अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 15:18

विछ्याउन लागेको बम आफ्नै हातमा पड्कँदा जिउँदो लास बने माओबादी योद्धा जयबहादुर न्यासुर 

बिआरटीनेपाल २०७४ कार्तिक ३० गते ७:४४ मा प्रकाशित

चर्चित कलाकर्मी तथा सञ्चारकर्मी नारायण पुरीको नयाँ कार्यक्रम सुत्रधारको पहिलो इपिसोड हिजो राति हेरेपछि अबेर सम्म निदाउन सकिन । यो विषयमा थप जानकारीका लागि केही प्रश्न सहित नारायण पुरीलाई म्यासेज पनि गरेँ उहाँले मेरो सम्पर्क नम्बर माग्नुभयो । राती नै मैले यो कथा आफ्नो डायरीमा उतारें ।

देश चुनामय बनेको छ । हरेक दिन आउने समाचारहरुले नेताका आश्वासन र जनताका सपनालाई महत्वका साथ प्रस्तुत गरिरहेकै छन् । समर्थन र विरोधका नाराहरुले सामाजिक सञ्जालका भित्ताहरु रंगिरहेछ सेकेण्ड सेकेण्डको दुरीमा । जनयुद्धको विजयले सम्मानित बनेका माओवादी नेताहरूको दौडधुप पनि नयाँ नयाँ स्वरूपमा गतिशील बनेको छ । तर त्यही जनयुद्ध जसले निहिर जनताको पक्षमा रहेको दाबी गरेर रहर र उत्साहको खेती गर्न सिकाएको थियो मान्छेका मनहरुमा र ती मनहरू लडेका थिए एउटा पृथक् व्यवस्थाका लागि, गरिबहरू पौरखको हिसाब किताबका लागि लडे, दलिलहरु छुवाछुतले निर्धारण गरेको भयावह समाज सुधारका लागि लडे, बैँसमै बिधवा बनेकाहरु रातो पहिरनका लागि लडे, शिक्षित युवाहरू कुरितीबाट अलग आफ्नै माटोमा केही गर्न सकिने परिवर्तित संरचनाका लागि लडे । त्यो लडाइको नेतृत्व गर्नेहरु आजको आफ्नो पद प्राप्तिका लागि लडे । लडाई सक्कीयो तर यसरी सक्कीयो त्यो लडाई कि त्यो समयमा समाजका लागि, ब्यस्थाका लागि लडेका थुप्रै योद्धाहरु कहिल्यै उठ्न नसक्ने गरी थला परेर लडे । यही लडाइले थला परेका एक व्यक्ति हुन् हेटौडाका जयबहादुर न्यासुर ।

तामाङ समुदायका जयबहादुर न्यासुर आफूले भोगेका सामाजिक विभेदका लागि र आफ्नो विवेकले पहिल्याएको नेपालको उज्यालो मुहारको कल्पना साकार पार्न जनयुद्धको आगोमा होमिएका थिए २०५३ सालमा । जवान युवा दिए जयबहादुर त्यो समय । माओवादी तातो र रातो क्रन्तिमा उनले देखेका थिए समानताको विशाल कायापलट । जो आज बमको छर्राले गुमाएका आँखाका दृश्यहरुले कोठा छेउको सडक सम्म राम्ररी देख्दैनन् झ्यालमा उभिएर हेर्दा ।

यस्तो छ जय बहादुरको कथा
हेटौंडा नगरपालिका ८ का जयबहादुर न्यासुर २०५३ सालमा किसान सङ्गठनबाट क्रान्तिमा होमिए । भर्खरै सुरु भएको माओवादी जनयुद्धमा होमिदा भोग्नुपर्ने अप्ठेरोको ज्ञान थियो उनलाई र पनि उनले समाजको विभेद अन्त्यका लागि हिम्मत देखाए । जयबहादुरसंग त्यो समयमा आफूले भोगेका अप्ठ्याराका चाङहरु याद बनेर बसेका छन् । आज उनले बगाउने आँसुहरुमा आफ्नो अपागं शरीरको सकस मात्र छैन ती सपनाहरुमाथि नेताहरूले गरेका घातक प्रहारको पिडाहरु पनि छन् ।

हेटौंडाको सिखरपुर गाविसको गाउँ कमिटी सचिव बनेपछि उनको जोस र दाहित्व पनि पार्टीभित्र मजबुत बन्यो । आफ्ना ठुटे हातहरुले आँसु पुस्दै गर्दा उनले त्यो समयमा आफू क्रान्तिकारी बनेकोमा पछुतो पनि गरिरहेका हुँदा हुन् । गाउँ कमिटी सचिव बनेका जयबहादुरले आफ्ना २ वटै हात र दृश्य र श्रवण शक्ति गुमाएको दिन हो २०६१ साल चैत २८ गते ।

२०६१ साल चैत २० गतेबाट जारी १० दिने आम हड्तालको आठौ दिन थियो त्यो । आफ्नो दबाब प्रस्तुत गर्न माओवादीले जारी गरेको १० दिने आम हट्तालको छैटौँ दिन राज्यपक्षबाट जसले बन्दको समय गाडी चलाउँछ उसलाई दैनिक ८ हजार सरकारले दिने र तेल पनि फ्रिमा दिने भन्ने घोषणा गरेपछि ड्राईभरहरुले चैत २७ गते बाट गाडी चलाउन सुरु गरे । बन्दको अभज्ञा गर्दै गाडी चल्न थालेपछि जयबहादुरलाई माथिबाट आदेश आयो गाडी जसरी हुन्छ चल्न नदिनु भनेर । २७ गते उनले गाडी चालकहरुलाई सम्झाए गाडी नचलाउनका लागि । तर चालकहरु मानेनन् र २८ गते बन्द जसरी नि गर्ने र नसके सडकमा बम राख्ने भन्ने दोस्रो आदेश आयो उनलाई । आदेशको पालन गर्दै उनी बम बोकेर हेटौंडा नगरपालिका कमाने सडकमा बम फिट गर्ने तयारीमा थिए । एक्कासि बम उनकै हातमा पड्कियो त्यो भयाबह दिन थियो जयबहादुरका लागि । हातमा पड्केको बमले उनका दुवै हात, आँखाको दृश्य र श्रवण शक्ति समेत लग्यो । १ वर्ष अस्पताल बसेर निहिर अपागं जयबहादुर बनेर फर्किए क्रान्तिकारी जयबहादुर न्यासुर ।

माओवादी आन्दोलन सफल भयो, जयबहादुरको अपागं शरीर भित्र रहेको मनले निमुखाका लागि देखेको सपना साकार हुने विश्वासमा आफूलाई वीर योद्धा महसुस पनि गर्‍यो । उनलाई लागेको थियो, कमाउने उमेरमा जनयुद्धमा होमिएर जिउँदो लास बनेको आफूलाई पार्टीले केही त हेर्ला । सानासाना छोरीहरुलाई केही नभएपनि शिक्षा सम्म दिने व्यवस्था मिल्ला । आफ्नो थप उपचार होला तर दिन बिते, महिना र बर्षहरु बित्दैगए, कोही कसैले जयबहादुरलाई कस्तो छ  ?भनेर सोध्दा सम्म सोधेन । कमाउने घरको मुली नै थला परेपछि जयबहादुरको गरिब परिवार अझै भासिदै गयो अभावको खाडलमा । लामो समय उनले आस गरिरहे, हेटौडामा हुने कार्यक्रममा माओवादी नेताहरू पनि आउने कुरा थाहा पाएभने उनी थरथराएका आफ्नो गोडाहरु छोरीको सहारामा उभ्याउँदै कार्यक्रम स्थल सम्म पुग्थे र आफ्नो परिचय सहितको अस्तब्यस्त जीवन भोगाई सुनाउँथे तर उनलाई सहयोग गर्नुको साटो एकले अर्कालाई देखाउँथे अर्कोले अर्कैलाई । बिस्तारै उनले बुझे अव मलाई पार्टीले सहयोग गर्दैन ।

आफ्ना कथा सुनाउँदा धेरै पटक रसाए उनका आँखा उसो त उनी झ्यालमा बसेर घण्टौं सम्म टोलाउँछन् । के सोच्दो हो जयबहादुरको मनले ? ४ छोरीका पिता उनलाई आफ्नो अवस्थाले श्रीमती र छोरीहरुले भोगेको सकस पूर्ण दैनिकीले कति चोट दिंदो हो ? उनीभित्रको क्रान्तिकारी मन अव उनीसँग छैन, उनीभित्र युद्दकालिन जोस पनि छैन छ त केवल समयले लिएको जीवनको परीक्षा र आश्वासनको भुमरीमा रुमल्लिएर सद्धे शरीर गुमाएको पछुतो । त्यसै भनेका होइनन् उनले ‘समाजको अन्धकार हटाउँछु भन्दा मेरो सम्पूर्ण जीवन र परिवारको भविष्य नै अन्धकार भयो ।’

दिनभर कोठामै बिताउने जयबहादुरकी साहारा बनेकी छन् उनकी ठुली छोरी साधना न्यासुर । छोरी हुन् साधना जयबहादुरकी तर यति बेला साधना जिम्मेवार आमा र जयबहादुर उनको सानो छोरा जस्तो भएको छ दैनिकी । स्कुल पढ्दै गरेकी साधना बिहान उठेर बुबालाई दिसा पिसाप गराउने, मुख धोईदिने, पानी खुवाउने गरेर बिहानी कक्षामा पढ्न पुग्छिन् । साधनाको ध्यान पढाइमा भन्दा बढी बुबाकै यादमा हुन्छ । सुत्रधारको कार्यक्रममा बुबा सँगै आएकी उनले नराम्रो सँग रुंदै भनिन् बुबा भोकाउनु भयो कि, ट्वाईलेट लाग्यो कि जस्तो लाग्छ जहाँ गएपनि ।

साधनाका उमेरका किशोरीहरु फेसबुक, साथिसंगीसंगको घुमघाम, नयाँ पहिरनमा देख्दा त्यो लाऊँ-लाऊँ खाउँ-खाउँकी बच्चीको मनले के सोच्दो हो ? स्कुल सकेर तरकारी लिएर आउँछन् साधना र उनी मुनिकी बहिनी र भिमसेनगोलाको भाँचिएको पुलमा बसेर तरकारी बेच्छन् । उनिहरुकी आमा जसले श्रीमानको कमाई के हो देख्नै पाइनन् उनी पनि अर्को तरकारी पसल राख्छीन् सडक पेटीमै । साधनाले सुनाईन् कहिले काहिँ त तरकारी बिक्री हुँदैन हामी भोकै सुत्छौं । धेरै रात भोकै सुतेका छौँ हामी । सपना सबैले देख्न पाउने हक छ, साधनाको उमेर नै सपना देख्ने उमेर हो । बुबाको अवस्था देख्दा साधनालाई रहर लाग्छ पढेर डाक्टर बन्न पाए म मेरो बुबाको राम्रो सँग उपचार गर्थें । म धेरै रुन्छु मेरो बुबाको अवस्था देख्दा। हामीले कहिल्यै बुबाको काखमा खेल्न समेत पाएनौं साधनाले भक्कानिदै भनिन् । यो रुवाईको मुर्छना भित्र दवेका रहरहरु नेताहरुका छोराछोरीको चुरीफुरी भन्दा कोशौं टाढा छन् ।

आँखाको ज्योति गुमाएका जयबहादुर कृतिम उपकरणका माध्यमबाट नजिकको दुरीका आवाज सुन्न त सक्छन् तर ट्वाईलेट जान देखी खाना सुत्न, उभिन समेत उनलाई अरूको साहारा चाहिन्छ । पिडा भरिएको आवाजमा भन्छन् उनी नेताहरुका छोराछोरी कोही अपागं भएनन् सहिद भएनन्, वेपत्ता भएनन् सायद यसो भएको भए यिनीहरूले बुझ्थे अपागं हुनुको पिडा, जिउँदो लास हुनुको सकस । आफू हामीलाई समानताको पाठ पढाएर यो अवस्थामा पुर्‍याउने नेताहरू पजेरो चढेर सुविधा सम्पन्न महलमा बसेको देख्दा आफूले त्यो समय गलत बाटो र व्यक्तिको भरोसा गरेकोमा पछुतो छ जयबहादुरलाई ।

पिडा रहेछ जयबहादुर न्यासुर भित्र असाध्यै कार्यक्रमको सुरुवातमा प्रस्तोता नारायण पुरीले यदि तपाँई आफ्नो अनुहार नदेखाई कथा मात्र सुनाउन चाहनुहुन्छ भने हामी त्यसै गर्छौँ भन्दा उनले होइन म देखिन चाहन्छु भने । सुत्रधारको नियम अनुसार उनीसँग मन्जुरी लिएर मात्र प्रसारण गरिएको कार्यक्रममा उनका दुवै हात नभएका कारण उनको अनुमतिमा छोरी साधनाले मन्जुरी पत्रमा दस्तखत गरेकी थिइन् ।

प्रतिक्रिया