अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

भुटानी साहित्यमा चार पुरस्कार

बिआरटीनेपाल २०७४ पुष १८ गते ११:१३ मा प्रकाशित

साहित्य परिषद् भुटानद्वारा व्यवस्थापन, परिचालन र वितरण हुने गरी नेपाली साहित्यका विभिन्न विधाका स्रष्टाहरूलाई छुट्टा छुट्टै चारवटा पुरस्कार दिइने घोषणा गरिएको छ । यी पुरस्कारहरुका लागि तोकिएको समयसीमा सन् २०१८ को जनवरी १ तारिखदेखि लागू हुने गरी आधार मानिएको छ ।

भुटानी समुदाय भित्रका विभिन्न पुस्ताका सर्जकहरुलाई लेखन, गायन तथा सङ्गीत सृजनाका क्षेत्रमा अभिप्रेरणा जगाउने उद्देश्यले यी पुरस्कारहरुको घोषणा गरिएको हो । यी सबै पुरस्कारका प्रबन्धकहरुसँग आवश्यक परामर्श र विधि निर्धारण गरी सम्पूर्ण निर्णय साहित्य परिषद् भुटानले विस्तारपूर्वक सार्वजनिक गर्नेछ ।

क. चारवटा पुरस्कारमध्ये एक नम्बरमा अस्ट्रेलिया निवासी सम्पूर्ण धमाला परिवारबाट प्रत्येक एकवर्षमा प्रदान गरिने जम्मा एक हजार एक (१००१) अष्ट्रेलियन डलर बराबरको “हिमतारा प्रतिभा सम्मान पुरस्कार”, को आवश्यक संयोजन साहित्य परिषद् भुटानका वर्तमान उपाध्यक्ष श्री प्रकाश धमालाले गर्नुहुनेछ । यो पुरस्कार प्रत्येक एकवर्षमा भुटानी समुदायबाट प्रकाशित उत्कृष्ट कविता, गजलमध्ये कुनै एक कृतिका सर्जकलाई प्रदान गरिनेछ ।

ख. दोस्रो नम्बरमा साहित्य परिषद्(भुटानकै कार्यसमिति सदस्य श्री मनोज राईको संयोजन तथा व्यवस्थापनमा प्रदान गरिने पन्ध्र सय तीन (१५०३) अमेरिकन डलर बराबरको “सुराक सङ्गीत सृजना पुरस्कार” रहेको छ । यो पुरस्कार प्रत्येक दुइवर्षमा भुटानी समुदाय भित्रबाट गीत लेखन, गायन र सङ्गीत सृजनाका सर्जकहरुमध्ये उत्कृष्ट तीनजनालाई प्रदान गरिनेछ ।

ग. यसै गरी तेस्रो नम्बरमा सम्पूर्ण लामिटारे परिवारबाट प्रदान गरिने “हिमटिका स्मृति आख्यान पुरस्कार” को आवश्यक संयोजन तथा व्यवस्थापन साहित्य परिषद् भुटानका संस्थापक तथा वर्तमान निर्देशक मण्डलीका सदस्य श्री गंगाराम लामिटारेले गर्नुहुनेछ । जम्मा एक हजार एक (१००१) अमेरिकी डलर बराबरको सो पुरस्कार प्रत्येक तीनवर्षमा एक जना उत्कृष्ट आख्यानकारलाई प्रदान गरिने छ ।

घ. यसरी नै चौथो नम्बरमा घिमिरे परिवारको संयोजन तथा व्यवस्थापनमा प्रदान गरिने पन्ध्र सय एक (१५०१) अमेरिकन डलर बराबरको “मुना स्मृति कथा पुरस्कार” रहेको छ । सो पुरस्कार प्रत्येक पाँचवर्षमा एक जना उत्कृष्ट कथाकारलाई प्रदान गरिने छ । यो पुरस्कारको आवश्यक प्रबन्ध तथा व्यवस्थापन साहित्य परिषद्(भुटानका वर्तमान कार्यकारी अध्यक्ष श्री भक्त घिमिरेले गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू