अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

 सामाजिक सञ्जाल अनुगमन गर्न निर्वाचन आयोगको टोली सक्रिय

बिआरटीनेपाल २०७४ मंसिर ९ गते ५:२५ मा प्रकाशित

निर्वाचन आयुक्त इला शर्माले निर्वाचन तथा सुरक्षा अधिकारीलाई आइतबार हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गराउन निर्देशन दिनुभएको छ ।

सदरमुकाम विदुरमा आज आयोजित कार्यक्रममा आयुक्त शर्माले राजनीतिक रुपमा चर्चामा रहेको नुवाकोट राजधानीबाट नजिक भएको र चुनावी मैदानमा ‘हाइ प्रोफाइल’का व्यक्ति पनि भएकाले गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो ।

जिल्लाको चुनावी तयारी र सुरक्षाको अवस्था जानकारी लिएपछि आफू निर्वाचन शान्तिपूर्ण हुन्छ भन्नेमा ढुक्क भएको बताउँदै आयुक्त शर्माले निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाएर उदाहरणीय काम गर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न गराउन सञ्चारकर्मीले पनि आआफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

आयुक्त शर्माले मौन अवधिमा पनि सामाजिक सञ्जालमार्फत भइरहेको चुनावी प्रचारप्रसारप्रति आयोगको ध्यान गएको र सामाजिक सञ्जाल अनुगमन गर्न आयोगको टोली पनि सक्रिय भएको बताउनुभयो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश लोकजंग शाहले निर्वाचनमा आचारसंहिता उल्लंघनका १२ उजुरी परेकामा छानबिन र कारबाही प्रक्रिया अघि बढाइएको बताउँदै मतदानका दिन दुई निर्वाचन क्षेत्रमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा चार अनुगमन टोलीसमेत परिचालन गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा निर्वाचन आयोगको अनुगमन टोलीका संयोजक सहसचिव रामचन्द्र ढकाल, प्रहरी उपरीक्षक वसन्त कुँवर र जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जिल्लाको निर्वाचनको तयारीबारे जानकारी दिनुभएको थियो ।

मलेखु (धादिङ) – निर्वाचन आयुक्त शर्माले यहाँ अनुगमन गर्दै निर्वाचन तयारीबारे जानकारी लिनुभएको छ । शर्माले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलगायतसँग छलफल गर्दा निर्वाचन स्वच्छ र भयमुक्त वातावरणमा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रजिअ श्यामप्रसाद भण्डारीले जिल्लाभर शान्तिसुरक्षाको अवस्था मजबुत रहेको बताउँदै मतदानपछि १२ मतदानस्थलका १७ मतदान केन्द्रका ५१ मतपेटिका हेलिकप्टरबाट ढुवानी हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले मतदान केन्द्रमा सञ्चारकर्मीको पहुँच र समाचार सम्प्रेषणमा बाधा नपर्ने गरी व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो ।(रासस)
———

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू