अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

अरु क्षेत्रको परिचय बोकेपनि कलाक्षेत्रका लागि म एउटा विशुद्ध कलाकार मात्र हुँ – नायक दुर्गाराज पाण्डे (अन्तरवार्ता)

बिआरटीनेपाल २०७४ मंसिर १२ गते ०:२२ मा प्रकाशित

पाल्पा जिल्लाको तानसेन अर्गलीमा बुबा विष्णु प्रसाद पाण्डे र आमा भुनादेवी पाण्डेको सन्तानका रुपमा जन्मेका दुर्गाराज पाण्डे नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो समय चर्चामा छन् । केही दिन पछि प्रदर्शनमा आउन लागेको चलचित्र  ‘फिक्का’मा नायकको भुमिकामा रहेका पाण्डेको चर्चा यसकारण पनि भएको छ कि मार्सल आर्टका खेलाडी रहेका उनि सञ्चारकर्मी, मोडल र हाँस्य कलाकार समेत हुन् साथै कार्यक्रम प्रस्तोताका रुपमा नेपालका बिभिन्न जिल्लाका दर्शकको रोजाईमा पनि छन् । त्यसैले पनि कलाकर्मी र दर्शकले पाण्डेलाई चलचित्र फिक्कामा राखिनुलाई उत्साहका रुपमा मात्र लिएका छैनन् चलचित्रले राम्रो ब्यापार गर्न सक्ने समेत अनुमान गरेका छन् ।

गत बर्षमात्र ईजिप्टमा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगीतामा नेपालका तर्फवाट सहभागिता जनाएसंगै खेलकुद जगतमा पनि उनको खुविलाई ईज्जतका साथ लिईन्छ । उसोत पोखराका स्रोतामाझ पनि उनि लोकप्रिय रहे जतिबेला उनि गोर्खाली रेडियो र बिग एफएम पोखरामा कार्यक्रम प्रस्तोता थिए । हाल रेडियो कान्तिपुरसंग आवद्ध उनि पछिल्लो समय चर्चामा रहेको कार्यक्रम ट्वाक्क टुक्क रिटन्सका कलाकार समेत हुन् ।

मेहनत र धैर्यतामा बिश्वास गर्ने सरल र आत्मिय ब्यक्तीत्व र सकारात्मक सोचका तिनै नायक दुर्गाराज पाण्डेसंग बिआरटी नेपालकी सुषमा देवकोटाले गरेको संक्षिप्त कुराकानी

 

  • दिन कस्तो बित्दैछ  ?

चलचित्र फिक्का प्रर्दशनको अन्तिम तयारीमा रहेकाले फिक्का युनिट नै यतिवेला केहि ब्यस्त छ । म आफु यस चलचित्रमा नायकको भुमिकामा रहेकाले पनि दर्शकको चासो र प्रतिकृयालाई उत्साहका रुपमा लिएको छु । त्यसदेखी बाहेक म आफु मार्सल आर्टको खेलाडीपनि भएकाले समय निकालेरै पनि आफ््नो जिम्मेवारीलाई वहन गर्नुपर्ने हुन्छ, कार्यक्रम प्रस्तोताका रुपमा बिभिन्न कार्यक्रममा पनि सहभागीता जनाउनु पर्ने भएकाले दैनिकी प्राय ब्यस्त नै रहन्छ ।

  • बाल्यकालमा कस्तो स्वभावको हुनुहुन्थ्यो र कुन कुराले कलाकारिता क्षेत्रमा प्रोत्साहित गर्यो ?

प्राय कलाकारिता क्षेत्रमा लाग्ने ब्यक्तीको बाल्यकालको स्वभाव चन्चल हुन्छ भन्ने सुनिने गरेपनि मेरो हकमा भने यो कुरा फरक रर्यो म एकदमै सोझो र कम बोल्ने बच्चा थिएँ । त्यतिबेला अन्तरमुखी स्वभावको भएकाले पनि म भित्र कलाकारिताको मोह थियो भन्ने कुरा सबैलाई थाहा भएन । जव २०६२ सालमा प्रवेशिका परिक्षा दिएर म पृथ्वि नारायण क्याम्पसमा भर्ना भएँ ,त्यसपछि कलेज बिभिन्न बिद्यार्थी संगठनले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाउन थालें । सकारात्मक प्रतिकृयाले मान्छेलाई एक प्रकारको हौसला पनि प्रदान गर्छ, म मा पनि त्यहि भएको हुनुपर्छ मेरो कलाकारिता मोहले निरन्तरता पाईरहेछ आजको दिन सम्म ।

 

  • कलाकारिताको भोक बोकेर हिँडेको मान्छेमा सञ्चार र खेल क्षेत्र कसरी जोडियो ?

म भित्र कलाभोक थियो र छ यो सत्य हो र संगै ममा खेलप्रतिको लगाव हुनु आजको दिनमा आएर हेर्दा राम्रै भएछ कलाकारितामा लाग्नेले खेलकुदलाई पनि अपनाउँदा एक त फिटनेस रहन सकिन्छ र अर्को अभिनयकै क्रममा पनि यसले कहिँ शुक्ष्म त कहिँ बृहतरुपमा सहयोग गर्दो रहेछ भन्ने बुझेपनि जतिवेला म खेलकुदमा लागें, त्यो समय यो मेरो स्वभाव, रहर र मनको आवश्यकता मात्र थियो । २०६६ सालबाट खेलकुदमा औपचारिक प्रवेश गरेको मैले २०७३ सालमा नेपालका तर्फवाट कराते खेलाडीका रुपमा ईजिप्टमा सहभागीता जनाउन सक्नु एउटा महत्वपुर्ण सफलता थियो तर मैले यसलाई आफ्नो घमण्ड बनाईन कहिल्यै । किनकी कलाकारिताका क्षेत्रका लागि म एउटा विशुद्ध कलाकार मात्र हुँ ।

सञ्चार पनि यसरी नै जोडिएको पाटो हो मेरो । पिएन क्याम्पसका कार्यक्रममा मेरो अभिनय संगै मेरो मेरो प्रस्तुतीकरण र बोल्ने कलाको पनि प्रशंसा हुन्थ्यो पछि मलाई रेडियोमा कार्यक्रम प्रस्तोताका रुपमा काम गर्ने मौका मिल्यो २०६८ सालबाट । २ बर्ष गोखार्ली रेडियो र बिग एफएम पोखरामा काम गरेपछि मैले स्नातकोत्तर अध्यनका लागि पोखरा छोड्नु पर्यो । काठमाडौ आएपछि यि ३ वटै क्षेत्रलाई संगै लिएर अघि बढें, अति महत्वकाक्षं राख्ने मान्छे होईन म जीवननै एउटा प्रयोग हो भने मैले म यस्तो उस्तो भनेर बखान गर्नु एक प्रकारको मुर्खता हो । यति हो दर्शक स्रोताको मायाले उर्जा थपेको छ । जसलाई बचाई राख्न मैले मेहनत गर्नै पर्छ संधै सबै क्षेत्रमा ।

 

  • ‘फिक्का’ चलचित्रसंग जोडिदाको सन्दर्भ के थियो ?

दिनेश डिसीको ट्वाक्क टुक्क रिर्टन्समा अभिनयका क्रममा जनक खड्का संग चिनजान भयो । ट््वाक्क टुक्कको को निर्देशकका रुपमा रहनु भएका जनक खड्का २१ बर्षकै उमेरमा चलचित्र निर्देशन गर्ने निर्देशक भएकाले पनि उहाँको कामको कदर मेरो मनले गरेको थियो । पछि कुराकानीका क्रममा उहाँले नयाँ चलचित्र बनाउन लागेको बताउनु भयो र मलाई नायकका लागि प्रस्ताव पनि गर्नुभयो र फिक्कासंग जोडिएँ म । मलाई फिक्का चलचित्रमा जनक खड्काले प्रस्ताव गर्दा म चलचित्र पाएँ भनेर भन्दा पनि मेरो काम नजिकबाट हेरेर मलाई नायकको लागि प्रस्ताव गरिएकाले खुसि भएको थिएँ म । चलचित्रको कथाबस्तु अत्यन्त शशक्त रहेकाले पनि मैले फिक्कामा अभिनय गर्ने निर्णय गरेको हुँ । मेरो भुमिका चलचित्रमा केहि छोटो भएपनि अत्यन्त महत्वपुर्ण भुमिका मैले निभाएको छु । जुन भुमिकामा म छु त्यो अभिनयमात्र नभएर मेरै भोगाई हो कि भन्ने महशुष दर्शकलाई हुनेछ ।

 

  • कस्तो चलचित्र हो फिक्का ?

