अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

सन २०१७ का चर्चित १० अमेरिकन नेपालीहरु

बिआरटीनेपाल २०७४ पुष १७ गते १४:५५ मा प्रकाशित

विगत ७ वर्षदेखि अमेरिकाबाट सन्चालित नेपाली अनलाइन पत्रिका बिआरटी नेपाल डटकमले हरेक बर्षहरु झैँ यो पटक पनि अमेरिकामा रहेर विभिन्न क्षेत्रसँग आबद्ध भई उदाहरणिय काम गरेका तथा अमेरिकि सरकार या कम्पनीको उच्च ओहदामा कार्य गरेका सफल १० अमेरिकी नेपालीहरूलाई तपाँईहरु सामु प्रस्तुत गरेका छौँ । हरेक अङ्ग्रेजी वर्षको सुरुवातमा प्रकाशित हुँदै आएको यो चौंथो संस्करणका लागि बिआरटी नेपालले थुप्रै नामहरुलाई सुचीवद्ध गरेको थियो ।

आफू निकट व्यक्तिहरूलाई या निजी फाइदा, आश्वासन र स्वार्थका लागि नभई हामीले विशुद्ध पत्रकारिताको पेशागत मर्यादामा रहेर नामहरू सुचीवद्ध गरेका हौँ । यी नामहरुलाई सम्बन्धित क्षेत्रका विज्ञहरुको परामर्श सहित अन्तिम दश नाम छनौट गरिएको जानकारी गराउँदछौं। जसको मूल उद्येश्य ती व्यक्तिको सङ्घर्ष , सफलता र समर्पण अन्य व्यक्तिहरुका लागि प्रेरणादायि उदाहरण बनोस् भन्ने हो ।

वैज्ञानिक, इन्जिनियर, वकिल, प्रध्यापक लगायत थुप्रै क्षेत्रका दक्ष नेपाली हाम्रो प्रारम्भिक सुचीमा परेका थिए । तर, पेशागत रूपमा दक्षलाई मात्र सुचीको प्रथामिकतामा राखिएन । कुनै क्षेत्रमा दक्षता वा विज्ञता हुनुलाई पक्कै पनि अतिनै राम्रो ठानी यसलाई हामी सम्मान गर्छौ । तर, व्यावसायिक वा पेशागत घेरा नाघेर सही अर्थमा समाज सेवामा समर्पित अमेरिकी नेपालीहरूलाई हामीले प्रथामिकतामा राखेका छौ ।

अमेरिका सबै नेपालीको सपनाको सहर जस्तै भई रहेको वर्तमान अवस्थामा अमेरिकामा रहेर पनि व्यापार देखि स्थानीय राजनीतिसम्म नेपाली भाषी अमेरिकनहरु सक्रिय रहंदै आएका छन् । कर्मका हिसाबले अमेरिकन नागरिक बन्न पुगेपनि यहाँ बसोबास गर्ने नेपालीहरुमा नेपालप्रति आदरभाव नेपालीप्रति सहयोगी भावना सधैँ पाईदैं आएको छ ।

भौगोलिक रूपमा जो जहाँ रहेपनि हामी बिच भातृत्व भाव सधैँ मजबुत छ । कुनै नेपालीका अप्ठ्यारा र दुखमा सबै नेपालीभाषि एकजुट हुने गरेको संस्कार यसको प्रशंसनिय उदाहरण हो । समाजसंग जोडिएका व्यक्तिलाई केही गरेर देखाउन आजकल दबाब पनि उत्तिकै बढ्न थालेको छ ।

यो सुचीमा परेका नामहरू पनि हरेकले समाजमा गरेको कामका आधारमा तयार पारिएको हो । अमेरिका भरी बस्ने प्रशंसनीय कार्य गरेका नेपाली आदरणीय ब्यक्तित्वहरुको खोजी गर्नु निश्चित रूपमा सजिलो काम होइन । यो हाम्रो चौंथो प्रयास भएकाले थप चुनौती पनि हो हाम्रा लागि । यो जोखिम हामीले उठाएका छौँ । यो प्रयास हामी प्रत्येक वर्ष उठाउदै जानेछौ । यसमा विज्ञ पाठकहरुको रचनात्मक सल्लाह सुझावको पनि हामी अपेक्षा गर्दछौँ ।

१. एक राज पाण्डे
लस एन्जलसको नेपाली समाजको एउटा प्यारो नाम । लस एन्जलसका समाजसेवीहरुका आढ र भरोसाका केन्द्र । नेपालको विपत्तिका बेला होस या लस एन्जलसको हरेक सामाजिक गतिविधि र यसलाई जरुरत पर्ने आर्थिक सहयोगको कुरा होस । सबै अवस्थामा सबैको दिल दिमागले झट्ट सम्झिने नाम । सरल स्वभाव, स्वच्छ बिचार, साधा जीवनमा रम्ने एक महान् व्यक्तिको नाम हो एक राज पाण्डे ।

नुवाकोटबाट १३ वर्ष पहिला अमेरिका आएर हाल लस एन्जलसमा बसोबास गर्दै आउनु भएका पाण्डे श्री पशुपतिनाथ फाउण्डेशन् अमेरिकाका कोषाध्यक्ष हुनुहुन्छ। नेपाल च्याम्बर अफ कमर्सका अमेरिका प्रतिनिधि हुनुहुन्छ । एनआरएन लगायत कैयौँ अमेरिका स्थित सङ्घ संस्थामा आजीबन सदस्य पनि हुनुहुन्छ ।

रियल स्टेट व्यवसायी, उध्योग पति तथा थोक व्यापारी पाण्डे अमेरिका बसाइको छोटो अवधिमा धेरै सफलता हासिल गरेका व्यक्ति हुनुहुन्छ । उहाँको यो सम्पन्नताको खुसी, आफू र आफ्नो परिवार भित्र मात्र सीमित नभएर स्वदेश तथा अमेरिका बासी नेपाली समुदायहरुले पनि महसुस गर्न पाएका छन् । विशेष गरी लस एन्जलसको नेपाली समाजले । स्थानीय सङ्घ-संस्थाहरूको जुन सुकै कार्यक्रममा पनि आर्थिक सहयोगको जरुरत पर्दा उहाँको नाम सदैव अग्र पंक्तिमा आउने गर्दछ ।

नुवाकोटको देवीघाटमा बन्दै गरेको ब्रिद्धाश्रम होस या कठामान्डुको गोठाटारको मन्दिर बनाउदा होस, रबिन्द मिश्रको हेल्प नेपाल नेट्वोर्क संस्था होस या धुर्मुस सुन्तलीको फाउण्डेशन् । एनआरएन भवन बनाउंन चन्दा उठाउंदा होस या सिन्धुपाल्चोकमा हिमालय फाउण्डेशनले स्कुल बनाउंदा होस । वेद भक्त जोशी द्वारा सञ्चालित अनाथ बालबालिकालाई शिक्षाको कार्यक्रममा होस या नेपालका स-साना अनेकौँ मठ् मदिर मर्मत हुन वा सडक मर्मत तथा निर्माणमा होस । सबैमा उहाँको उल्लेखनीय सहयोग रहेको छ । नेपालमा प्रलयकारी महाभुकम्पले ल्याएको बिपत्तिमका बेला पीडितहरुलाई राहत मिलोस भनी ११ हजार १ सय ११ डलर सहयोग गर्नु भएको थियो ।

यी र यस्ता अनेकौँ स-साना सहयोगहरु नगण्य नै छन् । यी त भए अमेरिकामा बस्ने प्राय सबैले गर्न सक्ने या गरेका खालका सहयोग । तर, अमेरिका तथा नेपालमा बस्ने साधारण नेपालीहरूले पत्याउनै गाह्रो हुने एउटा ठुलो रकम दान गर्नु भएको छ उहाँले । करिब ६ वर्ष पहिला लस एन्जलस बासीहरु सबै मिलेर एउटा चर्च किनेर हिन्दु तथा बुद्ध मन्दिरमा परिणत गर्ने योजना बनेको थियो । त्यो पुण्य कार्यको लागि उहाँले १ लाख ११ हजार १ सय ११ डलर बोल्नु भएको थियो । त्यो रकममा पनि थपेर आजको दिन सम्ममा १ लाख २३ हजार ३८ डलर २१ सेण्ट चुक्ता गरी सक्नु भएको छ ।

. श्री पराजुली
सन् २००० मा पोखराको रुपा गाउपालिकाबाट अमेरिकामा आएर आफ्नो उज्जल भविष्य खोज्दै रुमलिनु भएका श्री पराजुली हाल एक सफल व्यवसायी भएर न्यू योर्कमा जम्नु भएको छ । सुरुवाती दिनहरूमा क्यालिफोर्नियाको सान्ताक्लारामा डेढ वर्ष बस्दा पनि सन्तोषजनक अवसर नपाए पछि न्युयोर्कमा बसाई सर्नु भएको थियो । अरू साधारण नेपाली सरहकै दिनचैर्या लामो समय सम्म बिताएका पराजुली अमेरिकाको होमल्याण्ड सेक्युरिटी जस्तो महत्त्वपूर्ण सरकारी निकायमा दोभासेको काम गर्दै आउनु भयो । उक्त कामको सिलसिलामा अमेरिकन वरिष्ठ वकिलहरुसंग सम्पर्क भयो । नेपालीहरूको अमेरिकाको आगमन बाक्लिदै जाँदा कानुनी परामर्शको पनि खाँचो खड्किने क्रम बढ्दै गयो । बरीष्ट अमेरिकन वकिलको संलग्नतामा मुङोवन ल फर्म एण्ड एसोसिएटको सुरुवात भयो ।

२००९ मा रिजउड नेपाली सोसाइटीको उपाध्यक्षको जिम्मेवारी लिएर सामाजिक सेवामा समर्पित भएका पराजुली २०११-१३ र २०१३ -१५ सम्म दुई कार्यकाल सम्म अध्यक्षको ओहोदामा बसी नेपाली समुदायको सेवामा जुट्नु भयो । २०१७-१९ सम्मको लागि एनआरएनको अमेरिकाको क्षेत्रीय संयोजकका लागि गरेको प्रतिस्पर्धामा जित्न असफल भए पनि त्यो भन्दा अगाडिको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गर्नु भएको थियो । त्यति मात्र होइन, न्याक एनारएनमा गाभिंदा छेवाङ्ग लामाको अध्यक्षमा बनेको एडोप कमिटीमा बोर्ड सदस्य तथा शिव राईको अध्यक्षता रहेको कार्यकालमा सल्लाहकारमा नियुक्त हुनुभएको थियो ।

रिजउड नेपाली सोसाइटीको पहलमा ४ लाख २१ हजार डलरमा देवी दुर्गा मातको मन्दिर र सामुदायिक भवन निर्माणार्थ जग्गा किनिएको थियो । गत वर्ष दिन बन्धु पोख्रेलको पुरेत्यहींमा महापुराण लगाएर दान सङ्कलन गरिएको थियो । उक्त अवसरमा दुइटा इन्जिनियर छोराका पिता श्री पराजुलीले दिल खोलेर १ लाख एक हजार डलर दान गरे पछि उहाँ स्टेजमा खाता लगाएर भाषण चुट्ने फोक्रा समाज सेवी मात्र न भएको पुष्टि भयो ।

नेपाली समाजका गतिविधिहरूमा जरुरत पर्ने आर्थिक सहयोगमा उहाँको भूमिका प्राय उल्लेखनीय नै हुने गरेको छ । त्यति मात्र कहाँ हो र ? नेपाल गएको प्रलयकारी भूकम्पले ल्याएको विपत्तिमा राहत मिलोस भनी ५००० डलर सहयोग गर्नु भएको थियो । नायिका श्वेता खड्काको अगुवाईमा निर्माण हुन लागेको माझी बस्तीका लागि ३ लाख रुपैयाँ सहयोग गर्नु भएको छ । नेपालमा एनआरएन भवन निर्माणार्थ ७००० डलर सहयोग गर्नु भएको थियो ।

मुङोवन ल फर्म र माच ग्रुप इन्कका मालिक पराजुलीको कमाई भन्दा कैयौ गुना बढी धन कमाउनेहरु न्युयोर्कमा अरू पनि धेरै नेपालीहरू होलान् तर त्यति ठुलो मन भएका मन्कारी दानीहरु अहिले सम्म अरू देखिएनन् । पहिला कसैको घरमा, पछि आफ्नो गराजमा फेरी पछि सानो एउटा भाडाको कोठामा बस्न बाध्य हाम्रा देवी-देउताहरुलाई आफ्नै मन्दिरमा सार्न पाउंदाको दिन मलाई धेरै आनन्द लाग्ने छ भन्नु हुन्छ श्री पराजुली ।

३. गौरीराज जोशी
चितवनबाट अमेरिका आएर व्यवसाय र सामाजिक काममा लामो समयदेखि क्रियाशील नाम हो गौरीराज जोशी । एनआरएनएको विश्व सम्मेलनबाट क्षेत्रीय संयोजक पदमा विजयी हुनुभएका गौरी जोशीले सन् २०१७ मा एनआरएन अमेरिकाको अध्यक्ष पदमा दिएको उमेद्वारीको विषय अदालत सम्म पुगेका कारण पनि यो वर्ष अत्यधिक चर्चामा हुनुहुन्छ । टेक्ससमा रहँदै आउनुभएका जोशीले नेपाली भाषा, शिक्षा, स्वास्थ्य,खेलकुद, सूचना प्रविधि र असाहायहरुका लागि गरेका काममा कारण पनि उहा सामाजिक सक्रियताका क्षेत्रमा सफल व्यक्ति मानीनुहुन्छ । सन् २००३ मा डालासमा पहिलो पटक नेपाली भाषाको कक्षा सञ्चालन गर्नु भएका जोशी आमा फउण्डेसनका सञ्चालक हुनुहुन्छ । नेपालमा गएको विनाशकारी भूकम्पका समय चितवनको चेपाङ समुदाय देखी अन्य व्यक्तिहरूलाई उहाँले गरेको सहयोग पनि प्रशंसायोग्य रहेको थियो ।

सन् २००५ मा नेपाली समुदायलाई लक्षित गरी सांस्कृतिक केन्द्र बनाउनु पर्छ भनेर लागि परेका जोशीले यो विषयलाई कार्यन्वयन समेत गर्नु भएको छ । साथै नेप्लिज सोसल एन्ड कल्चर सेन्टरसंग जोडिएर आउने नाम हो गौरी जोशी । डालासमा भएका १५-२० हजार नेपालीहरूलाई समेटेकोै नेप्लिज सोसल एन्ड कल्चर सेन्टरले विभिन्न किसिमका हेल्थ क्याम्पहरु, नेपाली भाषाका स्कुलहरु सञ्चालनमा ल्याएको छ ।

टेक्ससमा खुद्रा व्यापार र रेस्टुरेन्ट ‘देशीबजार स्टोर’ देखि सूचना प्रविधि कम्पनी र नेपालमा जीवन बिमा व्यवसायमा बिस्तार गर्नु भएका जोशी २०१८ मा पनि व्यवसाय विस्तारको सोचमा हुनुहुन्छ ।

४.  शबनम कोइराला–आजाद
फ्रान्सिस्को विश्वविद्यालयमा पहिलो नेपाली महिला डीन बनेर नेपालीको गरिमा उचो बनाउन सफल नाम हो शवनम कोइराला–आजाद । अमेरिकाको सान फ्रान्सिस्को विश्वविद्यालयको स्कुल अफ एजुकेशनमा नेपाली महिलाले प्राप्त गरेको यो सफलताका कारण उहा अमेरिकामा मात्र होइन नेपाल र अन्य देशमा रहेका नेपाली समुदायबिच पनि चर्चामा हुनुहुन्छ । इरानी आमा र नेपाली पिताबाट जन्मेकी शवनमलाई उनको द्वय सांस्कृतिक पारिवारिक संस्कारले पनि रचनात्मक र फरक कामका लागि प्रेरित गरेको पाइन्छ ।

स्कुले पठाई नेपालबाटै सकेकी शवनममा सानैबाट नेपालमा रचनात्मक शिक्षाको अभाव रहेको महसुस थियो । म्यासाचुसेट्सको माउन्ट होलियोक कलेजमा छात्रवृत्ति पाएपछि उहाँले यो रहरलाई त्यतिमै सीमित राखिनन् र आफ्नी ईरानी हजुरआमा आमा र पिता भारतदत्त कोइरालाको पदचाप पछ्याउँदै शैक्षिक क्षेत्रमा नै केही गर्ने प्रण गर्नु भयो । शिक्षक नै बन्छु भन्ने लागेको थिएन शवनमलाई । तर उनी भित्र भएको शिक्षा नै त्यो कदम हो जसले चेतनाको बिस्तार र समाज परिवर्तनको दिशा निर्देशन गर्न सक्छ भन्ने सोच र त्यही अनुकूलको वातावरणले उनलाई आजको अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली महिला डीन बनायो ।

अमेरिकाको महिला कलेजमा ‘लिवरल आर्ट्स’ अध्ययन गरेकी शवनमले युनिभर्सिटी अफ क्यालिफोर्निया एट बर्कलिबाट स्नातकोत्तर र विद्यावारिधी गर्नु भएको छ । शवनमले आफ्नी मामाघरकी हजुरआमाबाट पनि प्रेरणा लिनु भएकोछ । उनकी हजुरआमा ईरानकी शिक्षिका हुन् जसले बहाई धर्मप्रतिको विश्वासका कारण सामाजिक रूपमा धेरै दुख झेल्नु पर्‍यो । पढाउनु उनका लागि खतरनाक थियो उहालाई त्यो समय तर उहाँले अध्यापन पेसालाई निरन्तरता दिनु भयो । शबनम आमा पट्टीबाट चौथो पुस्ताकी शिक्षिका हुनुहुन्छ । उहाकी आमा पनि शिक्षिका हुनुहुन्थ्यो र पिता भारतदत्त कोइराला म्यागसेसे पुरस्कार प्राप्त पत्रकार र मिडिया शिक्षक हुनुहुन्थो ।

सबैका लागि एकै खालको मास एजुकेशन भन्दा निश्चित समूहका लागि निश्चित प्रकारको शिक्षा आवश्यक हुनुका साथै ठिक तरिकाले शिक्षा दिइयो भने यसले मानिसलाई सशक्त बनाउँछ र समाजमा पछि परेकाहरुलाई विशेष ध्यान दिनुपर्छ भन्ने मान्यता बोकेर अघि बढनु भएकी शवनमले नेपालमा छँदा विकासशिल देशमा वैदेशिक सहयोगको प्रभावारे बुझ्ने अवसर पाउनु भयो, अनुगमनको कमी र भ्रष्टाचारबारे उहाँले बुझ्नुभयो । जसले उनीभित्र शिक्षा र सामाजिक परिवर्तन कसरी अगाडि बढ्छन् भन्नेमा उहाँको चासो हिजो पनि थियो र यसका लागि काम गर्ने सोचमा हुनुहुन्छ ।

आफूभित्रको नेपालीपन जोगाएर निष्ठापूर्वक अगाडि बढ्न चाहने शवनमलाई धैर्य, करुणा, आतिथ्य, समझदारी र आत्मसम्मानले पनि आजको उचाइ हासिल गर्न बल प्रदान गरेको देखिन्छ ।

५. कृष्ण बहादुर बलाल
नेपाल तेक्वान्दो फेडेरेसनका वरिष्ठ सल्लाहकार तथा युनाईटेड स्टेट्स ते क्वान्दो फेडेरेसनका सल्लाहकार कृष्ण बहादुर बलाल अमेरिकामा उत्कृष्ट खेल प्रशिक्षकको छवि बनाउनु भएको व्यक्ति हुनुहुन्छ । उहाँले प्रशिक्षण दिँदै आएको अमेरिकाको एचके ली तेक्वान्दो पाठशालामाले नेपाली खेलाडीहरुलाई सफतलताको उचाइ प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेसन, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका पूर्व अध्यक्ष समेत रहनु भएका बलाल नेपाल र अमेरिका दुवै देशमा छैठौ कालो फित्ता उपाधि प्राप्त प्रशिक्षक, व्यवस्थापक, निर्णायक तथा खेलाडीको रूपमा विश्वका ३० वटा भन्दा बढी देशमा सहभागिता जनाईसक्नु भएको छ् ।

ग्राण्ड मास्टर एचके लीबाट मे २०१७ मा ६ डन प्रमाणपत्र प्राप्त गर्नु भएको बलाल जुन २०१७ मा युएसए आईटिएफ सल्लाहकारमा मनोनयन हुनु भएको छ । पान अमेरिका आइटिएफ काउन्सिलका अध्यक्ष ग्राण्ड मास्टर रोइसबाट मे २०१७ मा अवार्ड प्राप्त गर्नु भएको छ भने उहालाई जुलाई २०१७ मा एनएससीबाट बधाइपत्र पनि प्राप्त भएको छ । अक्टोबर २०१७ मा दक्षिण कोरियास्थित डब्लुटिएफ हेडवाटरबाट प्रसंशापत्र प्राप्त गर्नु भएको छ ।


६. कृष्ण शर्मा
गुल्मीको धुर्कोटमा २०२८ सालमा जन्मनु भएको कृष्ण शर्मा २००६ मा अमेरिका आउनु भएको हो । अङ्रेजिमा एम ए गर्नु भएका शर्मालाई अमेरिकी राष्ट्रपतिको कार्यालयले भाषा विज्ञको रूपमा नियुक्त गरेको छ । यो नियुक्तिसगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बन्नु भएको छ ।

अमेरिकी नेपाली समुदाय बिच एक असल तथा स्वतन्त्र छवि बनाउनु भएका शर्माले करिब डेढ़ वर्ष देखि नेपाली समुदाय माझ आफू र आफ्नी छोरी सुकृती शर्मासँग संयुक्त रूपमा सञ्चालन गर्दै आइरहेको ‘अमेरिकी सम्बाद’ नामक टेलिभिज़न कार्यक्रम समेत रोक्नु भएको ।

शर्माले नेपालमा हुँदा दि राइजिगं नेपाल अंग्रेज़ी दैनिकमा उप-सम्पादकको रूपमा सात वर्ष सम्म सेवा गरी अमेरिकामा आए पछि दि वासिङ्टन पोस्टमा करिब छ वर्ष सम्म काम गर्नु भएको । त्यसपछि उहाँले वासिङ्टन डी सी स्थित न्याय विभागमा भाषा शास्त्रीको रूपमा क़रीब पाँच वर्ष सम्म काम गर्नु भएको थियो । शर्मा नेपाल अमेरिका पत्रकार सघं (नेजा) का पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँले सन् २०१५ देखि भर्जिनियाको फेयरफ्याक्स स्टेसन स्थित दुर्गा मन्दिरमा नवदुर्गा नेपाली पाठशाला स्थापना गरी निरन्तर सचांलनमा ल्याउनु भएको छ ।

सुरुका दिनमा शर्मा र उहाकी श्रीमती सोना लामिछाने लगायत अन्य अभिभावकहरूको संयुक्त शिक्षणबाट बालबालिकाहरू लाभान्वित थिए । हाल अर्का शिक्षक हरीकृष्ण पुडासैनिसगैं शर्माले हरेक आइतबार बिहान केटाकेटीहरूलाई नेपाली भाषा, संस्कृति पढाउनुहुन्छ ।


७. लुईसाङ वईवा तमाङ

अमेरिकाको न्यु योर्क राज्यमा रहेर त्यहाँका नेपाली समुदायको पहिचानका लागि सक्रिय नाम हो लुईसाङ वईवा तमाङ । त्रिभुवन विश्व विद्यालयबाट मानवशास्त्रमा र सिटी युनिभर्सिटी अफ न्युयोर्कबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गर्नु भएका लुईसाङ वईवा डायस्पोराको इतिहासमा नै आदिवासी जनजाति तथा अन्य नेपाली समुदाय बिच सद्भाव र समन्वयकारी भूमिका निर्वाह गर्न सफल व्यक्ति हुनुहुन्छ । नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) का अध्यक्ष रहनु भएका उहाँले आफ्नो कार्यकालमा ब्राम्हण क्षेत्री समुदायसँग पनि सद्भावपूर्ण सम्बन्ध कायम गर्नु भएको छ । जुन यस अघिका कार्यकालमा भएको थिएन । फिप्ना र अन्य नेपाली समुदाय बिचको दुरीलाई हटाई कायम गरेको यो सद्भावको कारण पनि उहा अमेरिकामा लोकप्रिय हुनुहुन्छ ।

नेपाल डे परेड जस्तो सामूहिक र सर्वमान्य कार्यक्रमका सुत्रधार र पहिलो नेतृत्व गर्नु भएका वईवाले नेपाली पहिचानलाई न्युयोर्कको व्यस्त सहरमा उतारेर बिभाजित नेपाली डायस्पोरालाई यो कार्यक्रम मार्फत एकिकरण गर्न सफल मात्र भएनन् मेनह्याटनको मूल बाटोलाई ५ घण्टा सम्म १५ ब्लक ट्राफिक ठप्प पारेर नेपाल डे परेड हरेक वर्ष हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा आयोजना समेत गरेर नेपालको सांस्कृतिक छविलाई परिचित गराउने काम गर्नु भयो जुन पहिलो पटक २०१६ मा लुईसाङ वाईवा तमाङको नेतृत्वमा सफलतापुर्वक सम्पन्न भएको थियो ।

न्यु योर्क र वरपरका नेपाली सहभागी यो परेड यसकारण पनि चर्चामा रह्यो कि लगभग १० हजार नेपालीहरू एकै पटक एकै स्थानमा उपस्थित भएर नेपाली बिबिधताको प्रदर्शन गरिएको यो सायदै पहिलो कार्यक्रम थियो ।

न्युयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव आयोजना गरेर नेपालको आदिवासी सांस्कृतिक सम्पदाको मात्र नभएर नेपाली पर्यटन प्रवद्धनमा प्रवासमा रहेर महत्त्वपूर्ण नेतृत्व प्रदान गर्नु भएको उहाँले अव यो कार्यक्रम फिप्ना अन्तर्गत निरन्तर सञ्चालन गर्नमा पहल गर्नु भएको छ ।

आप्रबासीहरुको अधिकारका निम्ति नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) मार्फत नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा न्यु योर्क सहरमा लुईसाङको कार्यकालमा पहिलो पटक (फिप्ना) न्यु योर्क सहरमा कम्पट्रोलर कार्यलयबाट २०१७ सम्मानित भएको छ । नेपाली डायस्पोरामा फिप्ना पहिलो संस्था हो जसले यस तहको सम्मान न्यु योर्क सिटीबाट प्राप्त गरेको छ ।

दुई दशक देखी नेपालको आदिवासी जानजाती आन्दोलनमा सक्रिय रहनु भएको वाईवा, नेपाल जनजाति आदिवासी जनजाति विद्यार्थी महासङ्घका पूर्व अध्यक्ष र नेपाल तामाङ राष्ट्रिय घेटुंगका संस्थापक महासचिव रहँदा पनि आदिवासी जनजातिका हितमा थुप्रै महत्त्वपूर्ण काम गर्नु भएको छ । पेसाले प्यारालिगल रहेका उनले फिप्नाको आफ्नो पहिलो र दोस्रो कार्यकालमा संयुक्त राज्य अमेरिकाभरि छरिएर बसेका नेपालका आदिवासी समुदायलाई एकत्रित गरी सङ्गठित गर्न सफल हुनु भएको छ ।

२०१५ को नेपालको महाभुकम्पका बेला करिब २ करोड रुपैंया नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अन्तर्गत संस्थाबाट नेपालमा राहत पठाउनुका साथै महाभुकम्पलाई मध्यनजर गरेर अमेरिकी सरकार र नेपाल सरकारका राजदुतसंग टिपीएस अनुमोदन गराउन संस्थागत रूपमा नेतृत्वदायि भूमिका निर्वाह गरेर यो काममा सफलता हासिल गर्नु भएका वाईवाले २०१७ मा टिपियस नविकरण गराउन समुदायका तर्फबाट संस्थागत नेतृत्व गर्नु भयो जुन सफल पनि भयो ।


८. होमनाथ सुबेदी 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदी अमेरिकामा चिर परिचित नाम हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष रहनु भएका सुबेदी ताकम, म्यादीमा जन्म भई हाल अमेरिकाको भिर्जिनियामा स्थायी बसोबास गर्दै आउनु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हाल संसारका ५० भन्दा बढी देशहरूमा नेपाली भाषा र साहित्यका विविध गतिविधि सञ्चालन गर्दै आएको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय नेपाली साहित्यिक संस्था हो ।

न्याउली, नजर, त्रिमूर्ति, बिणा, रत्ना, धौराली, अंकुर, यमपुरीको महल उपन्यास संग्रहहरु प्रकाशित छन् भने प्रवासी स्वर, आप्रबसका सुसेली, सेतो गाजल, डायस्पोराका डोरा कविता सङ्ग्रह, छयासीको छवि, ग्रह ग्रस्त दिवाकर खण्डकाब्य, डायास्पोराको पेन नामक महाकाव्य प्रकाशित छन् । उहाँको यसै गरी नेपाली लोककथा, चिरिएको मुटु, डायस्पोराको मान्छे नामक कथा सङ्ग्रह र नव छायाँवादको छवि, समुन्द्रपारका समालोचना नामका दुई समालोचना समते गरी दुई दर्जन भन्दा बढी कृतिहरू प्रकाशित छन् । यसका अतिरिक्त गङ्गाका गजल, सखी वियोग, मुर्दुलका गजल, गौतमका गजल, आप्रवासीका पत्र, सानो नेपाल डायस्पोरा लगायत विभिन्न कृति सम्पादन गर्नु भएको छ भने अनेसासको इतिहासमा प्रधान सम्पादक रही योगदान गर्नु भएको छ ।

अंकुर उपन्यासका लागि पश्चिमान्चल क्षेत्रीय पुरस्कार, सूर्य नारायण पुरस्कार, डायस्पोरा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार, International Society of Poets, अनेसास राम लामा सर्बोत्कृष्ट पुरस्कार आदिबाट पुरस्कृत हुनु भएका सुबेदी अस्वीकृत विचार साहित्य, देवकोटा जन्म शताब्दी, अनेसास रजतजयन्ती आदिबाट सम्मानित हुनु भएको छ । आप्रबसमा नेपाली साहित्यका विकासका लागि पुर्याएको योगदानका लागि आप्रबसका नेपाली साहित्यका अग्रजको उपाधि प्राप्त गर्नु भएको छ ।


९. राजेन थापा

अमेरिकामा नेपाल र नेपालीले गर्व गर्न मिल्ने अर्को नाम हो राजेन थापा । सुनसरीको इटहरीबाट १४ वर्ष पहिला अमेरिका आएर सान फ्रान्सिस्को बसोबास गर्दै आउनु भएका थापाले लाइन्स क्लब इन्टरनेसनलको डिस्ट्रिक ४-सी ३ गभर्नर जस्तो गरिमामय पद हासिल गर्नु भएको छ । आफू-आफुनै पदको लागि लुछाचुडि गर्ने नेपाली सङ्घ-संस्थाहरू भन्दा छुट्टै बाटोमा उहाँ क्रियाशील हुनुहुन्छ । लाएन्स क्लब इन्टरनेसनलको इतिहांसमा अमेरिकामा नेपालीले यति महत्त्वपूर्ण पद प्राप्त गरेको यो पहिलो रेकर्ड हो । यस अर्थमा उहाँ हामी सबै नेपालीहरूका बधाईका पात्र हुनुहुन्छ ।

हुन त, कुनै पदमा कुनै नेपाली पदासिन हुनुले मात्र नेपाल र नेपालीले राहत पाउछन् भन्ने चाँहीं होइन । तर उहाँ आसन ग्रहण, खाता ग्रहण र फोक्रा भाषण मात्र गर्नमा सीमित रहनु भएन । हुन त, लायन्स क्लब आफ्नै मूल्य मान्यता र जिम्मेवारीलाई कार्यान्वयन् गरेको गहकिलो इतिहास बोकेको अन्तर्राष्ट्रिय संस्था हो । त्यो परीधिमा टेकेर विशेष गरी नेपाली समुदायलाई लक्षित गरी नयाँ कार्य योजनाहरू बनाउने गर्नु भएको छ ।

अमेरिकाको सरकारी तह सम्मको आफ्नो संस्थाको बिद्यामान पहुँचको उपयोग गर्दै नेपाली समुदायलाई फलदायी हुने कार्यमा केद्रित हुनुहुन्छ । उहाँ कै पहलमा सान फ्रान्सिस्कोमा वार्षिक रूपमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दै आउनु भएको छ । जसले स्वास्थ्य बिमा नभएकाहरुले प्रत्यक्ष रूपमा लावान्वित हुने मौका मिलेको छ । उहाकै पहलमा लाइन्स क्लबको मुख्य कार्यालयले सन्नीभेलमा नेपाली भाषाको क्लास सञ्चालन हुँदै छ । नेपाल र नेपालीहरूको बारेमा सुचनामुलक डकुमेण्ट्री बन्दैछ भने बेला बखत त्यस्ता सिनेमाहरु प्रदर्शनी पनि गरिने भएको छ ।

नेपालीहरूलाई अमेरिकाको मुलधारको राजनीतिमा प्रवेश गराउने पहल स्वरूप युवाहरूलाई प्रशिक्षण दिने व्यवस्था मिलाउने उहाँको योजना छ ।अमेरिकामा चालक अनुमति पत्र लिदा अङ्ग्रेजी भाषामा अलि कमजोर नेपालीहरूलाई सहज होस् भनी डिएमभिमा नेपालीमा जाँच दिन पाउने र पुस्तक पनि नेपालीमै पढ्न पाउने पहल गर्नु भएको छ उहाँले । सम्बन्धित फाटमा कुरा भइसकेको र यस क्यालिफोर्निया क्षेत्रमा उल्लेख्य नेपालीहरूको बसोबास भएको प्रमाण दिनका लागि नेपालीहरूको हस्ताक्षर सङ्कलन कार्य सुरु गर्नु भएको छ ।

यही नोवेम्बर २ मा नेपाल गएर विभिन्न ठाउँमा करिब एक महिना निःशुल्क स्वास्थ्य सिबिरहरु गर्नु भएको थियो । तिलगंगा अस्पातललाई आँखाको लेजर जाँच गर्ने मेसिन निःशुल्क दिनको लागि नेपालको सरकारी तहमा भन्सार छुटको अनुरोध गर्नु भएको छ । पनौतिको सांघामा नेपालका अन्धाहरुलाई अरूको साहारा बिना बाँच्न सक्ने खुबीवाल बनाउने तालिम दिनका लागि ३ रोपनी जग्गामा आफ्नै भवन निर्माण गर्न सिल्यान्यास गर्नु भएको छ ।

हरेक वर्ष लाइन्स कलब इण्टरनेसनलले गर्ने लसएन्जलसको रोज परेडको उहाँहरूको झांकीमा नेपाल झल्किने ब्यानर तथा चित्रहरु राख्ने पहल गर्ने सोचमा हुनुहुन्छ ।


१०. प्रकाश सिटौला 

नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुंगको विकट गाउँ निघुरादिनमा ३७ वर्ष अघि स्थानीय व्यवसायी टीका प्रसाद सिटौलाका जेठा सन्तानका रूपमा जन्मनु भएका प्रकाश सिटौला अमेरिकामा छोटो समयमा नै आफूलाई स्थापित गर्नु भएका व्यवसायी हुनुहुन्छ । दर्जन बढी व्यवसायका धनी प्रकाश सिटौला डेनभरका सफल नेपाली व्यवसायी हुनुहुन्छ । ८ वटा ग्यास स्टेसन, ३ वटा लिक्वेर स्टोर र २ वटा रेष्टुरेण्टका सञ्चालक सिटौला सन् २००४ को फेब्रुअरीमा ‘डाइभरसिटी भिसा अन्तर्गतको ‘डिभी चिठ्ठा’ परेर डेनभर आउनु भएको थियो । केही सय डलर मात्र लिएर नेपालबाट अमेरिका आइपुग्नु भएको सिटौलाले १३ वर्षको अवधिमै अमेरिकामा १३ व्यवसाय सञ्चालन गर्नु सफलताको उदाहरण हो ।

अमेरिका आएर रोयल इण्डिया रेष्टुरेण्टबाट काम सुरु गर्नु भएको प्रकाशले ती दिनलाई सम्झदा भन्नुहुन्छ मैले सुरुको ३ वर्ष त सायदै सूर्यको प्रकाश देख्न पाउनु भएको थियो । हप्तामा सातै दिन बिहान देखि रातीसम्म घोटिएर काम गर्ने उहा सो रेस्टुरेण्टको वेटर भए पनि किचेन देखि ग्राहक सेवासम्मका सबैखाले काम गर्नु हुन्थ्यो साथै सँगै काम गर्ने सहकर्मी र रेष्टुरेण्ट मालिक बाहेक कसैसँग सम्पर्क नै गर्न नपाएको अनुभव छ उहासँग । एक प्रकारको गुप्तबास शैलीको जीवन बिताउनु भएका प्रकाशलाई त्यो मेहनतले ३ वर्षमै सोही रेस्टुरेण्टको म्यानेजर बनायो ।

अहिले तीनवटा ग्यास स्टेसन सहितका कन्भिनियन्ट स्टोर उहाँको आफ्नै प्रपर्टीमा सञ्चालित छन् । दुई मध्ये एक रेष्टुरेण्ट पनि आफ्नै प्रपर्टीमा सञ्चालित छ । डेनभरमा निकै प्रचलित नेपाली रेष्टुरेण्टमा उहाँको रेष्टुरेण्टको नाम अग्रपङ्क्ति मै आउँछ । यस अतिरिक्त समग्र कोलोराडो मै अब्बल व्यवसाय गर्नेमा पर्दछ उहाका तीन लिक्वेर स्टोरहरु ।

हाल लाखौँ डलरको कारोबार गर्ने सिटौला ब्रदर्श अन्तर्गत सबै व्यवसायहरुको सञ्चालन उहा आफैँ र श्रीमती कविता मिलेर गरिरहनु भएको छ । एकाध व्यवसाय केही मेहनती नेपाली युवाहरूलाई व्यवस्थापनको जिम्मेवारी दिएर व्यवस्थापन साझेदारीमा पनि चलाउनु भएको रैछ । प्राय सबै नेपालीहरूलाई नै काम दिएका उहाँको सबै व्यवसायमा गरेर ५० भन्दा बढी नेपालीहरूले रोजगारी पाएका छन् । आफू एक्लैले यति धेरै नेपालीहरूलाई काम दिन सक्नु उहाँको प्रशंसनिय सफलता हो ।

उहाँको व्यवसायमा कामगर्ने सबैसँग सहकर्मीको व्यवहार गर्न रूचाउनु हुने प्रकाशकोमा युवाहरूले काम गर्दै कलेज पढ्न पनि पढ्न भ्याउन्नु भएको रैछ । सँगै कामगर्ने नेपाली विद्यार्थीहरूलाई पढ्न उत्प्रेरित गर्ने मात्र होइन परिआएको बेला आर्थिक सहयोग र बैंकिंग कागजातहरू बनाइदिएर पनि सहयोग गर्नुहुन्छ उहा ।

व्यावसायिक सफलता पाएका नेपालीहरूले सकेसम्म आफ्नो व्यवसायमा नेपालीहरूलाई रोजगारीमा प्राथमिकता दिन सके त्यसले नेपाल र नेपालीलाई नै मद्दत मिल्छ भन्ने सोच राख्नु हुने प्रकाश आफ्नो रेस्टुरेन्टमा मालिकको शैलीमा कहिल्यै प्रस्तुत नभई ग्राहको सेवामा आफैँ खटिरहने बानी उहाँको तारिफ योग्य स्वभाव हो । आफैँ रेष्टुरेण्टको किचेनको काममा समेट खटिने र वेटरका रूपमा समेत ग्राहकलाई सेवा गर्ने उहालाई यति ठुलो व्यवसायी हो भनेर चिन्दा कति नयाँ मान्छेलाई अचम्मित पार्ने गरेका घटना अनुभव थुप्रै छन् उहासँग । आफ्नो काम बाहेक खुल्ला र रसिक अमेरिकी जीवनशैलीसंग खासै मतलब नराख्ने उहा भित्र यति ठुलो व्यवसायी हुनुको न त घमण्ड छ नत परिचय खुलाउनु कै मोह ।

नेपालमा गएको महाभुकम्पका बेला होस् या यो वर्ष तराई/मधेसमा आएको बाढी, नेपालमा परेको विपत्तिका बेला दिल खोलेर सहयोग गर्नु भएको उहा आफूले सहयोग गर्ने मात्र होइन, डेनभरको नेपाली समुदायलाई नै सहयोगको लागि परिचालित गर्न समेत उहा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू