अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

सत्तरी प्रतिशत अमेरिकी युवा अर्काे राजनीतिक दल चाहन्छन्

बिआरटीनेपाल २०७४ मंसिर १३ गते २३:०८ मा प्रकाशित

अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे दल चाहेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकन भन्दा अर्कै दल चाहेको उनीहरूले बताएका थिए । ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरूको छ । त्यसैले उनीहरूले यी दुईको सट्टामा अर्काे राम्रो कामगर्ने दल चाहेको बताएका हुन् ।

हालै गरिएको सो सर्वेक्षणमा अमेरिकी नागरिकको सो धारणा बाहिर आएको बताइएको छ । उक्त सर्वेक्षणमा सहभागी भएकामध्येका ६० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको कार्यसम्पादनको विरोध गरेका छन् । उनीहरूले राष्ट्रपति ट्रम्पको कार्यशैली नरुचाएको र उहाँले जारी राखेका कामहरू जनताले मन पराउने खालका नरहेको पनि बताएका छन् ।

एनबिसी न्युजले गरेको सो सर्वेक्षणमा सहभागी करिब ६५ प्रतिशत युवाहरूले संयुक्त राज्य अमेरिका हाल सबै राजनीतिक विषयहरूमा गलत दिशातर्फ उन्मुख भइरहेको जनाएका छन् । उक्त सर्वेक्षणका अधिकांश सहभागीहरुले अमेरिकामा राजनीतिक दलले जनताको वास्ता नगर्ने गरेको जनाएका छन् । त्यसैले उनीहरूले हालका दुई दलभन्दा अर्कै राजनीतिक दल चाहेको बताएका छन् ।

राष्ट्रिय रूपमा नै प्रतिनिधित्व हुनेगरी उक्त सर्वेक्षणमा विभिन्न जात जाति, वर्ग र क्षेत्रका आधारमा नागरिकलाई संलग्न गराइएको थियो । उक्त सर्वेक्षण गत अक्टोबर २६ देखि नोभेम्बर १० सम्म गरिएको थियो । विभिन्न क्षेत्र, वर्ग र समुदायका गरी १ हजार ८७६ जना १८ वर्षदेखि ३४ वर्ष उमेर समूहका युवाहरूलाई सो सर्वेक्षणमा सहभागी गराइएको थियो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू