अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

चौथो जगदीश घिमिरे स्मृति सभा सम्पन्न

पहिलो जगदीश घिमिरे स्मृति पुरस्कार: कथाकार मन ब्राजाकीलाई प्रदान

पेशल आचार्य २०७४ पुष १९ गते १२:३१ मा प्रकाशित

मन्थली । नेपाली आख्यान साहित्यका धरोहर तथा चर्चित साहित्यकार जगदीश घिमिरेको सम्झनामा गएको हप्ता मन्थलीमा ‘जगदीश घिमिरे प्रतिष्ठान’ को आयोजनामा विविध कार्यक्रमका बिच एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजधानीबाट आएका विभिन्न विधाका चर्चित, स्थापित र स्वनामधन्य दुई दर्जन साहित्यकारहरूको समेत सक्रिय उपस्थिति रहेको थियो ।

मन्थली नगर विकास सभा हलमा सम्पन्न सो साहित्यिक कार्यक्रममा स्थानीय स्तरमा रहेर विभिन्न साहित्यिक सङ्घसंस्थामा क्रियाशील साहित्यकारहरू कवि डा. सुमन कर्माचार्य, निबन्धकार माधव काफ्ले, सहायक प्राध्यापक तथा कवि, निबन्धकार पेशल आचार्य, कविहरू लालबहादुर तामाङ, नवीन गाउँले, उद्धव आचार्य अविचल, प्रकाश परिष्कार, सजना वाइवा सन्ध्या, सुनिता श्रेष्ठ, अनीता थापा मगर, सम्झना श्रेष्ठ, सौजन्य सत्याल, कुमार यात्री र रमेश ढुङ्गेल समेतले विभिन्न भाव र विषयमा कविता, गीत, लघुकथा, गजल र मुक्तकहरू वाचन गरेका थिए ।

राजधानीबाट आएका करिब दुई दर्जन लेखक तथा कविहरूले विभिन्न विधाका श्रुतिमधुर रचनाहरू सुनाएका थिए । सो कार्यक्रममा रचना वाचन गर्ने वरिष्ठ लेखकहरूमा कथाकार माया ठकुरी, उपन्यासकार पद्मावती सिंह, कथाकार भागीरथी श्रेष्ठ, गजलकार ज्ञानुवाकर पौडेल, डा.सन्त बस्ती, कवि, पत्रकार डा. नवराज लम्साल, जीवनपानी, मधु पाठक, प्रेम बलि ढलकपुरे, रामबहादुुर पहाडी, ठाकुर शर्मा भण्डारी, दिव्य गिरी, त्रिपुरा पौडेल, मदन कुमार कार्की, अमृता लम्साल, चन्दा विष्ट, अम्बा बिहानी रहेका थिए । सो कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ तथा भूतपूर्व महिला तथा बालबालिका मन्त्री कमला पन्तले जगदीश घिमिरेप्रति श्रद्धाभाव प्रकट गर्दै मन्तव्य राखेकी थिइन् ।

सोही कार्यक्रममा छन्द कविता र सोको वाचन कलाबारे कवि डा.नवराज लम्सालको सुमधुर कविता वाचन कलाको दृष्टांश दिँदै कवितापरक वृहत् चर्चा नेपाल प्रज्ञा प्रतिष्ठानका इतिहास विभागका प्रमुख तथा प्राज्ञ दिनेशराज पन्त र निबन्ध विभागका प्रमुख तथा प्राज्ञ डा.ज्ञानु पाण्डेले ओजपूर्ण शैलीमा गरेका थिए ।

सोही कार्यक्रममा जगदीश घिमिरेका सहोदर दाजु तथा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले ‘जगदीश आफ्नो भाइ मात्र नरहेर साथीसमेत रहेको’ स्मरण सुनाउँदै उपस्थित सम्पूर्ण साहित्यिक मनहरूमा स्वागत् मन्तव्य राखेका थिए भने अर्का पाका साहित्यिक पत्रकार रोचक घिमिरेले कार्यक्रमको बिट मार्दै सूक्ष्म मूल्याङ्कन प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा मन्थली नगर स्तरीय विद्यालयहरूका मावि स्तरका छात्रछात्राबिच ‘रामेछाप जिल्लाको साहित्यिक र सामाजिक विकासमा जगदीश घिमिरेको योगदान’ विषयका एक वक्तृत्वकला प्रतियोगिताको आयोजना समेत गरिएको थियो । सो प्रतियोगितामा मन्थली माविका सुप्रभा सुवेदी प्रथम, अरुणा कार्की द्वितीय र सीता बसले तृतीय भएका थिए । विजेता छात्राहरूलाई समारोहका विशिष्ट अतिथिद्वय दिनेशराज पन्त र डा. ज्ञानु पाण्डे एवम् प्रमुख अतिथि मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले संयुक्त रूपमा नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

यसै वर्षदेखि आरम्भ गरिएको ५१ हजार राशिको ‘प्रथम जगदीश घिमिरे स्मृति पुरस्कार –२०७४’ वरिष्ठ कथाकार मन ब्राजाकीलाई प्रदान गरियो । उक्त पुरस्कार नेपाली साहित्यमा उच्चतम् योगदान दिने एक स्रष्टालाई प्रति वर्ष दिइने निर्णय गत वर्षकै कार्यक्रममा घोषणा गरिएको थियो ।

सोही अवसरमा सभालाई सम्बोधन गर्दै मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले ‘आगामी वर्षदेखि ३ दिने साहित्यिक महोत्सवलाई नगरपालिकाले आर्थिक सहयोग गरेर ४ दिने बनाउने’ घोषणा समेत गरे । साहित्यकार पेशल आचार्यको उद्घोषणमा सम्पन्न सो स्मृति सभामा स्थानीय र केन्द्रका गरी करिब ३ दर्जन विभिन्न स्रष्टाहरूको जमघट भएको थियो ।

स्मरणीय छ, तामाकोसी सेवा समिति, तामाकोसी सहकारी अस्पताल, तामाकोसी पुस्तकालय र मन्थली बचत तथा ऋण सहकारी संस्थाजस्ता आधा दर्जन संस्थाका संस्थापक समाजसेवी तथा साहित्यकार जगदीश घिमिरेको जन्म २००२ साल चैत २८ गते तात्कालीन पूर्व २ नम्बर रामेछापको मन्थलीमा र मृत्यु ६८ वर्षको उमेरमा माइलोमा क्यान्सर रोगका कारण २०७० साल कार्तिक १४ गते भएको हो । बहुमुखी साहित्यकार जगदीश घिमिरेले लेखेका तीसको दशकका लिलाम, साविती (उपन्यास), जगदीश घिमिरेका कथाहरू, अग्निसूत्र (कवितासंग्रह), सन्तान (नाटक), अन्तर्मनको यात्रा र सकस (उपन्यास) नेपाली साहित्य जगत्मा निकै चर्चा कमाएका कृतिहरू मानिन्छन् । ‘अन्तर्मनको यात्रा’ नामक संस्मरणलाई २०६४ सालको ‘मदन पुरस्कार’ समेत प्राप्त भएपछि उनको चर्चा एकाएक नेपाली साहित्यमा चलिएको थियो ।

स्मृति सभामा बोल्ने सबैजसो वक्ताहरूले साहित्यकार जगदीश घिमिरेको साहित्यकार, पत्रकार र समाजसेवी व्यक्तित्वको खुलेर प्रशंसा गर्दै उनको असामयिक निधनले रामेछाप र देशले नै एक वरिष्ठ लेखकलाई गुमाउनु परेको भाव व्यक्त गरेका थिए । २०६० सालदेखि अहिलेसम्म रामेछापको मन्थलीमा करिब ५ सयभन्दा बढी साहित्यकारहरू यस्तै साहित्यिक महोत्सवमा आइसकेका जानकारी पनि सो सभामा दिइएको थियो ।

‘साहित्यकार जगदीश घिमिरेले प्रत्येक हिउँद्मा साहित्यिक कार्यक्रमका लागि राजधानीबाट ठुलो सङ्ख्यामा साहित्यकारहरू झिकाएर साहित्यिक महोत्सव गर्ने परम्परा नै बसालेका थिए । जसलाई आफूले अझ विविधता थप्दै निरन्तरता दिइरहने र यसैको कडीका रूपमा यसपटकको वक्तृता प्रतियोगिता समेत रहेको’ कुरा सो स्मृति सभा तथा प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी दुर्गा घिमिरेले सोही सभामा बताइन् ।

‘वर्ष वर्ष दिनमा सम्पन्न भए पनि त्यस्तो साहित्यिक माहौलको ३ दिने कार्यक्रमले आफूलाई साहित्य लेख्न प्रेरणा दिइरहने’ विचार भर्खरभर्खर गजल लेख्न थालेकी नवोदित गजलकार अनीता थापा मगरले खुसीसाथ बताइन् ।