अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

न्यु योर्कमा सुम्निमा साँझ सम्पन्न

सुम्निमा साँझ अब राईहरुको मात्र होइन

बिआरटी नेपाल सम्बादाता, न्यू योर्क । २०७४ पुष १० गते २२:०२ मा प्रकाशित

आफ्नो जातीय संस्कार र संस्कृति प्रबद्र्धन गर्ने उदेश्यले किरात राई सोसाइटी अफ अमेरिकाले हरेक वर्ष आयोजना गर्दै आएको सुम्निमा साँझ सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

न्यू योर्कको एस्टोरियामा आइतबार साँझ आयोजित उक्त कार्यक्रममा विभिन्न समुदायकका ५ सयभन्दा बढी मानिस सहभागी भएका थिए । क्रिसमस इभका कारण नेपाली समुदायको कार्यक्रम जुधे पनि अपेक्षा गरेभन्दा बढी मानिस सहभागी भएको कार्यक्रम संयोजक सुमन नाछिरिङले बताए । ‘सुम्निमा साँझ नियमित ९ वर्षदेखि आयोजना गरिरहेका छौँ,’ उनले भने, ‘यो कार्यक्रममा सबै समुदायका मानिसहरू आउनुहुन्छ । सुम्निमा साँझ अब राईहरुको मात्र होइन, अमेरिका बस्ने सबै नेपालीहरूको हो ।’नोवौं पटक आयोजना गरिएकाले कार्यक्रमलाई सुम्निमा साँझ–९ नाम दिइएको थियो । कार्यक्रममा गायक नरेन्द्र प्यासीले ‘तिमी बिनाको जीवन’ र तिलकबम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ लगायतका चर्चित गीत गाएका थिए । त्यस्तै चर्चित नृत्यङ्गना पार्वती राईले नाचेर माहौल तताएकी थिइन् ।

सुम्निमा साँझको मुख्य आकर्षण भने साकेला नृत्य थियो । राई भेष भूषामा सजिएका करिब एक दर्जन युवा युवतीले ढोल र झ्याम्टासहित करिब १० मिनेट साकेला नाचेका थिए । कार्यक्रममा सुमन बुढा मगर बसन्ती राई, यशोधा खालिङ राई, दिलीप मगर, राजेन्द्र राई (डिजे राजा), आदित्य लामा लगायतका कलाकारले प्रस्तुति गरेका थिए । कार्यक्रम बिहान २ बजेसम्म चलेको थियो ।

प्रतिक्रिया