अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

ढोक्प्या समुदायको सदस्यता विवादका कारण ‘फिप्ना’ अधिवेशन स्थगित

लोकमणि राई-न्यू योर्क २०७४ पुष ३ गते २२:५२ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को छैटौं अधिवेशन स्थगन भएको छ ।  ढोक्प्या किदुकको सदस्यता विवादले उग्र रुप लिएपछि फिप्ना अधिवेशन स्थगित भएको हो । अधिवेशनका लागि नियुक्त निर्वाचन आयोगका प्रमुख आयुक्त भरत लामाले आइतबार राति करिब ११ बजे निर्वाचन स्थगित भएको घोषणा गरे । ‘अर्को मिति तय नभएसम्मका लागि निर्वाचन स्थगन भएको घोषण गर्छु,’ उनले भने ।

कसरि आयो सदस्यता विवाद ?

अमेरिकामा कम्तिमा १६ जातीय संस्था वैधानिक रुपमा दर्ता भएका छन् । त्यसमध्ये १२ जातीय संस्थामात्र फिप्नाको सदस्य छन् । ढोक्प्या किदुक महासंघको सदस्य छैन । अधिवेशन स्थलमा ढोक्प्या किदुकले आफ्नो सदस्यता दर्ता गरेर मात्र अधिवेशन अघि बढाउन माग गरेपछि विवाद चर्किएको थियो ।

प्रमुख आयुक्त भरत लामाले फिप्ना विधानमा भएको ब्यबस्था अनुसार ढोक्या किदुकले सदस्यता आवेदन नदिएको र अधिवेशनस्थलबाट नयाँ सदस्यता प्रदान गर्न नमिल्ने भनेपछि विवादले उग्र रुप लिएको थियो । ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटमा रहेको शेर्पा किदुकको हलमा भइरहेको अधिवेशनमा ढोक्प्या किदुकका सदस्यहरुले होहल्ला गरेका थिए । उनीहरुलाई मगर संघ अमेरिकाका सदस्यहरुले साथ दिएका थिए । त्यसपछि अधिवेशनमा आएका प्रतिनीधि र पर्यवेक्षक फर्किन सुरु गरेका थिए ।

प्रमुख आयुक्त लामाले ढोक्प्या किदुक सदस्य भएको र महाधिवेशनमा भाग लिने सदस्य संस्थाको प्रतिनीधि र पर्यवेक्षकको नाम प्रकाशित गर्दा पनि ढोक्प्या किदुकले दाबी विरोध नगरेको बताए । ‘अधिवेशनमा एक्कासी सदस्यता चाहियो भनेर माग गरेपछि विवाद खडा भयो,’ उनले भने, ‘निर्वाचन गर्न सक्ने परिस्थिति बनेन र स्थगित गर्यौं ।’

ढोक्प्या किदुकले युक्रालाई अधिवेशनस्थलमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) लाई सदस्यता नवीकरण गरिदिएको भन्दै आपूmले पनि सदस्यता पाउनुपर्ने दाबी गरेको थियो । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) र युक्रा गरि किरात राई समुदायको २ वटा संस्था छ । विधान अनुसार गत नोभेम्बर ३० अघि युक्राले सदस्यता नवीकरण गर्नुपथ्र्यो । फिप्ना अध्यक्ष लुइसाङ तामाङले युक्राले ४ वर्षदेखि सदस्यता नवीकरण नगरेको बताएका थिए । उनले फिप्ना विधानमा २ वर्षसम्म जरिवाना तिरेर सदस्यता नवीकरण गर्न पाउने प्रवाधान भएको बताएका थिए । ‘४ वर्षसम्म सदस्यता नवीकरण नगर्दा त्यस्ता सदस्य संस्थाको वैधानिकता के हुने भन्ने सम्बन्धमा फिप्नाको विधान बोलेको छैन,’ उनले भने, ‘त्यस विषयमा अध्ययन गर्न हामीले समिति गठन ग¥र्यौं, तर समितिले नोभेम्बर ३० सम्म प्रतिवेन नै बुझाएन । त्यसले गर्दा युक्राको सदस्यता नवीकरण गर्न विधान अनुसार मिलेन ।’

विवाद चर्किन थालेपछि केआरएसएका बोर्ड चेयर प्रमोद थुलुङले युक्राको सदस्यता नवीकरण गर्न प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अधिवेशनमा उपस्थित प्रतिनीधि सर्वसम्मतिले पारित भएको थियो ।

त्यहि घटनालाई आधार बनाउँदै ढोक्प्या किदुकले आफूले सदस्यता पाउनुपर्ने दाबी गरेको थियो । त्यसपछि निर्वाचन आयोगले ढोक्प्या किदुकलाई युक्राले जस्तो फिप्नाको विधान अनुसार नोभेम्बर ३० अघि सदस्यताका लागि आवेदन गरेको प्रमाण पेश गर्न भनेको थियो । प्रमाण पेश गर्न नसकेपछि प्रमुख आयुक्त लामाले ढोक्प्या किदुकलाई अधिवेशन प्रयोजनका लागि सदस्यता दिन अस्वीकार गरेका थिए । त्यसपछि ढोक्प्या किदुकका सदस्यहरुले होहल्ला सुरु गरेका थिए । सदस्यताका विषयलाई लिएर सबैभन्दा पहिला युक्रा न्यू योर्क च्याप्टरका अध्यक्ष केशवराम राई चर्को स्वरमा कराएका थिए । ढोक्प्यालाई होहल्ला गर्न मगर संघका सदस्यहरु सुमन पुन र नरेन्द्र थापा लगायतले साथ दिएका थिए । केहीले माइक नै तानेर भाषणबाजी समेत गरेका थिए । मगर संघले आफ्नो महासचिव मानबहादुर राना मगरलाई फिप्नाको अध्यक्षको रुपमा अघि सारेको छ ।

होहल्लाका कारण अधिवेशन भाँडिएपछि फिप्नाका केही सदस्य संस्थाका प्रतिनीधिहरु फिप्नाबाट बाहिरिने भन्दै हिँडेका थिए । ‘फिप्नामा यस्ता अल्लारे लठैत प्रवृतिका युवाहरु हावी हुन्छन् र विधि विधानले काम गर्दैन भने यहाँ हाम्रो काम छैन,’ होहल्लापछि अधिवेशनस्थल छाड्ने एक संस्थाका प्रतिनीधिले भने ।

अधिवेशन स्थगन भएपछि हलमा बाँकी रहेका प्रतिनीधि र पर्यवेक्षकले फिप्नाको वर्तमान कार्यसमिति भंग भइसकेको र निर्वाचन आयोग र फिप्ना कार्यसमिति अयोग्य भएको भन्दै फिप्ना सभामुख विनोद पोमोलाई अधिवेशनको सम्पूर्ण जिम्मेवारी दिएको निर्णय गरेका छन् । पोमोले ती प्रतिनीधि र पर्यवेक्षकलाई धन्यवाद दिँदै फेसबुकमा स्टाटस राखेका छन् (हे. फोटो) ।

उता लुइसाङ तामाङले फिप्ना अध्यक्षकै हैसियतमा बन्द सत्रमा प्रतिनीधिबीचको मतान्तरका कारण अधिवेशन स्थगन भएको जनाउँदै विज्ञप्ति जारी गरेका छन् । ‘सदस्यतासम्बन्धी विवादलाई विवादलाई समाधान गरेर यसै कार्य समितिको नेतृत्वमा छैटौं महाधिवेशन शीघ्र घोषणा गरिने,’ विज्ञप्तिमा उल्लेख छ, ‘फिप्नाका सभामुख तथा अन्य जिम्मेवार नेतृत्व तहबाट संस्थाको गरिमामा आँच आउने किसिमको कहिँ कतैबाट आउनुहुन्न भन्ने मान्यतालाई सबैले बुझ्नु जरुरी छ ।’

यता ढोक्प्या किदुकका अध्यक्ष ल्हाक्पा ढोक्प्याले फिप्नाले आफ्नो संस्थालाई सम्मान गरेको, फिप्नासँग ढोक्प्या किदुकले काम गरेको, आफ्नो कार्यक्रममा फिप्नाका प्रतिनीधि अतिथी बनेर आएको तर, सदस्यता दिन भने कञ्जुस्याइँ गरेको बताए ।
फिप्ना नेपाल डे परेड संयोजन र आदिवासी जनजाति फिल्म फेस्टिवल लगायतका ठूला कार्यक्रम गरेको स्थापित संस्था हो ।

प्रतिक्रिया