अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

वैदेशिक रोजगारीमा पीडित कामदारको द्रुत सुनुवाइ आवश्यक

बिआरटीनेपाल २०७४ मंसिर २९ गते ११:५९ मा प्रकाशित

वैदेशिक रोजगारीका क्रममा पीडित कामदारको राहत तथा उद्धारमा द्रुत सुनुवाइ आवश्यक रहेकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार पीडितको सुनुवाइ कार्यक्रम’ का वक्ताले पीडित कामदारले समयमै न्याय नपाउँदा पीडामाथि पीडा थपिने गरेको बताए ।

पीडित कामदारले वैदेशिक रोजगार विभागमा आएर उजुरी दिने गरे पनि समयमै त्यसको टुंगो नलाग्दा उनीहरूको न्यायमा पहुँच घट्दै गएको सहभागीले बताए । अधिकांश पीडित राजधानी बाहिरका हुने गरेको र उजुरी दिएपछि त्यसको सुनुवाइका लागि निरन्तर राजधानीमा रहेको विभागको कार्यालयमा आइरहन असम्भव भएकाले पीडकले उन्मुक्ति पाउने गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले विद्यमान कानुन नै कार्यान्वयन गर्न सके वैदेशिक रोजगारका ८० प्रतिशत समस्या समाधान हुनेछ भन्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयन नगरिएकाले वैदेशिक रोजगारीमा विकराल समस्या आइरहेको बताउनुभयो ।

उहाँले पीडितले उजुरी दिएको निश्चित समयसीमाभित्र त्यसको छिनोफानो गर्नुपर्ने गरी समयसीमा तोक्न आवश्यक रहेको बताउँदै वैदेशिक रोजगारीका ठगीको विषय सरकारीवादी फौजदारी कसुर भएकाले विभागले मिलापत्र गर्न नहुने सुझाव दिनुभयो ।

वैदेशिक रोजगार न्यायाधीकरणका सदस्य कृष्ण घिमिरेले पीडित एक ठाउँको पीडक अर्को ठाउँको हँुदा पीडितले न्यायका समय दिन नसक्ने गरेको अनुभव सुनाउनुभयो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले विदेशमा कुनै नेपालीलाई समस्या परे बोर्डले निःशुल्क कानुनी सेवा प्रदान गर्ने तथा आवश्यकतानुसार उनीहरूको उद्धारका लागि हवाई टिकटको समेत व्यवस्था गरिदिने गरेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले विभागमा आएका कामदारका उजुरी सुनुवाइ गरी न्याय दिन आफूहरू दृढ रहेको बताउँदै प्रक्रियागत झण्झटका कारण केही उजुरीमा कारबाही ढिलाइ हुने गरेको स्वीकार गर्नुभयो ।

कार्यक्रममा पीडित कामदारले आफूहरूले भनेअनुसारको काम र तलब नपाएको तथा तोकिएभन्दा बढी शुल्क वैदेशिक रोजगारदातालाई तिरेर विदेश जान परेको गुनासो सुनाएका थिए ।

झापाकी चन्द्रकलाले एक वर्षअघि आफूलाई ओमान लगी छ महिनासम्म पेटभरि खान पनि नदिएर बन्दी बनाएर राखिएको र पछि उद्धार भएर नेपाल आउन सफल भएको सुनाउनुभयो ।

यस्तै सिन्धुपाल्चोकका फुर्वाले आफ्नी श्रीमती ओमानमा गए पनि भनेअनुसारको काम र तलब नपाएपछि उद्धारका लागि महिनौँदेखि प्रयास गर्दा पनि सफल हुन नसकेको जानकारी दिनुभयो ।

सर्लाहीका पदमले आफ्ना भतिज नगेन्द्रलाई करार अवधि सकिएपछि पनि साउदी अरबबाट घर फर्किन कम्पनीले नदिएको र सोही अवधिमा सडक दुर्घटना हुँदा जरिवानावापत तिर्नुपर्ने रु १० लाख तिर्न नसकेर छ महिनादेखि कारागार जीवन बिताइरहेको जानकारी दिनुभयो । (रासस) 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू