अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०३ | Colorodo: 22:18

एमाले र माओवादी केन्द्र मिलेर नयाँ शक्तिशाली पार्टी बन्छ –  प्रदीप  ज्ञवाली

बिआरटीनेपाल २०७४ पुष ८ गते ३:२२ मा प्रकाशित

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताउनुभएको छ ।  आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उहाँले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्दै भन्दै चाँडै नै एकता हुने दाबी गर्नुभयो ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको मात्र पार्टी एकता गर्नेे विषय नभएर आम जनताको विषय रहेको प्रष्ट पार्नुभयो ।

उहाँले पार्टी एकता हुँदा दुवै पार्टीको भूमिका, योगदान र प्रतिष्ठानलाई ख्याल गरेर गरिने बताउनुभयो ।

“एमाले माओवादी र माओवादी एमालेमा विलय हुने होइन”– उहाँले थप्नुभयो, “पार्टी एकता हुँदा ओली र दाहालले दुवैले नेतृत्व गर्नुहुन्छ ।” पार्टी एकता सजिलै हुने दाबी गर्दै उहाँले नेताको व्यवस्थापनभन्दा पनि देशको व्यवस्थापन गर्न चुनौती रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीको अभिव्यक्ति सत्ता लम्ब्याउने खालका भएको भन्दै जनमतको कदर गर्नका लागि सरकारले तुरुन्तै सत्ता छाड्नुपर्ने औँल्याउनुभयो ।

उहाँले नेपाली काँग्रेसले राष्ट्रियसभामा आफ्नो उपस्थिति नहुने देखेर असंवैधानिक तरिकाले एकल संक्रमणकालीन व्यवस्था ल्याउन खोजेको आरोप लगाउनुभयो ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू