अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

इपीएल टी–ट्वान्टी: भैरहवालाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा

बिआरटीनेपाल २०७४ पुष १२ गते २:१० मा प्रकाशित

विराटनगर वारियर्स राजधानीमा जारी टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।इपीएल अन्र्तगत बुधबार भएको क्वालिफायरमा बाबर हायतले अर्को अर्धशतकीय इनिङ्स खेलपछि भैरहवा ग्लाडियटर्सलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

 

पराजित भएपनि भैरहवाले आजै हुने इलिमेटरको विजेतासँग अर्काे इलिमेटर खेल्ने मौका पाउनेछ । इलिमेटरमा आज ललितपुर प्याट्रियट्स र पोखरा राइनोजबीच खेल हुदैछ । दोस्रो इलिमेटर खेल बिहिबार हुनेछ ।

भैरहवाले दिएको १ सय २८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । विराटनगरको जितमा बाबर हायतले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

पहिलो विकेटको रुपमा आसिफ शेखलाई शुन्य रनमा गुमाएको विराटनगरको इनिङ्स हङकङका बाबर हायत र अंशुमन रथले ७४ रनको साझेदारी गर्दै सम्हाले । उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिएका हायातले ४४ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेका थिए । कप्तान पारस खड्का ४१ रनमा तथा अंशुमन रथ २६ रनमा नटआउट रहे । भैरहवाका हरिशंकर शाह र पुनित मेहराले समान १ विकेट लिए । पारसले ४ छक्का प्रहार गर्दै विरानगरको जित सहज बनाएका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल तयार पारेको थियो ।
भैरहवाका लागि मध्यक्रमका ब्याट्सम्यान पुनित मेहरा ४९ रनमा आयट भए । आरिफ शेखले ४६ रन बनाए । आरिफ र पुनितले पाँचौ विकेटका लागि ८२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । ३५ बल खेलेका आरिफले १ चौका र ३ छक्का प्रहार गरे । ३४ बल खेलेका पुनितले ३ चौका र ३ छक्का प्रहार गरे ।

खराव शुरुवात गरेको भैरहवाले शुरुवाती २७ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो । भुपेन्द्र थापा २, रोहित कुमार पौडेल ६ रनमा आउट आउट भए । कप्तान शरद भेषवाकार ८ रनमा आउट भए । ओभरसिज खेलाडी राहुल यादव ७ रनमा आउट भए । प्रथम सालुङ्के ३ रनमा आउट भए ।

विराटनगरका शाहन आदेशा आपुहामी र करन केसीले समान २ विकेट लिए । कप्तान पारस खड्का, बसन्त रेग्मी र अविनास कर्णले विकेट लिए ।

विराटनगर समूहको शीर्षस्थानमा तथा भैरहवा दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भएको थियो ।

६२ रन बनाएका बाबर हायत खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू