अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

संविधानले नागरिकलाई समान अधिकार दिएको छ: नेता खनाल

बिआरटीनेपाल २०७४ मंसिर ९ गते ६:४५ मा प्रकाशित

पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानले सबै नागरिकलाई समान अधिकार दिएको बताउनुभएको छ ।

सन्दकपुर गाउँपालिकास्थित माईमझुवामा वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा उहाँले भन्नुभयो, “अहिलेको संविधानले सबै अधिकार नदिए पनि सबै नागरिकलाई समानरूपमा अधिकार दिएको छ ।” संविधान आफैँमा पूर्ण नहुने र संशोधनमार्फत पूर्ण गर्दै लगिनेसमेत बताउनुभयो ।

क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका पूर्वप्रम खनालले अबको आवश्यकता वाम गठबन्धन नै रहेको र यसपटकको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ मत ल्याएर सरकार निर्माण गर्ने दाबीसमेत गर्नुभयो ।

इलाम नगरपालिकाको विकास गर्न नेम्वाङ प्रतिबद्ध
यसैबिच, इलाम क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्वसभामुख सुवास नेम्वाङले आज इलाम सदरमुकामस्थित पिपलबोटेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनपछि देशमा विकास र समृद्धिले गति लिने बताउनुभयो ।

उहाँले एमालेको अगुवाइमा संविधान बनेकाले त्यसलाई जस्ताको तस्तै कार्यान्वयन गर्नका लागि वाम गठबन्धन गरिएको उल्लेख गर्नुभयो । वाम गठबन्धनका इलाम नगरपालिका वडा नं ६ का संयोजक बेसु लिङदमको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार तारा गुरुङले पनि बोल्नुभएको थियो ।

कार्यक्रमपछि नेम्वाङले इलामको पर्यटकीयस्थल भालुढुंगाको समेत स्थलगत निरीक्षण गर्नुभयो । नगरपालिकाभित्र रहेका पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धन गर्न युवा जागरूक भएको भन्दै नेम्वाङले प्रशंसासमेत गर्नुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू