अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकियो

हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न

काठमाडौँ, (रासस) २०७४ पुष १ गते १४:२४ मा प्रकाशित

गत मङ्सिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरीे समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी रहेको जनाएको हो । सुनसरीको क्षेत्र नं १ तथा सर्लाहीको क्षेत्र नं २, ३ र ४ मा मतगणना कार्य जारी रहेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले) ३१ लाख ६१ हजार २९५ मत ल्याएर पहिलो स्थानमा छ । नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३ मतसहित दोस्रो र नेकपा (माओवादी केन्द्र) १२ लाख ९५ हजार ९०३ मत ल्याएर तेस्रो स्थानमा छ ।

त्यसै गरी, राष्ट्रिय जनता पार्टीले चार लाख ७० हजार ४८६, सङ्घीय समाजवादी फोरम नेपालले चार लाख ६९ हजार ४६१ र विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार २८०, नयाँ शक्ति पार्टी नेपाल ८१ हजार ४४६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १२३ मत प्राप्त गरेका छन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरूले ३ लाख ५४ हजार ४०५ मत पाएका आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू