अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

नयाँ वर्षका दिन ३ लाख ८६ हजार शिशु जन्मिएको युनिसेफको अनुमान

बिआरटीनेपाल २०७४ पुष १८ गते ४:२२ मा प्रकाशित

 संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ ।  यसरी जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ । 

युनिसेफका अनुसार आधाभन्दा बढी ती शिशुको जन्म नौ वटा राष्ट्रमा भएको छ । ती राष्ट्रहरु भारत, चीन, नाइजेरिया पाकिस्तान, इन्डोनेसिया, अमेरिका, कङ्गो, इथोपिया र बङ्गलादेश रहेका छन् ।

यी शिशुमध्ये केहीको दुर्भाग्यबस जन्मेको २४ घन्टाभित्रै मृत्यु पनि हुने गर्दछ । यस्तो अवस्था पनि ती देशमा नै रहेको छ ।

सन् २०१६ को एक तथ्याङ्कअनुसार जन्मेको २४ घण्टाभित्रै दुई हजार ६०० बालबालिकाको मृत्यु भएको थियो ।

युनिसेफका अनुसार विश्वमा करिब २० लाख बालबालिकाको जन्मेको एक हप्ताभित्रै मृत्यु हुने गरेको पाइने गरेको पनि सो संस्थाले दिएको समाचारमा उल्लेख गरिएको छ ।

त्यसैगरी २६ लाख बालबालिकाले आफ्नो जन्मपछिको अर्काे महिना देख्न पाउने गरेका छैनन् । तर पनि विगत दुई दशकयता भने बालबालिकाको मृत्यु दरमा केही मात्रामा भए पनि कमि आएको देखिएको छ । (रासस)
–––

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू