अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

३२ बर्ष पुरानो गीति नाटक मालती-मंगलेका नायक ‘मंगले’ को १० पाईला यात्रा कोलोराडोमा

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ पुष ९ गते ४:०२ मा प्रकाशित

राष्ट्रकवि माधब प्रसाद घिमिरेद्वारा तत्कालिन नेपाली समाजकोे कमारा कमारी प्रथामाथी लिखित गीती नाटक – मालती -मंगलेका मुल पात्र मंगले अर्थात हरी बहादुर थापा अमेरिकाको कोलोराडोमा सम्मानित भएका छन् । दशौं पाईला नाम दिएर ३२ बर्ष पुरानो गीती नाटक मालती मंगले सहितका अन्य पुराना नाटकमा आफ्नो भुमिका र ति नाटकका पृष्ठभुमी समेतको संक्षिप्त दृश्य झलक लिएर कोलोराडो पुगेका रंगकर्मी थापालाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले सम्मान गरेको हो ।

२००९ सालमा जन्मेका रंगकर्मी थापालाई नाट्य धरोहरका रुपमा पनि हेरिन्छ । स्कुले जीवनबाट नै नाटक खेलेका थापाले आफ्नो जीवनका पुराना र महत्वपुर्ण दश नाटकलाई दशौं पाईला नाम दिईएका नाटकमध्य गीति नाटक सकुन्तलामा रहेको राजा दुस्यान्त, नाटक फर्केर हेर्दाको नायक हर्के, नाटक अमरसिंहमा भिमसेन थापा, देउकी नाटकमा देउकीका पिता, नाटक पृथ्वी नारायण शाहमा राजा पृथ्वी नारायण शाहको भुमिका, गीतिनाटक मालती मंगलेका नायक मंगलेको भुमिका लगायतका उनका १० महत्वपुर्ण नाटक र ति भित्रको उनको अभिनय समेटिएको छ ।

दशौं पाईला भित्रका नाटकको पृष्ठभुमी, त्यो समयमा यि नाटकले पारेको प्रभाव र नाटक संग जोडिएका गायक संगीतकारका बारेमा समेत जानकारी समेटिएको थापाको दशौं पाईलामा रहेको गीती नाटक मालती मंगलेलाई उनले आफ्नो जीवनको अत्यन्त महत्वपुर्ण नाटकका रुपमा हेरेका छन् । तत्कालिन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा ६ महिना सम्म निरन्तर मञ्चन भएको मालती मंगलेलाई नाट्य ईतिहासको गर्वका रुपमा लिईन्छ जसमा रहेका सम्पुर्ण गीतहरुमा स्व संगीतकार अम्मर गुरुङले संगीत भरेका थिए भने स्वर सम्राट नारायण गोपालले आवाज दिएका थिए । राष्ट्रकवि माधव प्रसाद घिमिरेको यो नाटक गोरखा जिल्लाको घर्ती समुदायका गरिवहरु माथी तत्कालिन समयका धनि र उचो बर्गले गरेको पशुतुल्य ब्यबहार माथीको कथा हो ।

थापा संगै साहित्यकार  तथा पत्रकार  महेन्द्र चालिसे पनि सम्मनित भएका छन् । थापालाई अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा थापासंगै नाटक गरेका रंगकर्मी मुरारी ढुंगेल र उपाध्यक्ष मिना पौडेलबाट सम्मान गरिएको थियो भने चालिसेलाई अनेसासा केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माको हातबाट सम्मान गरिएको हो ।

१२ बर्ष पहिले पनि गीति नाटक मालती मंगले कोलोराडोमा प्रदर्शन गरिएको थियो । थापाले १२ बर्ष अघिको आफ्नो कोलोराडो यात्रालाई स्मरण गर्दै सम्पुर्ण कोलोराडोबासी नेपालीमा आभार ब्यक्त गरेका थिए । साथै थापाले नाटक जोडियोस् भत्किएका मनहरु भित्रबाट आफ्नो भुमिकाको सानो अंश कार्यक्रमै अभिनय गरेर देखाएका थिए ।

बरिष्ठ रंगकर्मी थापाको नाटक यात्रादेखी उनि आवद्ध रहेर नाटक क्षेत्रमा पुर्याएका योगदानबारे साहित्यकार ज्ञानेन्द गदालले प्रकाश पारेका थिए भने मुरारी ढुंगेलले अनेसासका तर्फबाट यस कार्यक्रमलाइ सहयोग पुर्याउने  रक्की माउण्टेन फ्रेण्डस अफ नेपालका अध्यक्ष विनोद त्रिपाठी, सुदर्शन अधिकारी, पदम बिश्वकर्मा लगायका सबैप्रति धन्यवाद र आभार ब्यक्त गरका थिए ।

सम्मान समारोहमा कलाकार निर्मल प्याकुरेल, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, रक्की माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष साबु गदाल, , ब्लड डोनर्स अफ अमेरिकाका कोलोराडो च्याप्टरका अध्यक्ष टिका पौडेल, एनआरएन कोलोराडो च्याप्टरका निर्वतमान अध्यक्ष बासुदेव खनाल, उपाध्यक्ष कुमारजंग कार्कि, आयोजक संस्थाका निर्वतमान अध्यक्ष भुपेन्द्र महत, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, लगायतका संघ संस्थाका प्रतिनिधी तथा पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो । संस्थाका उपाध्यक्ष मीना पौडेलले कार्यक्रमा उपस्थित सबैलाई स्वागत गरेकी थिईन्, भने सदस्य यशोदा भट्टले कार्यक्रम संचालन गरेकी थिईन् ।

फोटो: भुपेन्द्र महत, शैलेश पोखरेल

प्रतिक्रिया