नेपालका ग्रामिण भेगमा बिद्येमान गरिवी र त्यसका असर साथै पारिवारिक प्रेमकथा बोकेको चलचित्र हो फिक्का । जसले परिस्थिको चपेटामा पर्नेको जीवन कसरी फिक्का बन्छ भन्ने बिषयलाई उठान गरेको छ । अत्यन्न शशक्त कथा बोकेको चलचित्र फिक्काले जीवनको अर्थ, खुसी र रोदनले निम्त्याउने प्रभाव र असर साथै प्रेरणा समेत प्रदान गरेको छ ।

  • आफुलाई सुहाउने रोल कस्तो हो जस्तो लाग्छ कलाकार दुर्गाराज पाण्डेलाई ?

कलाकार हुन्छु भनेर यो क्षेत्रमा संघर्ष गर्नेले मात्र होईन सफलता हासिल गरेका कलाकारहरुले पनि म यो भुमिकामा मात्र अभिनय गर्छु र म यसका लागि मात्र ठिक छु भन्न मिल्दैन । कथाले आफुलाई दिएको अभिनय निभाउन सक्नै पर्छ । यति हुँदा हुँदै पनि कसैसंग कुनै भुमिकाको बलियो पकड हुने हुँदा ति भुमिकामा उसलाई राखिदा अभिनय जिवन्त हुने गर्दछ । मेरो हकमा पनि म कलाकार भएकाले आफुले पाउने अभिनयलाई जिबन्त बनाउनु पर्छ भन्ने मान्यताका साथ काम गर्छु । यति हो मार्सल आर्टको खेलाडी र हाँस्य कलाकार समेतको अनुभव म संग भएकाले त्यस्तो प्रकारको भुमिकामा मलाई सहज मात्र होईन गरिरहेको काम भएकाले त्यसको प्रस्तुतीमा अभिनय भन्दा पनि यथार्थताको रंग आउँछ । म आफुले पाएको भुमिकालाई कहिल्यै पनि हेलचक्राईं गर्दिन । मैले निर्माताको लगानीको बारेमा सोच्नु पर्छ, समय निकालेर मेरो अभिनय हेर्नेहरुलाई पनि खुसि बनाउन सक्नुपर्छ, एउटा कलाकारले कुनै भुमिकामाथी न्याय पुर्याउन सकेन भने सम्पुर्ण चलचित्रलाई नै त्यसको असर पर्ने हुँदा सानो छोटो जस्तो भुमिकामा रहे पनि कलाकारले यो मेरो जीम्मेवारी हो भनेर सोच्नुपर्छ ।

 

  • अन्तमा आफ्ना दर्शकलाई के भन्नु हुन्छ ?

जसको मायाले आज यहाँ सम्म आईपुगेको छु उहाँहरु प्रति धन्यवाद शब्द फिक्का जस्तो लाग्दो रहेछ । म संधै ऋणि छु मेरा दर्शकहरु प्रति जसको साथ मेरो हौसला बनेको छ । आभारी छु सबै दर्शकप्रति । यहि मंसिर १५ गते चलचित्र फिक्का आउँदैछ, सम्पुर्ण दर्शकहरुलाई फिक्का हेरिदिन अनुरोध गर्दछु साथै सल्लाह सुझावको पनि अपेक्षा गरेको छु । दर्शकले माया र साथ नभएको दिन हामी कलाकार रहँदैनौ । त्यो हुँदा तपाईहरुको यो हौसलाई चलचित्र फिक्कामा मनबाट प्रस्तुत गरेको छु ।

 

 

प्रतिक्रिया