अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

कम्युनिष्टले जिते अधिनायकवाद आउछ, देशमा फेरि चुनाव हुँदैन- प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७४ मंसिर ११ गते ५:०९ मा प्रकाशित

प्रधानमन्त्री तथा नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने स्थिति देखा परेकोले लोकतान्त्रिकसंविधान र शासन पद्धतिलाई जोगाउन नेपाली काँग्रेसलाई जिताउनु पर्ने बताउनुुभएको छ । “ यो चुनाव संसदीय व्यवस्था सहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन भन्ने जनमत सङ्ग्रह हो, प्रधानमन्त्री देउवाले भन्नुभयो,“काँग्रेसले हारे लोकतन्त्रले हार्छ र मुलुकमाएकदलीय तानाशाही व्यवस्था आउनेछ ।”

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो ‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकारराख्छन तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्र रूपमा हिडडुल समेत गर्न पाउदैनन् ।’

बामगठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागु गर्ने योजना सार्वजनिक गरिसकेको आरोप प्रधानमन्त्री देउवाले लगाउनुभयो ।

‘नेपाली काँग्रेस बाहेकबहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपाली काँग्रेसले हार्दा प्रजातन्त्र हार्छ , त्यसैले यो चुनाव जित्न आवश्यक छ ।’ उहाँले काँग्रेसले जनतालाई मालिक मानेर सार्वभौमसत्ता सम्पन्न बनाएको तर कम्युनिष्टहरुले जनतालाई सधैँ डर त्रासमा राखेर शासन गर्न खोजेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले जनतालाई ‘बुट’मुनि राखेर दमन गर्ने ध्येयमा रहेको कुरा बेलैमा बुझेर लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले काँग्रेसले २००७ सालदेखि नै जनताको हक अधिकार रक्षा गर्दै जनतालाई सर्वशक्तिशाली मानेर आएको पार्टी भन्दै कम्युनिस्टले राजा महेन्द्रको तानाशाही व्यवस्थालाई व्युँताउन खोजेको आरोपलगाउनुभयो । प्रधानमन्त्री देउवाले कम्युनिस्ट शासन संसारबाटै खत्तम भइसकेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले जुझारु, क्रियाशील र जनजाति महिला नेतृ सीता गुरुङलाई जिताएर जिल्लाको विकास र समृद्धिलाई अगाडि बढाउन आग्रह गर्नुभयो । सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बामगठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधैँ हिसांको बाटोतर्फ अग्रसर रहने अरोप लगाउनुभयो ।

नेता पौडेलले कम्युनिष्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै काँग्रेसले सधैँ समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

उहाँले कम्युनिस्ट एकता प्रचण्डको जंगबहादुर बन्ने र ओलीको राजा महेन्द्र बन्ने इच्छाको प्रतिफल भएको आरोप लगाउनुभयो । ‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए,वामपन्थीले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन’, वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरुसँग अब नेपाली जनता नझुक्किने धारणा राख्नुभयो । उहाँले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास सम्भव भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसले गरिबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वाबलम्बी बनाउन चाहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री एवम् तेह्रथुमबाट प्रतिनिधि सभाकी उम्मेदवार सीता गुरुङले अढाई दशकसम्म जिल्लाको ताला चाबी वामपन्थीको हातमा परेकाले विकासनिर्माणमा पछि परेको बताउनुभएको छ ।

उहाँले जिल्लाको विकास र समृद्धि नेपाली काँग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै आफूले समानुपातिकबाट सांसद हुँदा प्रत्यक्ष निर्वा्चित भन्दा बढी कामगरेर देखाएको बताउनुभयो ।

प्रत्यक्ष निर्वा्चित हुने पुरुष नेताहरूको असहयोगकै कारण जिल्लाको विकासले तीव्रता नलिएको नेतृ गुरुङको दाबी थियो । काँग्रेसको केन्द्रीय सदस्य समेत रहनुभएकी गुरुङले अब जिल्लाको समृद्धिकोढोका काँग्रेसले खोल्ने बताउँदै व्यावसायिक कृषि र पर्यटन जिल्लाको समृद्धिका आधारहरु भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांंग्रेसका महासमिति सदस्य तुलसी सुब्बा, पुर्वसांसद गणेश विमली, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फे लगायतले मन्तव्य राख्नुभयो ।आम सभा नेपालीकांग्रेस तेह्रथुमका सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाको अध्यक्षता सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू