अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

बैतडीका ४१ मतदानस्थल संवेदनशील 

बिआरटीनेपाल २०७४ मंसिर ७ गते २:४० मा प्रकाशित

यही मंसिर १० मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बैतडीका तीनवटा मतदानस्थललाई अतिसंवेदनशील र ३८ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले मतदान केन्द्र र मतदानस्थलको भौगोलिक, सामाजिक लगायतका अवस्था हेरेर श्रेणी विभाजन गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिनुभयो । पुरचौडी नगरपालिका–३ मा रहेको न्वादेउ आधारभूत विद्यालय केन्द्र, पुरचौडी नगरपालिका–४ मा रहेको पहरोल मावि केन्द्र र खेती मावि तल्लादेही केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । न्वादेउ आधारभूत विद्यालय केन्द्र आसपासमा स्थानीय तहको निर्वाचनका बेला बम विस्फोट भएको थियो ।

यस्तै, ३८ वटा मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । बैतडीमा आगामी निर्वाचनका लागि १२० वटा मतदानस्थल र १८२ वटा मतदान केन्द्र तोकिएका छन् ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि प्रदेश नं ७ का नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुने भएका छन् । सीमा नाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

मंसिर ७ गते राति १२ बजेदेखि सीमा नाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रजिअ जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चुनावी सुरक्षालाई ध्यानमा राखेर ७२ घण्टा सीमा बन्द गर्ने सहमति यसअघि नै दुई देशका सुरक्षा अधिकारीबीच भइसकेको छ ।”

बिरामी बाहेकका सबैलाई त्यो बेला नाकाबाट आवतजावत गर्न दिइने छैन । निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजिअ जोशीले बताउनुभयो ।

चुनावी सुरक्षालाई ध्यानमा राखेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेलसम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मंसिर १० गते प्रदेश नं ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू