अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी विजयी

बिआरटीनेपाल २०७४ मंसिर ७ गते १०:१३ मा प्रकाशित

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७४’ को विजेता टोली सशस्त्र प्रहरी महिला फुटबल टोलीलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने उक्त टोलीललाई ट्रफी, मेडल र रु तीन लाख प्रदान गरिएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब महिला फुटबल टोली र सशस्त्र प्रहरी महिला फुटबल टोलीबीच भएको फाइनल खेलमा सशस्त्र प्रहरी महिला फुटबल टोलीले त्रिभुवन आर्मी क्लब महिला फुटबल टोलीलाई ३–२ गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी महिला फुटबल टोलीकी सपना लामालाई स्कुटरको साँचो प्रदान गरियो । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता यही मङ्सिर १ गतेदेखि सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा द्वितीय हुने त्रिभुवन आर्मी महिला फुटबल टोलीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले रु एक लाख पचास हजार नगद प्रदान गर्नुभयो ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोल रक्षक सशस्त्र प्रहरी महिला फुटबल टोलीका क्रमशः जनक सिंह, मनमाया लिम्बू र एन्जिला तुम्बाहाम्फे तथा उत्कृष्ट फरवार्ड र उत्कृष्ट मिडफिल्डर त्रिभुवन आर्मी महिला फुटबल टोलीका क्रमशः कृष्णा खत्री र दीपा राई घोषित भई जनही रु १०÷१० हजार नगदसहित ट्रफी प्राप्त गर्नुभयो ।

प्रतियोगिताको खेल अवधिमा १२ गोल गर्दै सशस्त्र प्रहरी बल महिला फुटबल टोलीका सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता घोषित भई नगद रु २५ हजार र ट्रफी प्राप्त गरेकी छिन् । साथै, उक्त प्रतियोगितामा भारतको सिक्किम महिला फुटबल टोलीलाई ‘फेयर प्ले अवार्ड’ प्रदान गरिएको थियो ।

नकआउटको आधारमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा सिक्किम महिला फुटबल टोली र विहार महिला फुटबल टोली गरी दुई, घरेलु विभागीय महिला फुटबल टोली तीन र पाँच विकासक्षेत्रका महिला फुटबल टोली पाँच गरी दश टोलीको सहभागिता थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू