अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

लस एन्जलसको नेपाली मन्दिर तथा सामुदायिक भवन दुई महिना भित्र संचालनमा आउने

गोकुल ढकाल - लस एन्जलस । २०७४ पुष ६ गते ३:२३ मा प्रकाशित

बहुप्रतिक्षित लस एन्जलसको नेपाली मन्दिर तथा आफ्नै स्वामित्वको सामुदायिक भवन अन्तत: निर्माण कार्य सम्पन्न गरी संचालनमा आउने भएको छ । स्थानिय नर्वाक नगरले भवन संचालनका लागि इजाजत प्रदान गरेपछी पूर्णरुपमा निर्माण सम्पन्न भएको श्रीपशुपतिनाथ फाउन्डेशनको मन्दिर तथा सामुदायिक भवन संचालनमा आउने भएको हो ।

फाउन्डेशनका सचिव तथा पर्यटनदुत रामेश्वर भन्डारीले जारी गर्नुभएको बक्तब्यकानुसार ‘ अब धार्मिक कार्यक्रम, सामुदायिक कृयाकलाप र भगवान पशुपतिनाथ लगायत हिन्दू देवी-देवताका पूजा अर्चनाका र बुद्ध दर्शनका लागि अन्ततोगोत्वा लस एन्जलसका नेपालीहरुको स्वामित्वमा रहेको यो मन्दिरको ढोकाहरु सर्वसाधारणहरुका लागि खुल्ला हुनेछन ।

’ ‘साउदर्न क्यालिफोर्निया क्षेत्रको नेपाली समुदायको दिन रातको सेवा, सबैका सपना र प्रवासमा नेपाली संस्कार र संस्कृतिको बिकास या उत्थानका लागि चालिएका कदमहरुले सार्थकता पाएका छन ।’ सचिव भन्डारीले बक्तब्यमा जनाउनुभएको छ । सचिव भन्डारीले जनाएनुसार अब मन्दिरमा एक ‘बिशेष प्राण-प्रतिश्ठा’ कार्यक्रम हुनेछ । परम्परागत रुपमा कुनै मन्दिर नव-निर्माण पश्चात राखिएका मुर्तीहरुको सम्मान र आस्थाका लागि प्राण-प्रतिश्ठा गरिने चलन छ । दुई महिना अबधी भित्र सम्पन्न हुने उक्त कार्यक्रम पश्चात औपचारिक रुपमा प्रथम पटक हिन्दू तथा बौद्ध धर्मालम्बीहरुले आस्थाको केन्द्र भगवान पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दैनिक पूजा-अर्चना गर्न पाउनेछन ।

सचिव भन्डारीकानुसार फाउन्डेशनको अबिलम्ब बस्ने बैठकले सम्पूर्ण कार्यबिधी र योजनाहरुको यथाशाक्य निर्णय गर्नेछ । स्मरणीय छ, सात बर्ष पहिले ग्रेटर लस एन्जलस क्षेत्रमा आयोजित महापुराणको अवसरमा सैंयौं भक्तालुहरुले मन्दिर निर्माणका लागि सहयोग कबुल गरेका थिए । प्रवासी नेपाली सामुदायिक ईतिहासमा नेपालीहरु आफ्नै अन्तरात्माले एकजुट भएको यो नै पहिलो अवसर थियो । लस एन्जलसमा सम्पन्न महापुराण र यसले निर्माण गर्न लागेका सामुदायिक भवन र हिन्दु-बुद्ध मन्दिरको अभियान पछी बिशेषत अमेरिकाका अन्य शहरमा यसको सिको गरेको पाईन्छ । भलै त्यो सिकोले सफलता हासिल गरेका नगरेका आ-आफ्नै कथाहरु छन ।

लस एन्जलसमा स्थापना यो मन्दिर निर्माण सम्पन्नका खातिर एक पैसा देखी एक लाख पच्चिस हजार डलर सम्म सहयोग गर्नुहुने सम्पूर्ण भक्तजनहरुको त्यत्तिकै महत्वपूर्ण भुमिका छ, यसका लागि फाउन्डेशन हर तरहले सहयोग गर्नुहुने तमाम सहयोगीहरुप्रती नतमस्तक छ, भन्डारीले बक्तब्यमा उल्लेख गरेका छन – ‘प्रवासमा नेपाली सांस्कृतिक परम्पराको विस्तारको लागि कोशेढुंगा सावित हुने हाम्रो मन्दिरमा भक्तजनहरुको स्वागत गर्न हामी आतुर छौं ।’ ‘अबको हाम्रो कर्तब्य मन्दिर सुचारु गर्नु हो, हामी त्यही दिनको प्रतिक्षामा थियौं, जुन आज लस एन्जलसमा साकार भएको छ’, भन्डारीले बताएका छन, ‘यो महाअभियानमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग प्रदान गराउनुहुने महान दानवीरहरु, सामुदायिक संस्थाका प्रमुख तथा पदाधिकारीहरु, पत्रकारहरु, स्वयंसेवकहरु तथा बिभिन्न पेशा तथा ब्यवसायमा संलग्न महानुभावहरुलाई श्रीपशुपतिनाथ फाउन्डेशन हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ ।’

 

सचिव भन्डारीद्दारा जारी बक्तब्य :

 

प्रतिक्रिया