अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

भारतमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

नयाँदिल्ली, (रासस/एएफपी) २०७४ पुष ८ गते ७:५७ मा प्रकाशित

भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या ३२ पुगेको छ । राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाउँमा बनास नदीमा खसेर बस शनिवार दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर तीन मिटर माथीबाट नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । बसमा ५० जना यात्रु रहेका थिए । उनीमध्ये केही अझै हराइरहेका छन् भने केहीको शव नदीबाट बाहिर निकालिएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था बढी चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको कारणका बारेमा अहिलेसम्म स्पष्ट भइनसकेपनि अर्को सवारी साधनलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि १६० किलोमिटर टाढा पर्दछ । भारत विश्वको तुलनामा नै धेरै सडक दुर्घटना हुने देशको रूपमा पर्दछ । सडक दुर्घटना कै कारण भारतमा हरेक वर्ष झन्डै एक लाख ५० हजार जनाको मृत्यु हुनेगरेको सरकारी तथ्याङ्कले देखाएको छ । सडकको नाजुक अवस्था, राम्रोसँग मर्मत नगरिएका सवारी सधान, चालकको लापर्वाही र ट्राफिक नियमको उलङ्घनलगायतका कारणले धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् । फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू