अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

अब बन्ने प्रतिनिधिसभामा न्यूनतम ३ % मत ल्याउनेले मात्रै समानुपातिक प्रतिनिधित्व पाउने

बिआरटीनेपाल २०७४ मंसिर २६ गते १९:१८ मा प्रकाशित

समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन् ।

अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्रै समानुपातिक सिटबाट प्रतिनिधित्व पाउने छन् ।

विगतमा थोरै मत ल्याएर पनि समानुपातिकबाट एक सिट पाएर संविधानसभामा प्रतिनिधित्व गर्ने दल आधा दर्जनभन्दा बढी थिए । तर यस पटक समानुपातिकमा सिट पाउने दलले न्यूनतम ३ लाख वरिपरि मत ल्याउनुपर्ने छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेका छन् ।

उक्त तथ्यांक मतदान केन्द्रहरूबाट आएको प्रारम्भिक विवरणबाट तयार पारिएकाले त्यसमा केही थपघट हुन सक्छ । आयोगले ४ देखि ५ प्रतिशत मत बदर हुने अनुमान गरेको छ ।

निर्वाचन कानुनले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि १.५ प्रतिशत मतको थ्रेसहोल्ड तोकेको छ ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६०(११) र प्रदेशसभा निर्वाचन ऐनको दफा ६०(९) मा त्यससम्बन्धी प्रावधान उल्लेख छ । यो खबर आजको कान्तिपुरमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू