अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

ट्रम्प फेरी ट्वीटिएः पर्खाल बनाउँछौं, बनाउनै पर्छ

बिआरटीनेपाल २०७४ मंसिर ४ गते ११:०७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने प्रतिबद्धता फेरी व्यक्त गरेका छन् । उनले आइतबार साँझ ट्वीटरमार्फत पर्खाल लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सीमामा गस्ती गरिरहेका एक सुरक्षा अधिकारी मारिएपछि उनले पर्खाल लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । बिग बेन्ड निकुञ्ज क्षेत्रमा गस्ति गरिरहेका बेला सीमा सुरक्षाकर्मी रोहेलियो मार्टिनेज मारिएका थिए । त्यसको प्रतिक्रिया स्वरूप राष्ट्रपति ट्रम्प ट्वीटेका हुन् । “दक्षिणी सीमामा एक सीमा सुरक्षाकर्मी मारिए, अर्कालाई गम्भीर चोट लागेको छ । दोषीलाई खोजिने छ र न्यायको कठघरामा उभ्याइने छ । पर्खाल बनाउँछौं, बनाउनै पर्छ ।”

मेक्सिकोको खुला सिमानाबाट आप्रवासीहरु अवैध रूपमा अमेरिका छिर्ने गरेका छन् । अवैधानिक आप्रवासीलाई रोक्न ट्रम्पले चुनावी दौडमै पर्खाल लगाउने बताएका थिए । त्यही अभिव्यक्तिका कारण उनी राष्ट्रपति भएपछि मेक्सिकोका राष्ट्रपति एन्रिके पिना निएटोले अमेरिका भ्रमण रद्ध गरेका थिए ।

सीमा सुरक्षाकर्मी रोहेलियो टेक्ससको भ्यान होर्न इन्टस्टेट १० स्थित मेक्सिकोको सीमा नजिक गस्ती गरिरहँदा मारिएका हुन् । उनका अर्का साथी घाइते छन् । उनी रोहेलियोलाई जोगाउन जाँदा घाइते भएका हुन् । घाइतेको नाम सार्वजनिक गरिएको छैन ।

विश्वभरका गरिब र द्वन्द्वग्रस्त देशबाट हरेक वर्ष धेरै मानिस अवैधानिक रूपमा अमेरिका आउँछन् । मानव तस्करले ठुलो रकम लिएर ती मानिसलाई मेक्सिकोको सीमाबाट अवैधानिक रूपमा अमेरिका छिराउँछन् ।

मेक्सिको हुँदै अमेरिका आउने नेपालीको सङ्ख्या पनि ठुलो छ । ट्रम्पले पर्खाल लगाउने उद्घोष गरे पनि मेक्सिकोको बाटो हुँदै अवैधानिक रूपमा धेरै नेपालीहरू आइरहेका छन् । “नयाँ राष्ट्रपति आउनुभए पछि पनि परिचय खुल्ने कुनै पनि कागजपत्र नभएका नेपालीहरूले महावाणिज्य दूतावासमा सम्पर्क गरिरहनु भएको छ,” न्यू योर्कस्थित अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासका कन्सुल कृष्णकुमार सुवेदी भन्छन्, “परिचय खुल्ने कागजात बनाउन त्यसरी सम्पर्क गर्ने नेपालीको सङ्ख्या घटेको छैन ।” मेक्सिकोबाट अवैधानिक रूपमा अमेरिका छिर्ने सबैले आफ्नो परिचय खुल्ने कागजात बाटैमा नष्ट गर्छन् । अमेरिका छिरेपछि शरणका लागि आवेदन दिन उनीहरूलाई परिचय खुल्ने कागजात चाहिन्छ । त्यसका लागि उनीहरू आफ्नो देशको कुटनीतिक नियोग पुग्छन् ।

सीमा सुरक्षाकर्मी मारिएको विषयमा एफबिआईले अनुसन्धान गरिरहेको छ । एफबिआईले संभवतः सोमबार घटनाको पूर्ण विवरण सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू