अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 11:40

जेरुसेलम घोषणा विषयमा अमेरिका विरुद्ध प्रदर्शन जारी

जकार्ता (रासस÷सिन्ह्वा) २०७४ मंसिर २६ गते ३:५४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिनेगरी राख्नुभएको आफ्नो अभिव्यक्तिका विरुद्धमा विभिन्न देशमा अमेरिकाका विरुद्ध प्रदर्शन जारी रहेका बताइएको छ ।

यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशहरूले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको बताइएको छ ।

प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमाससमूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो ।

राष्ट्रपति ट्रम्पको निर्णयको विरोध चर्कंदै गर्दा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावास अगाडि पनि विरोध जुलुस निकालिएको थियो ।

सो विरोध जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र त्यसमा परी अरू केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन् ।

आइतबार विरोध जुलुस ल्याएर अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोेकेको थियो । त्यस क्रममा उसले अश्रु ग्याँस र पानीको फोहरा पनि हानेको थियो ।

उता हालैका दिनहरूमा अमेरिकासँग राम्रो सम्बन्ध कायम रहेका संयुक्त अरब इमिरेट्स र साउदी अरेबिया समेत सम्मिलित अरब लिगले पनि राष्टपति ट्रम्पको यस निर्णयको आलोचना गरेका छन् ।

हमासका नेताले बिहीबारमात्र गाजामा आन्दोलनको घोषणा गरेका थिए । सोही बमोजिम अरब क्षेत्रका पनि विभिन्न देशमा रहेका अमेरिकी दूतावासअगाडि प्रदर्शन गरिएका छन् ।

राष्ट्रपति ट्रम्पको उक्त निर्णयको विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनुपर्नेमा उनीहरूले आह्वान गरेका थिए ।

उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसागर्दै उहाँले जेरुसलेमको इतिहासको सम्मान गरेको बताउनुभएको छ ।

अरब र मुसलमान बहुल देशका विभिन्न सहरमा गत हप्तादेखि नै प्रदर्शनहरु भएका छन् । लेबनानका अतिरिक्त इजिप्टको काइरो, मोरक्कोको रबातमा पनि आइतबार विरोध प्रदर्शन भएका समाचारहरु प्राप्त भएका थिए ।

त्यसै गरी टर्कीका राष्ट्रपति तैयब रेसप एर्दोगानले जेरुसलेम इजरेललाई सुम्पिने पक्षमा आफू नभएको प्रतिक्रिया हालै दिनुभएको छ ।

इस्लामिक समूहका हजारौँ नागरिकले अरूतिर पनि अमेरिकाको उक्त निर्णयको व्यापक मात्रामा विरोध गरेका समाचारहरु प्राप्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू