अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

फेरिँदै चुनावी प्रचार शैली

बिआरटीनेपाल २०७४ मंसिर १२ गते १९:०७ मा प्रकाशित

मंसिर १३, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा दलले विगतभन्दा बेग्लै शैली अपनाउन थालेका छन् । उम्मेदवारहरूले पछिल्लो समय सांस्कृतिक कार्यक्रमसाथै सामाजिक सञ्जाललाई चुनावी प्रचारमा प्रयोग गरिरहेका छन् ।

 चुनावी कार्यक्रमको लाइभ प्रसारण गर्न उम्मेदवारबीच होडबाजी नै चलेको छ । उनीहरू ठूला सभाभन्दा घरदैलो पुगेर मतदाता आकर्षित गर्ने प्रयासमा छन् । विगतमा जस्तो पर्चा पम्प्लेट टाँस्ने क्रम यस पटक निकै कम देखिएको छ ।

इलाममा दलहरूले ठूला सभाभन्दा घरदैलो कार्यक्रमलाई जोड दिएका छन् । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र वाम गठबन्धनसँगै अन्य दलले मतदाता रिझाउन गाउँ दौडाहालाई प्राथमिकता दिएका हुन् । प्रमुख दलले वडा र गाउँपालिकास्तरमा केही सभा भने गरेका छन् । सामाजिक सञ्जाल चुनाव प्रचारको अब्बल माध्यम बनिरहेका छन् । फेसबुक, म्यासेन्जर, ट्विटरलगायतमा आ–आफ्नो दलका प्रचार गर्न उम्मेदवारदेखि कार्यकर्तासम्म कम देखिँदैनन् । सामाजिक सञ्जालमा विपक्षीका कमजोरी केलाउँदै आफ्नो दल र उम्मेदवारलाई अब्बल साबित गर्ने प्रयास बढ्दो छ । फरक ढंगले आयोजना हुने व्यक्तिगत र सामाजिक कार्यक्रमलाई पनि दलले प्रचार माध्यम बनाउने गरेका छन् ।

अघिल्ला निर्वाचनमा ठूला सभा गर्दै आएका दल त्यो समय र खर्च बचाउँदै मतदाता रिझाउन घरघर पुग्ने क्रम बढेको हो । विकट क्षेत्रका हरेकजसो वडामा उम्मेदवार पुगेका छन् । गत असारमा भएको स्थानीय निर्वाचनदेखि नै दलले ठूला सभालाई कम गर्दै लगेका हुन् ।

गीतसंगीत प्रयोग भने बढ्दो छ । वाम गठबन्धन र कांग्रेसले बजार क्षेत्रमै गाडीमा प्रचारात्मक गीत घन्काउने गरेका छन् । सामाजिक सञ्जाल प्रयोग बढी गर्नेमा विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टीलगायत पनि कम छैनन् । संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक मञ्च, मंगोल नेसनल अर्गनाइजेसन लगायतले भेटघाट र घरदैलोमार्फत प्रचार तीव्र पार्दै सामाजिक सञ्जाल प्रयोग बढाएका छन् ।

भित्ते लेखन र पर्चा पम्प्लेट टाँस्ने क्रम घटेको छ । बरु कार्यकर्तामार्फत घोषणापत्र र प्रचार सामग्री मतदाताका घरघर पुर्‍याइँदै छन् । बजार क्षेत्रमा झन्डा राख्न भने प्रतिस्पर्धा नै देखिएको छ । पार्टी झन्डासहित चुनाव चिह्न प्रचार गर्नेमा कांग्रेस र वाम गठवन्धन अगाडि छन् । गठबन्धनले देशको समृद्धि र स्थायित्वका लागि संविधानको कार्यान्वयन र दिगो सरकारको नारा अघि सारेको छ । कांग्रेस नेता/कार्यकर्ताले भने लोकतन्त्रको रक्षा र अधिनायकवाद आउन नदिन पार्टीलाई मतदान गर्न आग्रह गर्ने गरेका छन् । प्रचारक्रममा आचारसंहिता उल्लंघन गरेको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तेह्रथुममा दलहरूले प्रचारको समय नै फेरेका छन् । अन्न थन्क्याउने चटारोमा रहेका मतदाता दिउँसो घरगोठमा नभेटिने भएकाले उम्मेदवार र कार्यकर्ता रातिराति घरदैलो गरिरहेका छन् । केही उम्मेदवार भने किसानका खेतबारीसम्मै पुगेर मत मागिरहेछन् ।

यस पटक प्रचारशैली केही व्यवस्थित र फरक बनाइएको एमाले जिल्ला अध्यक्ष एवं प्रदेशसभा ‘क’ उम्मेदवार लक्ष्मण तिवारीले बताए । इलाका स्तरमा हुने आमसभाबाहेक अन्य कार्यक्रममा कलाकार, बाजागाजासमेत प्रयोग नगरिएको वाम गठबन्धनको चुनाव परिचालन कमिटी संयोजक दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।

अघिल्ला निर्वाचनमा सांस्कृतिक कार्यक्रमसहित घरदैलो पुग्ने गरेको कांग्रेसले पनि यस पटक त्यसो गरेन । गत सोमबार सदरमुकाम म्याङलुङमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेको कार्यक्रममा समेत सांस्कृतिक प्रस्तुति देखाइएन । बरु पार्टीले स्थानीय रेडियो, अनलाइन, फेसबुकमार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गर्‍यो । ‘हामीले प्रचारशैली फरक बनाएका छौं,’ कांग्रेस जिल्ला सभापति एवं प्रदेशसभा ‘क’ उम्मेदवार गोविन्द ढुंगानाले भने, ‘यस पटक प्रचार व्यवस्थित छ ।’

जिल्लामा अन्य साना दलका ११ उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । सबैले एफएम रेडियो, अनलाइन, फेसबुक, टवीटर, इन्स्टाग्रामलगायत सञ्चार माध्यम र सामाजिक सञ्जाललाई चुनावी प्रचारमा जोडेका छन् । यी माध्यमबाट खर्च कम र प्रचार व्यवस्थितसमेत हुने गरेको वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार भवानी खापुङले बताए । विगतमा जस्तो नेताहरू आएपिच्छे बाजा बजाउने, फूलमाला लगाइदिने, सांगीतिक कार्यक्रम आयोजना गर्ने चलन हटदै छ । पहिलो चरणमा नेता/कार्यकर्ता घरदैलोमा पुग्ने, दोस्रो चरणमा उम्मेदवारसहितको टोली गएर भोट माग्ने र अन्तिम चरणमा पुन: घरदैलो गर्ने दलको योजना छ । उनीहरू खानेपानी, सिँचाइ, सडक, बिजुली, कृषि उद्यम, पर्यटन, रोजगारी, साना तथा मझौला उद्योग स्थापनाजस्ता विकास आश्वासन देखाएर भोट फकाइरहेका छन् ।

नाच्दै भोट माग्दै

धनकुटामा दलहरूले गीतसंगीत र नाचगानलाई प्रचार माध्यम बनाइरहेका छन् । कार्यकर्ता मात्र होइन, उम्मेदवारसमेत कम्मर मर्काइरहेका देखिन्छन् । दलहरूबीच मतदाता आकर्षित गर्ने विभिन्न शैली चलिरहँदा गीतसंगीतको माध्यम प्रभावकारी भएको भन्दै कार्यकर्ता उत्साही छन् ।

केन्द्रीय नेता ल्याएर जुलुसको प्रतिस्पर्धा गर्नेदेखि सामाजिक सञ्जालमार्फत मत माग्ने क्रम पनि नदेखिएको होइन तर सांगीतिक कार्यक्रम आयोजना गर्नमा दलहरूबीच होड नै चलेको छ ।

खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा वाम गठबन्धनले आयोजना गरेको सभामा गायक किशोर थुलुङ, साजन राई लगायतको सांगीतिक प्रस्तुतिमा प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र राई तथा प्रदेशसभा सदस्य उम्मेदवार निरन राई र इन्द्रमणि पराजुलीलगायत नेता असिनपसिन हुन्जेल नाचे । ‘गीतसंगीतको माध्यमबाट पार्टीको सन्देश सामान्य वर्गलाई बुझाउन र आकर्षित गर्न सकिन्छ,’ प्रतिनिधिसभा उम्मेदवार राईले भने, ‘कलाकारले गीत गाएपछि ननाची बस्न सकिँदो रहेनछ ।’

नेताहरू गोपाल गुरागाईं, धर्मराज पौडेल, उज्ज्वल किराती, सुष्मा किराती, मनोज राई, सावित्रा राई, तारा तितुङ, नैन विश्वकर्मालगायत पनि तँछाडमछाड गर्दै नाचिरहेका देखिन्थे । चुनावी गीत गाउनेमा जेवी टुहुरे, शम्भु राई, चेतन सापकोटा, धुन याङ्मी, बद्री पंगेनी, तुलसी पराजुली, पुरुषोत्तम न्यौपाने, अमृत खाती, रामचन्द्र पौडेल, साजन राईलगायत छन् ।

लोकतान्त्रिक गठबन्धनको चुनावी सभा र घरदैलो अभियान पनि कम छैन । उनीहरूले जिल्लाका विभिन्न स्थानमा आयोजना गरेका सभाको मुख्य आकर्षण नै सांगीतिक प्रस्तुति बनिरहेको छ । लोकतान्त्रिकबाट प्रतिनिधिसभा उम्मेदवार सुनीलबहादुर थापा, प्रदेशसभा उम्मेदवार मनोहरनारायण श्रेष्ठ र अर्जुन थापासम्मका नेता/कार्यकर्ता नाचमा रमेका देखिन्छन् । चुनावी सभामा सांगीतिक प्रस्तुतिसँगै प्राय: सबै नेता/कार्यकर्ता नाचगान गर्ने गरेको कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले बताए । कांग्रेसका पक्षमा चुनावी गीत गाउनेमा राधिका हमाल, विमलराज क्षत्री, सुमित खडकालगायत छन् ।

पुरानै शैली, उस्तै एजेन्डा 

उदयपुरको बेलका नगरपालिका ९ धौरी टप्पुका ६२ वर्षीय रेशमलाल माझीले पञ्चायतदेखि गणतन्त्रसम्म भएका सबै किसिमका निर्वाचनमा भाग लिए । दर्जनौं दलका सयौं नेता/कार्यकर्ता भेटे ।

दल धेरै भए पनि माझीले सबैको एउटै नारा सुने, ‘विकास दिन्छौं ।’ तर हात जोडदै भोट मागेका कसैले पनि चुनाव जितेपछि वाचा पूरा गरेको उनलाई थाहा छैन । ‘वर्षौंदेखिको प्रचारप्रसार शैली फेरिएन, न त नारा फेरियो तर भोट नदिई पनि भा’छैन,’ उनले भने ।

अहिले विभिन्न दलका नेता/कार्यकर्ता आ–आफ्ना उम्मेदवार लिएर ग्रामीण क्षेत्रमा घरदैलोसँगै कोणसभा गरिरहेका छन् । धौरीमा दर्जनौं उम्मेदवार आइपुगेका छन । ‘सबैको एउटै एजेन्डा छ, कोसीपीडितलाई व्यवस्थित बसोबास गराउने,’ ५३ वर्षीया लक्ष्मीमाया माझीले भनिन्, ‘हरेक चुनावमा यसै भन्दै आएका छन् ।’ प्रजातन्त्र प्राप्तिपछिका सबै चुनावमा व्यवस्थित बसोबासको मुद्दा उठे पनि त्यो चुनावी प्रचारमै सीमित भएको उनले बताइन् ।

अघिल्ला चुनावमा जस्तै यसपालि पनि खानेपानी, बिजुली, बाटो र सुकुम्बासी व्यवस्थित गर्ने मुद्दा दलले उठाइरहेको त्रियुगा ४ का रमेश सुनुवारले बताए । ‘विकासका नारा र आश्वासन केही फरक छैन,’ उनले भने, ‘मात्रै सर्वसाधारणले भोट हाल्ने मतपत्र फेरियो, उम्मेदवार फेरिए ।’

पुराना वामपन्थी नेता तथा वाम बुद्धिजीवी जगत बन्जारा विकास आश्वासन बाँड्ने पहिलेको चलनमा कुनै परिवर्तन नआएको बताउँछन् ।

‘विकासका आश्वासन बाँड्ने चलन उस्तै छ,’ उनले भने, ‘कांग्रेस आफूले गरेका काम मुद्दाका रूपमा लिएर भोट माग्न गाउँ गएको छ । वामपन्थीहरू पनि यसो गर्छु र उसो गर्छु भन्दै भोट मागिरहेका छन् ।’ आजको कान्तिपुरमा खवर छ

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू