अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

गौचन हत्याका मुख्य योजनाकार बस्न्यात पक्राउ

बिआरटीनेपाल २०७४ मंसिर १७ गते १२:३४ मा प्रकाशित

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा शनिवार चितवनको नारायणघाटबाट बस्न्यातलाई पक्राउ गरेको हो ।

ब्युरोले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी रुपन्देही युवा सङ्घका अध्यक्ष दुर्गा तिवारीको हत्या, दावा लामामाथिको गोली प्रहार र निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार बन्स्यातलाई पक्राउ गरको जानकारी दिएको हो ।

सम्मेलनमा ब्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा कुमार श्रेष्ठ (घैँटे) र समिरमानसिंह दुवैको शेयर रहेको र घैँटेको निधनपछि बाँकी रहेको शेयर माग्दा नदिएपछि गौचनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो ।

गौचनले घैँटेसँग दुई करोड ५० लाख रकम लिएको र उक्त रकममध्ये बस्न्यातले आफ्नो रु एक करोड भएको दाबी गरेका थिए । यस्तै वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन दुई प्रतिशत मागेकामा गौचनले बेवास्ता गरेपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको कार्कीले बताउनुभयो ।

तिवारीको हत्या २०७३ पुस ४ भएको थियो र लामालाई २०७३ चैत २९ गोली हानिएको थियो । गौचनको हत्या यही असोज २३ गते गरिएको थियो । गौचनको हत्या आरोपमा अहिलेसम्म प्रहरीले मुख्य योजनाकार बस्न्यातसहित वसन्त थेवे, राजिव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरिसकेको छ भने मनोज पुन, लोप्साङ लामा, गंगाप्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू