अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 22:30

मुसे धान

युवराज नयाँघरे २०७४ मंसिर ४ गते २०:२७ मा प्रकाशित

कपाल फुले पनि त फुल्दो रहेनछ अतीत !

त्यसकै एक दानो म । जसको कारणले फुल्ने, फल्ने र फैलिने गरेको रहेछु । त्यो त्यही जरो– जो हरेक चैतमा सुकेर ओइलाउँछ र आउँदो वर्षको वैशाखमा फेरि उम्रिन्छ ।

घरमा मुसा लागेर किताब काटेर हैरान पारेको छ । अझ निन्द्रा बिगार्नमा मुसाले जति दिक्क अरू कसले लाउँछ र ?

तर मैले कुनै समय मुसाका दरबार भत्काएको छु । आज पढ्ने रहर भो आफैलाई । एउटा पुरानो पाना…।

धेरैजसो त दसैँ सकिए लगत्तै धान काटिन्थ्यो । कहिलेकाँही हो– दसैँमा नै धान काटी नयाँ धानको चिउरा कुट्ने ।

साह्रै पर्दा मात्र हो नि– नयाँ धानको चिउरा खाने । नत्र त पुराना धानकै चिउरा कुटिन्थ्यो भकरङभकरङ । त्यो बेला नयाँ धानका बाला यताउता काटेको देख्दा खास वास्ता हुँदैनथ्यो– तर भनिन्थ्यो– ‘मुसा यता पल्कियो कि ?’

दसैँ सकिए लगत्तै धान काट्ने चटारो भइहाल्थ्यो ।

मधेसका पारिला दिनमा कति पटक त धान खुर्रिएर गइसक्थ्यो । तैपनि पिङमा मच्चिने र चाडबाडको अलमलले छेका हालिरहन्थ्यो ।

मङ्सिरपछि खेतमा मुसाले हुलेका धान टिप्न म जान्थेँ । मुसालाई दोहोलो काढ्नु पनि त पथ्र्यो । त्यै भएर बा–आमाले खेतका मुसा खेद्ने कुरामा नाइनास्ति गर्नु भएन । भन्नुहुन्थ्यो– ‘घरको भकारी नि रित्याउने, खेतकै पनि बुत्याउने ।’

त्यो एकखालको रोष हुन्थ्यो । त्यसले मलाई खेत डुल्न र चहार्नमा अघोरै सघाउँथ्यो । म आमा र बुबाको त्यो भनाइलाई उचालेर भन्थे– ‘मुसा नखेदी हुन्न ।’
हुन त धान काटिसकेपछि मुसे धान खन्नु पथ्र्यो । तर म मुसाको धान निकाल्न त्यतिञ्जेल पर्खिने धैर्यमा हुन्नथेँ । जतिसुकै चाँडो धान खन्न जुट्थेँ– फरुवा, कोदालो र कुटो चलाएर ।

गाउँका धेरै भुराहरुको स–सानो झुन्ड थियो– मुसे धान खन्ने । तिनको तन, मन हमेसा मुसे धानमै अडिएको थियो । तिनले यै कमाइबाट आफ्ना धेरै रहरहरु पूरा गर्ने लक्ष्य लिन्थे ।

‘माघको पिकनिक यैबाट टारिन्छ !’

‘नयाँ वर्षमा लुगा नि हाल्ने पैसा यसैबाट बनाउनु पर्ला !’

‘बजारको खुर्मा खाने पैसा यैबाट जोगाइन्छ !’

‘कालो चस्मा किन्ने खर्चका लागि यै हो !’

किशोरहरुको हुलमा थिएँ मै नि । तिनका रहरसँग मै पनि जोडिन्थेँ, गाँसिन्थेँ र नजिकिन्थेँ । अनि कुरा एउटै हुन्थ्यो– मुसे धान खोज्न अबेर नगरौं ।

यति धेरै इच्छा, यति धेरै रहरका दबाबमा परेका हुनाले – मङ्सिरसम्म धान काटेका गरा कुर्न गाह्रो पथ्र्यो । त्यै भएर कति चोटि त धान काट्नुअघि नै म मुसे धान खन्न पस्थेँ– लहलह धान खेतमा ।

बोडी टिप्न र ढलेका धान उठाउन जानेहरुले एकसरो सरापिसक्थे– ‘हन्तकालीहरुले मुसे धान खन्न भ्याइसकेछन् ।’

मङ्सिरपछि गाउँका खमार र खेतमा बढ्थ्यो चहलपहल । पर्म लाउने र खेताला खोज्नेको दोहारीलत्तो हुन्छ गाउँमा । हतार–हतार धान नकाटे कहिलेकाँही त रहलपहल मनसुनले असिना बर्साउँथ्यो । अनि त धानका बाला त बाटामै सोत्र्याम्मै ।

वर्षभरिको पसिना बन्थ्यो सोत्तर ।

धान कहिले काट्लान् ? किन ढिलो गरे ? चाँडो गरे कति राम्रो हुन्थ्यो ! यस्ता उखर्माउलाले मलाई घोचेका हुन्थे ।

धान काटिसके पछि हाम्रो बसाउठी बाक्लिन्थ्यो । भेटघाट तारन्तार हुन थाल्थे । अनि फटाफट निर्णय हुन्थे– ‘मुसे धान खन्न यो बार, यो दिन, यति बजे जाने ।’ बार वरै हुन्थे, दिन अझ तोकिन्थे, बजे पनि चाँडचाँडै हुन्थे ।

‘शुकबारको हाफ छुट्टीपछि पुग्ने है !’

‘शनिवार छुट्टीमा जाऊ न !’

‘हप्ताको पहिलो दिन आइतबार पहिलो दिन जाँदा राम्रो !’

मुसे धान खन्न जानेबारे मैले यी छलफल सुन्नु पथ्र्यो । सँगसँगै तिनका तर्कमा उभ्याएर आपूmलाई घोलघाल पार्नु पथ्र्यो ।

सर्वमान्य तर्क र कुरोले विजय पाउँथ्यो । अरू पाखा लाग्थे । मिल्नेहरुका बोलीमा उर्दी हुन्थ्यो– ‘फरुवा बोक्नु । कोदालो नि ल्याउनु !’

म र अनुयायीहरुले बोरा, धोक्रा वा टिनका बट्टा बोक्ने आदेश समेत पाउँथ्यौँ । मान्नुपर्ने वा स्वीकारोक्तिको सिद्धान्त हुनुपर्छ यो ।
मुसे धान खोज्न प्रायः आइतबार जान्थ्यौं हामी ।

स्कुलका लागि किताब, कपी वा झोलामा डटिएर अघिपछिभन्दा एकघन्टा अघि हिँडिन्थ्यो । अघिल्लो दिनको साँझ वा शनिवारकै कुनै समयको तारतम्य मिलाई साथीहरूले फरुवा लगिसकेका हुन्थे । कतिले धानबारीमा लुकाइसकेका हुन्थे बोरा, धोक्रा, बाँसका डाली ।

कति पटक त मेरा किताब खन्याएर मुसे धान पनि कोच्चिएको थियो – भाँडोको अभावमा । के गर्नु मुसे धान खोज्ने युद्धमा सामेल भएपछि सघाउपगाउ नगरी भयो त !
साँच्चि काँबाट सुरु गर्ने धान खोज्न ?

खुब वादविवाद पथ्र्यो । चारपाँच किशोरका चार पाँच समय अनुमान र ठोकुवाले दह्रो गाउँसभा बन्न पुग्थ्यो ।

‘पैनी छेउबाट मुसे धान खोज्नु पर्छ ।’

‘गैरा खेतमा मुसे धान धेरै पाइन्छ ।’

‘खाडीतिर पो खन्नु पर्छ ।’

‘यो पालि त पोहोरतिरका ठाममा नखन्ने ।’

ठाउँ पनि तोकियो । अब त धेरै कुराले सघायो– मुसे धानका निम्ति एउटा बलियै योजना र दृष्टिकोण निर्माण भयो । हो, बहस र विवेचनाले जित्न सक्यो ।
आइतबारदेखि मुसे धान खोज्ने पक्कापक्की भयो ।

म पनि स्कुल जाने बाटो मोडेर पैनीको डिलैडिल गएँ । तीन चार दिन अघिको सल्लाहले गरेका बुँदामा टेकिएर साथीहरू आएका थिए । ती प्राण जाला वचन खेर नजाला– भन्ने सिद्धान्तमा अडिग थिए ।

फरुवा चले अब खेतमा ।

सुरुमा कसैले धानका पाँजा पन्छाएर कोदालो चलाएका थिए । फेरि कसैले भन्यो– ‘धानका बिटा सारेका निहुँमा पोहोर मेरा कन्सिरी तानेथे– जमरकट्टेल काकाले । भो, धान उठाए ठाममा मात्र मुसे धान खोजुँ ।’

कुटाइ खाने कुरामा धेरै पो हुन्छन् । बरु कुट्ने कुरामा एक मत हुन पुग्छन् । मेरो नि जोडबल पछिल्लो मैं भयो ।

‘हो, त्यसै गरुम् न ।’

अनि फरुवा, चले । आली छेउका उरुङखात बुरबुरे माटो उठाइएका ठाउँमा । मुसाले घर बनाउँदा भित्रबाट बाहिर थुपाथ्र्यो बुनियाँका डल्ला फस्रो माटो । हामीलाई पनि मुसाको दुलो चिन्न यतिखेर ठुलो सहयोग हुन पुग्थ्यो ।

जान्नेहरुले फरुवा बिस्तारै चलाउँथे ।

नजान्नेहरुको कुरै भिन्नै हुन्थ्यो । सम्भवतः जानेको वा बुझेको भए यत्ति एक झोला धानका लागि स्कुल छोडिन्नथ्यो होला । पराजय भनेको हरेक कोणमा उभिएको हुँदो रहेछ । कति छल्ने त्यो आफ्नो कुरा हो ।

कोदालो चल्थे फटाफट ।

अनि मुसाले कति मिहिनेतले बनाएको प्वाल रैँदालो पार्न थाल्थ्यौँ हामी । कुनै निर्माण छरेर वा कुनै ठुलै योजनाले चाँडो साथृकता पाउने शुभ मुहूर्त हो यो । यस्तै विश्वासमा म मुसे धानका निम्ति पसिना खर्चिरहेको हुन्थेँ ।

फरुवा चलाउन थालेपछि वरिपरि बसेर हामी माटाका डल्ला पर–पर हुत्याउथेँ । माटाका चपारी यत्ताउता सार्दा सार्दा हत्तु हैरान हुन्थ्यौं ।

मुसाहरु पनि कति धेरै चलाख । कति धेरै भित्रसम्म प्वाल पारी धान थन्काउथेँ । आलीमा सानो प्वाल हुन्थ्यो– तर भित्र त काँ हो काँ दुलो बनाएर धान थन्काएका हुन्थे ।

एक पटक हो– झन्डै एक बोरा जस्तो धानका सग्ला–सग्ला बाला थन्काएको भेटें मैले मुसाको दरबारमा । तह–तह बनाइएको दुलोमा धानका राम्रा–राम्रा बाला एउटा दानासम्म नखाई राखिएको थियो ।

‘मुसाले मङ्सिरमा पाँचवटीसम्म स्वास्नी भित्र्याउँछ । अनि धानका बाला बोकाउन ती रुपसीलाई खटाउँछ । जब पुसको जाडो बढ्छ– त्यसपछि सबैलाई खेदेर एकलै धान खान थाल्छ ।’

गाउँका मेकचन धिमालले भनेको म सम्झन्छु ।

उनी जानकार लाग्थे– मुसाका, खेतका, धानका वा कालोपैनीका । मैले निकै पत्याएँ उनका कुरा । आधार के भने– मुसे धान खोज्दा प्रायः मुसो भेटिदैनथ्यो । भेटि हाले– एउटा सम्भ्रान्त अनुहारको मुसो लडबडि गरिरहेको हुन्थ्यो– त्यही दरबारमा ।

मुसे धान खोज्दा मैले मुसाको प्वालमा भेटेका धानको तह हेरेर सौन्दर्य, ज्ञान र श्रमको भुँवरीमा हुत्याएको छु पटक–पटक ।

कति मिहनेतले यो प्वाल बनाएको ? कति लगनले माटो खनेको ? कति बलले यो घर बनाएको ? कति ऊर्जा लाएर यो दुलौ भित्रै तातो चिसोको व्यवस्थापन गरेको ?
मुसे धानसँग धेरै खालका जिज्ञासा छन् ।

सर्लक्क–सर्लक्क परेका यी बाला हेर्छु– कुनै चोट वा खोट छैन । कुनै चोइटिएको वा टुक्रिएको छैन । कुनै दाना कोतरिएको वा चुँडिएको छैन । मुसे धानका बिटामा हात लाउँदा एश्वर्य र सम्पन्नताको भावले अँगालो हालेको लाग्थे मलाई ।

कति पटक यस्तो भयो– मुसे धान छैन ।

धानको उक गेडो पनि देख्न पाइएन । बरु धानका पातले तह–तह खापेर न्यानो बिछौना बनाइएको छ । त्यसमा आँखासम्म नउघ्रिएका राता बच्चाहरू गुडुल्किएका हुन्थे ।

मुसे धान नपाएको झोँकमा फरुवा चलाउनेले माया वा करुणाको अर्थ भुलिसकेको हुन्थ्यो अनि ती छिन्नभिन्न हुन पुग्थे । तिनको बोलीसम्म सुन्न पाइन्थ्यो ।
धान त कहाँ हो कहाँ ? दुःख मात्र दिएको आक्षेप मुसाले पाउँथे । हुन पनि एक घन्टामा मुसे धान भेटिने–नभेटिने सङ्केत पाइन्थ्यो । एक अर्थमा यो परीषा हुन्थ्यो । हाम्रो धैर्य र खटनको जाँच ।

मुसाले रित्ता पारेका दुलो त्यतिखेर फटाफट हेरे पनि अर्को दिन धीत मर्ने गरी म त्यहीँनिर नि आएको थेँ कति चोटि । यो मेरो एक्लो भाव, एकान्तपन र एकाग्र रूपको अंकमाल हुनुपर्छ ।

मुसे धान नभए पनि मुसाले पारेका प्वालमा पुसे सित वा कुइरोले एक खालको चिसो ओराल्छ । त्यो शीतले माटोमा नपत्याउँदो कलाकारिता समाउँछ । मलाई त्यो कलात्मकले तान्छ, तानिरहन्छ ।

व्यस्तताको कुरै नगर्नु होला ।

मुसे धान खन्दा यसको धेरै साक्षी भेट्न सकिन्छ । कति प्वालहरुमा बाँगो टिङ्गो तरिकाबाट बाला लगिएको हुन्छ । कतिपय दुलामा मुसाले सिधै लगे पनि गहिरा खण्डमा धानका बाला बडो मिलाएर राखेको देखेँ ।

अरूका किताब, कपडा, अन्न खाँदा फोहोर पारे पनि मुसाले आफ्ना दुलामा सफा–सुग्घर र जतनसँग धान थन्काएको देखिन्थ्यो । शायद आफ्नो श्रमको मूल्यलाई ऊ कदर गरिरहेको थियो ।

मुसे धानका निम्ति निकै खट्नु पथ्र्यो ।फाल्दा–फाल्दा पसेका माटोले तन्केर दुख्थें– औंलाका नङहरु । पटपटि फुटेर राति त चर्किन्थे हत्केलाहरु ।
मुसे धान भेला पार्न लागेको समय सामान्य हुँदैनथ्यो । लगानी, धैर्य वा एकाग्रताको कुरो गर्ने हो भने– मुसे धानले जीवनको सबैभन्दा ध्यानमग्न समय खाएको हुन्छ । सा¥है सोचविचारसँग हेर्नु पथ्र्यो ।

‘एक बालो पनि फरुवाको धारमा नपरोस् ।’

‘एक दाना पनि नधुलियोस् ।’

मुसे दरबार निहालेर बसेको साथीहरू सुझाव दिइरहेका हुन्थे । कोदालो चलाउनेहरुले तिनका कुरामा कति मन दिएका हुन्थे थाहा छैन– तर तिनका मुन्टो हल्लाइ र फरुवा उचलाइमा समानता भेटिन्थ्यो ।

अर्थ यही थियो– ‘सँगै आएका हुनाले सुन्नमा तलमाथि भए पनि गुन्नमा पछि छैन म ।’

मुसे धान मात्र हाम्रो लक्ष्य हुन्थ्यो त्यो बेला ।

त्यसमा लगाउने समय वा परिश्रमको कुरो गर्ने हो भने– धान खोजेर ल्याउनु, चुट्नु, सुकाउनु, बताएर माटो धुलो छुट्याउनु वा बेच्न लाउनु– सहज कदापि होइन ।
तैपनि म मुसे धानतिर अनाकर्षित हुन सकिनँ । भएँ, भएँ एकोहोरो । मुसे धानले तानेको तान्यै गर्‍यो । भेटियोस् वा नभेटियोस्– एक खालको लोभ हट्नै सकेन ।
हुन त मुसाले गहुँ, आलस, तोरी, जुट वा मकै पनि आफ्नो दुलामो लैजाँदो हो । तर म र अरू दौंतरीका निम्ति धानको सिलोबालोमा मन जोडियो हेक वर्ष । यो अपराजित खुसी जस्तै, यो अत्यावश्यक प्राप्ति जस्तै, यो अविच्छिन्न हर्ष जस्तै ।

मुसे धानले गर्दा कक्षा छुटेको बहाना भएन । कोदालो चलेको कुराले नै महत्त्व पायो । गुरु पाठ वा ज्ञान मेरा लागि थोरै अर्थ हुन सके– मुसे दरबार रुङिरहँदाखेरि । अभ्यास, पढाइ वा सोधपुछले यतिखेर स्थान पाएनन्– फरुवाका झम्टाइमा ।

यो व्इवहारले बाँचेको समयको सानो अनुहार थियो– हामी सबैको ।

म मुसेधान खोजन प्रायः गएँ । अझ धान भित्रिने प्वालका तह र त्यहाँ जोडिएको खण्ड–खण्डबाट हरेक पटक लोभिएँ । कति धेरै सीप, कति धेरै श्रम, कति धेरै कारिगरी– यी मुसे दरबारमा ।

कतै धान, कतै पात, कतै घाम छिर्ने प्रकाशको व्यवस्था । भोजन, आराम वा योजनाको संयोजन । मुसासँग मैले सिक्ने कुरा हो – अरू कै भए पनि व्यवस्थित प्रयोगबाट जीवन बनाऊ सम्पन्न र सुखद । नदेखाऊ तर मोज गर निष्कपट । मुसा र देश आज धेरै नानीहरुले बनाउने प्रिय वाक्य हो ।

म मुसे धानका लागि खेत जान छोडेको छैन । मङ्सिर, पुस मेरा लागि झन्–झन् आवश्यक महिना भए । दुला, प्वाल वा बुरबुरे माटोले ढिस्को उठेका ठाउँतिर गइरहेछु म ।

धान हैन, मुसा चिन्नु पर्या छ मलाई ।

प्रतिक्रिया