अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

हुम्लाको सर्केघाट गाउँपालिकामा रुघाखोकीले ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७४ पुष १८ गते १८:२३ मा प्रकाशित

तीन दिनयता सर्केघाट गाउँपालिकामा रुघाखोकीले ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केघाट गाउँपालिका–७ का भ्याले कार्की, खोइया शाही, गोर्‍या जैसी र ८ नम्बर वडाका शंकरे रोकाया छन् । उनीहरू सबै ६५ वर्षमाथिका हुन् ।

स्थानीय कलबहादुर एडीका अनुसार कार्की, शाही र जैसीको आइतबार, रोकायाको मंगलबार बिहान मृत्यु भएको हो । दुई सातायता फैलिएको रुघाखोकीले यस गाउँपालिकामा सयौं थलिएका छन् । बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको एडीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार लामो समयदेखि पानी नपरेका कारण धूलो र बढदो चिसोले संक्रमण फैलिएको हो ।
गाउँमा औषधि र स्वास्थ्यकर्मी अभाव छ । दरबन्दीका स्वास्थ्यकर्मी बिदामा रहेकाले स्वाथ्यचौकीमा कोही छैनन् । स्थानीयका अनुसार रोडीकोट गाउँपालिकाको राहदेउँ गाउँको प्राथमिक स्वास्थ्य चौकीमा त सिटामोल पनि छैन । अघिल्ला वर्ष जिल्ला अस्पतालबाट औषधि खरिद गरी तल्ला निकायमा पठाउने गरिएकोमा यस वर्षदेखि स्थानीय तहबाटै खरिद गर्ने भनिए पनि समयमै बजेट विनियोजन नभएकाले औषधि अभाव भएको हो ।
राहदेउँ स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा तीन महिनादेखि उपचारमा समस्या भएको इञ्चार्ज सुपे ऐडीले बताए । उनका अनुसार बिरामीको संख्या बढदै गए पनि औषधि छैन । ‘गाउँमा बिरामी धेरै छन् तर औषधि छैन,’ उनले भने ।
सर्केघाट स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष रंगमल रोकायाले गाउँपालिकाले औषधि खरिदका लागि समयमै बजेट नदिँदा अभाव भएको बताए । मृतकमध्येका शंकर उनकै छोरा हुन् । गाउँमा औषधि किन्न सुर्खेत वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ । सरकारले नि:शुल्क औषधि दिने भने पनि प्रकोप फैलिएकै बेला औषधि अभाव भएको स्थानीय काली रोकायाले बताइन् । स्वास्थ्यचौकीमा औषधि नपाएपछि ४ घण्टा हिँडेर निजी मेडिकलबाट ३ हजार ५ सयको औषधि किनेर सेवन गरिरहेको उनले बताइन् ।
जिल्लाका अन्य गाउँपालिकामा समेत रुघाखोकी फैलिएको छ । चंखेली गाउँपालिकाको दार्मगाउँका भूपेन्द्र उपाध्यायले रुघाखोकीको संक्रमण फैलिए पनि स्वास्थ्यचौकीमा औषधि नरहेको बताए । उनका अनुसार श्वासप्रश्वासको समस्या, बान्ता हुने, टाउको दुख्ने र ज्वरो आउनेजस्ता बिरामी बढ्दै गएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू