हुनेहरूमा अनेसास शान्तिराम ढकाल, अन्तर्राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार शकुन ज्ञवालीको तिमी र म कविता सङ्ग्रहलाई प्रदान गरिएको छ । यसै गरी अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कारका लागि कवि सुदीपभद्र खनालको भुइँफूलको गीत कविता सङ्ग्रहलाई दिइएको छ ।

यसै गरी अनेसास गोबर्धन पूजा अन्तर्राष्ट्रिय भाषासाहित्य पुरस्कारका लागि कवयित्री कल्पना सत्यालको कविता सङ्ग्रह द विलोलाई दिएको छ ।
कार्यक्रम बोर्ड अफ ट्रस्टीका सचिव शिव लामिछानेले गर्नु भएको थियो ।

दोस्रो चरणको कार्यक्रममा अनेसास भवन निर्माणको लागि चन्दा सन्कलन गरिएको थियो । उक्त चन्दा सन्कलन कार्यक्रमको सभापतित्व डा. श्याम कार्कीले गर्नु भएको थियो ।

त्यसै गरी तेस्रो चरणको कार्यक्रममा साहित्य गोस्टी गरिएको थियो जसको सभापतित्व हरि अधिकारीले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन गोबर्धन पूजाले गर्नु भएको थियो । आफ्नो रचना वाचन गर्नेहरुमा शिव लामिछाने, सिता पाण्डे, गण्डकी पुन, बिमल निरौला, गोविन्द गिरी प्रेरणा, बिक्रन्त विष्ट, पदम विश्वकर्मा, सुदिप भद्र खनाल, प्रकाश पौडेल “माइला”,राम लामा अविनाशी, सुशील नेपाल, सकुन् ज्ञवाली, राम प्रसाद खनाल, निल कण्ठ सुबेदी, मन्जु बिमली तथा गोबर्धन पूजा हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया