अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७४ पुष १७ गते ११:१८ मा प्रकाशित

आदरणीय कविताप्रेमी महानुभावहरू !
साहित्यिक अभिवादन ।

विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता—२०१७ को मूल्याङ्कनका लागि हामी पाँचजनाले विशेष जिम्मेवारी पाएका थियौँ । मेरो संयोजकत्वमा कवि दुर्गा रिजाल (अमेरिका) र कवि नारायण गाउँले (बेलायत) गरी तीनजनाको निर्णायक समिति र कविद्वय पुरानाघरे (अमेरिका) र ज्ञानु विद्रोही (नेपाल) गरी दुईजनाको कार्यकारी निर्णायक समितिबाट पटक पटक भिडियो श्रवण र शब्द पठन गरी पटक पटक अनलाइन बैठक बसी तयार भएको सर्वसम्मत निर्णयको घोषणा गर्ने जिम्मेवारी मैले पाएको छु ।

यस प्रतियोगितामा विश्वभरिबाट १०२ वटा छन्दकविताहरूको सहभागिता रहेको थियो । त्यसमा कार्यकारी निर्णायकद्वयले प्रथम चरणमा छन्द मिल्दै नमिलेका २७ वटा कविताहरूलाई प्रतियोगिताबाट हटाएर हामीलाई ७५ वटा कविताको भिडियो उपलब्ध गराउनुभएको थियो । नेपाली छन्दकविताको इतिहासमा यो सामान्य उपस्थिति होइन । त्यसमा पनि कवितालाई प्रविधिमुखी बनाएर प्रस्तुत गर्ने र भिडियो हेरेर कविताको मूल्याङ्कन गर्ने काम आजभन्दा अगाडि कहीँकतै भएजस्तो लाग्दैन । त्यस कारण पनि यस प्रतियोगिताको ऐतिहासिक मूल्य छ भन्ने हामीलाई लागेको छ ।

यस प्रतियोगितामा नेपाल, भारत, भुटान, अमेरिका, बेलायत, जापान, यूएई, बर्मा, इजरायल, क्यानडा, दक्षिण कोरिया गरी ११ वटा देशमा रहेका नेपाली छन्दकविहरूको सहभागिता रहेको थियो । दुई छिमेकी देशका बिचमा हुने प्रतियोगितालाई त अन्तर्राष्ट्रिय भन्नुपर्ने हुन्छ भने दूरीका हिसाबले पनि नेपालदेखि सात समुद्रपारिसम्मका ११ वटा देशमा रहेका नेपाली छन्दकविहरूको सहभागिता निकै प्रशंसनीय कार्य हो । यो प्रतियोगिता साँच्चै विश्वव्यापी बनेकामा हामी गौरवान्वित छौँ ।

यस प्रतियोगितामा १३ वटा छन्दहरूको सहभागिता रहेको थियो । त्यसमा शार्दूलविक्रीडित छन्दका ५० वटा कविताहरू सहभागी थिए भने पञ्चचामर छन्दका ७, भुजङ्गप्रयात, अनुष्टुप् र मन्दाक्रान्ता छन्दका ३—३, शिखरिणी छन्दका २ र स्रग्विणी, उपजाति, तोटक, वसन्ततिलका, स्रग्धरा र चर्चरी छन्दका १—१ कविताहरू रहेका थिए । एउटा कवितामा भने विविध छन्दको प्रयोग गरिएको थियो ।

यस प्रतियोगितामा हजुरबादेखि नातिसम्मका तीन पुस्ताको सहभागिता रहेको थियो । शेषराज आचार्य, रोहिणीविलास लुइटेल, होम सुवेदी, हरि न्यौपाने, विष्णुकुमार भट्टराई, हरि बस्ती, दामोदर नालाङी, शालिग्राम अर्याल, विरही अधिकारी, डिल्ली नेपालजस्ता अग्रज पुस्ताका कविहरूको सहभागिताले नयाँ पुस्ताका सर्जकहरूमा हौसला बढाएको छ । यसले सिर्जनामा उमेरको विभेदलाई अन्त्य गर्ने कार्यको समेत थालनी गरेको हुनाले म सर्वप्रथम उल्लिखित सम्पूर्ण अग्रज स्रष्टाहरूलाई नमन गर्दै हार्दिक आभार व्यक्त गर्दछु ।

प्रस्तुत भिडियो प्रतियोगिताका लागि निर्णायक समितिले कविता मापन र मूल्याङ्कनका स्पष्ट आधारहरू तयार पारेको थियो । जसमा विषयवस्तुलाई २०, शीर्षक सार्थकतालाई १०, भाव÷विचार÷कवित्व÷सूक्तीकरणलाई ३०, भाषिक शिल्पलाई १०, छन्दविधानलाई २० र प्रस्तुतीकरणलाई १० अङ्क प्रदान गरी एकजनाले जम्मा १०० पूर्णाङ्कमा मूल्याङ्कन गर्ने गरी अङ्कव्यवस्थापन गरिएको थियो । नेपाल, अमेरिका र बेलायतबाट छुट्टाछुट्टै गरिएकोे मूल्याङ्कन पत्रमा दिइएका अङ्कहरूको कार्यकारी निर्णायकहरूबाट योगफल निकालेपछि तिनै अङ्कका आधारमा अन्तिम निर्णय सार्वजनिक गर्न लागिएको हो । हाम्रो निर्णय प्रक्रिया पूर्वनिर्धारित मापदण्डअनुकूल र पारदर्शी छ भन्ने प्रमाणस्वरूप पूर्वघोषित उत्कृष्ट २० जना कविहरूको समग्र योगफलसहितको निर्णय तालिका कार्यकारी निर्णायकज्यूहरूले यो मूल्याङ्कनको घोषणापछि तत्काल सार्वजनिक गर्नुहुने छ ।

आज सन् २०१८ को पहिलो दिन । हामीले आज नेपाली छन्दकविताको इतिहासमा एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेका छौँ । यति मात्र नभएर हामी सन् २०१७÷०१८ तथा वि.सं. २०७४÷०७५ लाई नेपाली छन्दकविताको इतिहासमा एउटा कोसेढुङ्गो साबित गर्ने महान् लक्ष्य र सङ्कल्पका साथ आएका छौँ । त्यसको पहिलो पाइलोस्वरूप हामीले ‘विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता—२०१७’ सम्पन्न गरिसकेका छौँ । निकट भविष्यमा यसको पुरस्कार वितरणका लागि भव्य समारोहको आयोजना नेपालको काठमाडौँमा गर्ने छौँ । यसका साथै हामी ‘प्रतिनिधि नेपाली छन्दकविता’ (भाग–१) बृहत् ग्रन्थ प्रकाशनको तयारीमा जुटिसकेका छौँ । त्यस ऐतिहासिक कृतिमा नेपाली साहित्यमा लेखिएको पहिलो छन्दकवितादेखि भानुभक्त आचार्य हुँदै आजको पुस्तासम्मका र नेपालभित्रका मात्र नभएर विश्वभरि जहाँ जहाँ नेपाली छन्दकविहरू छन् तिनका छन्द मिलेका र सूक्तिपूर्ण सम्पूर्ण कविताहरू समावेश गर्ने छौँ । यस बृहत् ग्रन्थलाई नेपाली कविताको इतिहासमा एउटा आधिकारिक, मानक र समावेशी छन्दकविता सङ्ग्रह बनाउने हाम्रो लक्ष्य रहेको छ । यसका लागि आवश्यक शक्ति र सीमासहितको सूचना हामी तत्काल प्रकाशन गर्ने छौँ । उक्त बृहत् ग्रन्थ आगामी भानुजयन्तीका दिन विश्वका सातवटा देशमा एकसाथ विमोचन गर्ने लक्ष्य राखिएको छ । यस कार्यका लागि यहाँहरूका स्तरीय सिर्जनाका साथै रचनात्मक सहयोग र सुझावको अपेक्षासमेत हामीले राखेका छौँ ।

प्रस्तुत विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिताको मूल्याङ्कन गर्ने क्रममा हामीले अब लेखिने छन्दकविता विषय र शिल्प दुवै दृष्टिले परम्पराभन्दा केही परिष्कृत र निर्दोष हुनुपर्छ भन्ने मान्यतालाई पहिलो प्राथमिकतामा राख्यौँ । छन्दकवितामा युग बोल्न सक्दैन, छन्दकविताहरू सामाजिक विषयभन्दा टाढा रहेर परम्परित स्तुति, प्रशस्ति र भजनमा केन्द्रित हुन्छन् र छन्दकविताले भाषिक नियमलाई तोडफोड गरेका छन् भन्ने आरोपहरूबाट छन्दकवितालाई मुक्त गराउन एक ठाउँमा पनि छन्दभङ्ग भएका र ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व गराइएका अथवा खुट्टा काटेर छन्द मिलाइएका प्रतियोगी कविताहरूलाई हामीले प्राथमिकताबाट बाहिर राख्यौँ । यसरी हेर्दा कुनै कविताको प्रस्तुति अत्यन्त राम्रो छ तर कतै कतै छन्दभङ्ग छ । कुनैमा छन्दविधान अत्यन्त राम्रो छ तर भाव तरल छ । कुनैमा भाव सशक्त छ तर प्रस्तुति कमजोर छ । यी सबै कुराहरूलाई केन्द्रमा राखेर मूल्याङ्कन गर्दा र तीनैजना निर्णायकहरूको योगफल र कार्यकारी निर्णायकहरूसँगको लामो बहसपछि निर्विवाद र सर्वसम्मत रूपमा निम्नलिखित कविताहरू यस प्रतियोगिताबाट पुरस्कृत भएका छन्—

प्रथम: मेनुका चापागाईं मोरङ, नेपाल यही स्वर्ग मेरो २५४.५
द्वितीय: सविना रेग्मी जापान फर्कन्छु आफ्नै घर २५३.५
तृतीय: गोविन्दगोपाल खतिवडा तनहुँ, नेपाल नफर्कने साथीसित २५१
सान्त्वना:  रोहित पराई मोरङ, नेपाल युवालाई आह्वान २५०.५
               भवानी खतिवडा उदयपुर, नेपाल राष्ट्रवन्दना २५०.५

अन्त्यमा, यस्तो गम्भीर, महत्त्वपूर्ण र ऐतिहासिक जिम्मेवारी हामीलाई प्रदान गर्नुहुने छन्द–अलङ्कार परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै र प्रथम नेपाली छन्दकविता भिडियो प्रतियोगितामा सहभागी हुनुहुने विश्वभरिका सम्पूर्ण छन्दकविहरूलाई हार्दिक बधाई तथा अझै परिष्कृत, अझै युगीन र अझै मानक छन्दकविता सिर्जनाका लागि सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

डा. देवी नेपाल
संयोजक
विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता, निर्णायक समितिका तर्फबाट

काठमाडौँ, नेपाल
जनवरी १, २०१८ पौष १७, २०७४

प्रतिक्रिया