अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

सार्वजनिक भएको १ दिन नबित्दै चलचित्र ‘सत्रुगते’को ‘रूपै मोहनी’ गीत ट्रेण्डीङ नम्बर २ मा

के भन्छन् चलचित्रका कलाकार ?

बिआरटीनेपाल २०७४ पुष १५ गते ६:१२ मा प्रकाशित

आउदो नयाँ बर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीत ’रूपै मोहनी’ लाई दर्शकले रुचाएका छन् । अपलोड गरिएको २४ घण्टा नपुग्दै यो ट्रेण्डीङ नम्बर २ मा पर्न सफल भएको हो । फिल्म ‘शत्रु गते’ को पहिलो प्रचारप्रसार सामग्री अन्तर्गत गीत सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका छन् । ट्रेण्डीङ नम्बर २ मा रहेको गीतलाई २४ घण्टामा ८ लाख १८ हजार ५ सय ३१ पटक हेरिसकेका छन् ।

यस अघि फिल्म ’छक्का पन्जा २’ मा रहेको ’नाइलनको साडी’ मा लाई २४ घण्टामा ८ लाख १६ हजार पटक हेरिएको थियो । कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि फिल्मको हाइप बढ्दो छ । यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा , दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् ।

नेपाली फिल्म नगरीमा हरिवंश , दीपक र पललाई तिन पुस्ताको रुपमा पनि हेर्ने गरिन्छ । मित्र देव गुरुङको सम्पादनमा तयार गीतलाई दर्शककै अनुरुप बनाउने कोशिश गरिएको निर्माण पक्षको भनाइ छ । डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । तराई र काठमाण्डौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो ।

हरिबंश आचार्य – गीत हेरेर मन पराउनु हुने तथा हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रतिक्रिया दिने तपाई सम्पूर्णलाई धन्यवाद । हामीले यहाँ समक्ष शत्रुगते फिल्मको पहिलो कोसेली समर्पण गरेका थियौ ,जसलाई मन पराई दिनु भयो । गीतमा दीपा , दीपक , पल , आंचल लगायतसंग देखिदा रमाइलो नै फिल भयो ।

प्रदीप भट्टराई , निर्देशक – हामीले जुन मेहनतले काम गरेका थियौ , त्यो सफल भए जस्तो लाग्छ । जाडोको प्रवाह नगर्दै गीतमा देखिनु भएका सबैले मेहनत गर्नु भएको थियो , त्यो सफल भएको छ । हामीले शत्रु गतेको पहिलो कोसेली ल्याएका थियौ , जसलाई दर्शकले रुचाउनु भयो । धन्यवाद सम्पूर्णलाई ।

दीपक राज गिरि – निकै मेहनत साथ् तयार पारेका थियौ । मेहनत गरिएको चिज सफल हुदा निकै खुशी लाग्छ । यो गीत मलाइ दीपा जी ले सुनाउनु भएको थियो । पहिलो पटक मै मैले गीत मन पराएको थिए र छक्का पञ्जा ३ मा राख्ने सोच बनाएको थिए । तर हरि दाईले गीत मन पराउनु भएपछी यो पनि हाम्रै फिल्म भएकोले गीत यता आएको हो । गीतमा सबैले मेहनत गरेका थियौ , सफल भयो । सम्पूर्णलाई धन्यवाद ।

दीपाश्री निरौला – हरि दाई संग गीतमा देखिन पाउदा नै म सफल भैसकेकी छु , त्यस माथि दर्शकको मायाले मलाइ सधै काम गर्ने उर्जा दिन्छ । गीतलाई राम्रो बनाउन जाडोको प्रवाह नगर्दै गरिएको मेहनतलाई रुचाएर जसरि माया गर्नु भएको छ , सम्पूर्ण प्रति आभारी छौ ।

कविराज गहतराज , नृत्य निर्देशक – काम गर्दा निकै रमाइलो भयो । युवा पुस्ता देखि मैले पनि बाल्यकाल देखि देख्दै आएको आदरणीय कलाकारसंग काम गर्न पाए , यसैले पनि निकै खुशी छु । हरि दाई , दीपा दिदि , दीपक दाइ , प्रियंका , पल , आँचल लगायत सबैले राम्रो काम गरेका छन् । जाडोमा पनि गीत राम्रो बनाउन कहिँ कतै सम्झौता गरिएको छैन ।

पल शाह –गीत निकै रमाइलो तरिकाले तयार पारेका छौ । गीतमा हामी सबैले सन्ध्या (आँचल शर्मा) लाई फकाउने कोशिश गरिरहेका छौ । उसैको रुपको बर्णन गरेका छौ । साथै मैले महको ब्यनारमा काम गर्न पाए र स्क्रिन शेयर गर्न पाए निकै खुसि छु । एउटा इतिहास बोकेको मान्छेसंग काम गर्न पाउदा आफुलाई भाग्यमानी ठान्छु , साथै मैले एउटा सम्झन लायक फिल्म पनि बनेको छ ’शत्रु गते’ ।

आँचल शर्मा –मैले आफुले आइडल मान्ने अग्रजसंग स्क्रिन शेयर गर्न पाउदा निकै खुशी लागेको छ । गीतमा मेरो नृत्य अलि कम नै छ तर पनि तिन पुस्ता मध्य एक पुस्ताको प्रतिनिधित्व गर्न पाउदा निकै खुसि लागेको छ । गीतमा म पलजी (पल शाह) को जोडी बनेकी छु । लजाउने सव्भावलाई गीतमा देख्न सक्नु हुनेछ ।

 

 

प्रतिक्रिया