अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 20:35

ओली र मोदीद्वारा आआफ्ना मुलुकमा भ्रमणको निम्तो

भक्तपुर, (रासस) २०७४ पुष ६ गते ९:५६ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा आज बधाई दिँदै भारत भ्रमणको निम्तो दिनुभएको छ ।

अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठुलो सफलता प्राप्त गरेकामा खुसी व्यक्त गर्दै बधाई दिनुभएको हो । भारतीय प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष नेपालमा तीन वटै निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गर्नुभएको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभएको जनाइएको छ ।

भारतीय प्रधानमन्त्रीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताउनुभएको थियो ।

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । “यसका लागि छिमेकीसँग सुसम्बन्ध कायम गरिनेछ ”, नेता ओलीले भन्नुभयो ।

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद ओलीले खास गरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । सरकार गठनलगत्तै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र पठाइने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले गुजरातलगायत प्रान्तमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि भारतीय जनता पार्टीका नेता मोदीलाई पनि बधाई दिनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू