अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 13:41

भोलीबाट देशव्यापी ‘विषादी सप्ताह’ मनाईंदै

(रासस) २०७४ पुष १६ गते ४:५४ मा प्रकाशित

 ‘घातक विषादी मुक्त संसार, स्वास्थ्य जीवन र पर्यावरणको आधार’भन्ने नाराका साथ देशभर विषादी सप्ताह आयोजना गरिने भएको छ । बाली संरक्षण निर्देशनालय, निर्देशक समिति र मातहतका जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा सो सप्ताह आयोजना हुन लागेको हो । 

पुस १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न जिल्लामा फरकफरक कार्यक्रम गरिने निर्देशक अच्युतप्रसाद ढकालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

त्यसैगरी राजधानीमा प्रभातफेरि, प्रवचन, रेडियो तथा टेलिभिजनबाट विषादी नियन्त्रण विषयक कार्यक्रम, नेपाल टेलिकमबाट एसएमएस प्रशारण, विभिन्न नाकाबाट राजधानी आयात भइरहेका तरकारीको नमूना परीक्षण, सडक नाटक, अन्तरक्रिया गोष्ठी, सार्वजनिकस्थल तथा सम्बन्धित निकायमा पर्चा, पम्पलेट, स्टिकर तथा पोष्टर वितरण गरी मनाइने भएको छ ।

विषादीले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या उब्जाएको छ । मौरीको संख्यामा कमी, जलचर एवं सरीसृप (माछा, गोही, गडेउला, सर्प भ्यागुता) लगायतका जीवको विनासलाई रोकी वातावरण जोगाउन मद्दत पु¥याउने उद्देश्यले विषादी सप्ताह गर्न लागिएको हो ।

संयुक्त राष्ट्रसंघले खतरनाक विषादी मानव स्वास्थ्य र वातावरणको लागि चुनौती रहेको उल्लेख गरेको छ । उसले भनेको छ– विकासोन्मुख देशमा मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी विषादीको प्रयोग बढेकाले सो देशमा सबैभन्दा धेरै महिला तथा बालबालिक पीडित बनेको जनाएको छ ।

हाल प्रयोगमा आएका ९५ प्रतिशतभन्दा बढी विषादी लक्षित समस्या समाधान गर्नेभन्दा मानव, वन्यजन्तु, पानीका स्रोत, माटो तथा हावामा समाविष्ट भइरहेको छ ।

संसारमा हरेक वर्ष चार करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा स्वास्थ्यमा असर गरेको अनुमान छ । विश्वमा विषादीकै कारणबाट वार्षिक तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

नेपालले विषादी आयातको लागि गत वर्ष रु ६४ करोड र यस वर्ष रु ६९ करोड खर्च गरेको छ भने नेपालमा अधिकांश विषादी भारत र चीनबाट आयात हुन्छ ।

सरकारले दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधार तथा कृषिको विविधिकरण, व्यवसायीकरण र औद्योगिकीकरणका नाममा विभिन्न योजना ल्याए पनि विषादीको प्रयोगमा भने कमी देखिँदैन ।

सन् १९५२ मा मलेरिया नियन्त्रण गर्न झिकाइको बोट बिरुवामा प्रयोग हुने विषादीसमेत सोही वर्षबाट आयात भएको बताइन्छ । नेपालमा करिब एक हजार ४०० प्रकारभन्दा माथि विषादी पञ्जीकृत गरिए पनि १६ थरी क्रमशः क्लोरडेन, डिडिटि, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायलपाराथायन, मेनोक्रोटोफस र इण्डोसल्फान र फोरेटलाई भने निषेध गरिएको छ ।

नेपालमा ५७४ टन खास विष आयात भएको तथ्यांकमा उल्लेख छ, जसमा कीटनाशक १८१ टन, रोगनाशक २४८ टन, झारनासक १३४ टन र अन्य ११ टन छ ।

सम्बन्धित सामग्रीहरू