अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

टुकीको भरमा रात बिताउँछन् कुमाल बस्तीमा

बिआरटीनेपाल २०७४ मंसिर ११ गते १९:३२ मा प्रकाशित

पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै टुकीको भरमा रात बिताउन बाध्य छन् । गरिबीको कारण कुमाल बस्तीका १० घरपरिवारमा अझैसम्म टुकीको भरमा रात बिताउनुपर्ने बाध्यता छ । छोराछोरीलाई टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रश्वास समस्या हुने गरेको छ ।

घोरबन्दाकी ज्ञानीसरा कुमालले पोल टाढा रहेकाले २०० मिटर तार ल्याउन, विद्युत्का सामान, विद्युत्को वाइरिङका लागि खर्च जुटाउन नसक्दा घरमा बिजुली बाल्न नसकेको बताउनुभयो । “अरूको घरमा बिजुली बलेको हेर्छु । तानसेनमा बल्छ, आफ्नो घरमा यो जुनीमा बिजुली नबल्ने नै भयो, अर्को जुनीमा बिजुली बल्ला”, कुमालले गुनासो पोख्नुभयो ।

सदरमुकाम तानसेनसँग जोडिएको यो बस्ती रहे पनि आर्थिकरुपमा विपन्न भएकाले माछा मारेर उनीहरूले जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । श्रीमान् बिरामीले ग्रस्त बनेको ज्ञानीसराका दुई छोरा, एक छोरी, श्रीमान्–श्रीमती गरी पाँचजनाको परिवारको लालनपालन र शिक्षादीक्षाका लागि खर्च जुटाउन समस्या भएको छ ।

पाल्पा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले)का उम्मेदवार सोमप्रसाद पाण्डेय र नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले टुकीरहित जिल्ला बनाउने प्रतिबद्धता गरेका छन् । निर्वाचनपछि यो कुमाल बस्तीमा विद्युत् बल्छ कि भन्ने चासोको विषय बनेको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू