अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

आप्रवासी विरुद्धको लडाइँमा करदाताको पैसा

बिआरटीनेपाल २०७४ मंसिर १६ गते १०:३० मा प्रकाशित

न्यू योर्क । ह्वाइट हाउसले बनाएको बजेट पारित भए न्यू जर्सीले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी योजना कार्यान्वयन गर्न १० औँ लाख अमेरिकी डलर बढी खर्च गर्नुपर्ने भएको छ । शुक्रवार सार्वजनिक गरिएको एउटा प्रतिवेदन अनुसार न्यू जर्सीले खर्च गर्नुपर्ने यो रकम कानुनी हैसियत नभएका आप्रवासीले तिरेको करभन्दा दोब्बर बढी हो । प्रतिवेदन मेक द न्यू जर्सीले तयार पारेको हो । त्यस अनुसार ट्रम्पको आप्रवासी योजना कार्यान्वयन गर्न ४० खर्ब १० अर्ब अमेरिकी डलर लाग्छ । त्यसमा न्यू जर्सीले मात्र ५ अर्ब ६० करोड अमेरिकी डलर बेहोर्नु पर्छ ।

प्रतिवेदन अनुसार न्यू जर्सीले १ अर्ब ६० करोड डलर मेक्सिको सीमामा पर्खाल लगाउन, १ अर्ब ३० करोड डलर आप्रवासी राखिने जेलमा सुत्ने ठाउँ बनाउन, १८ करोड ६० लाख डलर १ हजारभन्दा बढी आप्रवासी कर्मचारी र ६ सय ६ कस्टम इन्फोर्समेन्ट अधिकारीको दरबन्दी थप्न र १० करोड अमेरिकी डलर ५ सय बोर्डर पेट्रोल एजेन्ट नियुक्त गर्न खर्च गर्नुपर्छ । त्यस्तै, न्यू जर्सीले त्यस्तै १३ करोड ३० लाख अमेरिकी डलर विभिन्न व्यावसायिक संस्थाले नियुक्त गरेका कर्मचारी श्रम स्वीकृति छ कि छैन भनेर जाँच्ने सफ्टवयर बनाउन खर्च हुन्छ ।

ह्वाइट हाउसले यो वर्षको सुरुमा प्रस्ताव गरेको बजेटमा शिक्षा, यातायात, मानवीय सेवा, वातावरण नीति लगायतका क्षेत्रको रकम काटिएको छ ।

‘मैले तिरेको कर ट्रम्पले आप्रवासीसँग लड्न खर्च गरिरहेका छन् भन्दा न्यू जर्सीका बासिन्दालाई झट्का लाग्छ,’ मेक द रोड न्यू जर्सीका सदस्य एडिसन भास्केजले भने ।

ट्रम्पको बजेट कार्यान्वयनमा आए न्यू जर्सीको अर्थतन्त्रमा धक्का लाग्ने प्रतिवेदनमा औंल्याइएको छ । द इन्स्टिच्युट फर ट्याक्सेसन एण्ड इकोनोमी पोलिसीको अनुमान अनुसार न्यू जर्सीका अनधिकृत आप्रवासीले वार्षिक करिब ५८ करोड ७० लाख डलर कर तिर्छन् ।

लेफ्ट विङ थिंक ट्यांक न्यू जर्सी पोलिसी पस्र्पेक्टिभका अनुसार बजेट कार्यान्वयनमा आए कुल गार्हस्थ उत्पादनमा ४ दशमलव ९ प्रतिशत गिरावट आउँछ । यो गिरावट अमेरिकामै सबैभन्दा गम्भीर हुनेछ । न्यू जर्सीमा करिब ४ लाख ९८ हजार अनधिकृत आप्रवासी रहेको अनुमान छ । (विभिन्न समाचार संस्थाको सहयोगमा )

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू