अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

समृद्धिको नेतृत्व कांग्रेसले मात्र गर्न सक्छ – प्रकाशमान सिंह

बिआरटीनेपाल २०७४ कार्तिक २९ गते २:०७ मा प्रकाशित

पूर्व उपप्रधानमन्त्री एवम् काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभातर्फका नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले मुलुकलाई आर्थिक समृद्धिमा लैजाने कामको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले मंगलबार साँझ नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजना गरेको व्यवसायिक तथा बुद्धिजीवी भेलालाई  सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताउनुभएको हो ।

उहाँले २०४६ सालमा लोकतन्त्रको पुनबहाली भएपछि आएको नेपाली कांग्रेसको बहुमतको सरकारले अबलम्बन गरेका आर्थिक उदारिकरणका कारण नेपालको औद्योगिक, व्यापारिक, जलविद्युत, सडक,शिक्षा,स्वास्थ्य हवाई यातायात, सञ्चार र पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

उहाँले एमालेका सडक आन्दोलन र माओवादीका हिंसात्मक आन्दोलनका अवरोध नआएको भए नेपाली कांग्रेसले नेपालको विकास निकै माथिल्लो स्तरमा पुर्याइसकेको हुने पनि दावी गर्नुभयो ।

उहाँले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले चुनेका प्रतिनिधिहरुले बनाएको संविधानले नेपालको राजनीतिक व्यवस्थाको टुंगो लगाइसकेको हुनाले अब आर्थिक विकासमा केन्द्रित हुन पार्टीलाई सहज हुने पनि बताउनुभयो ।

कांग्रेस नेता सिंहले जनताको आर्थिक विकासको एजेण्डा नभएका दलहरु जनताका प्रतिनिधिले बनाएको संविधानको मर्म विपरीत कम्युनिष्ट शासन स्थापना गर्ने सपना देखेको आरोप पनि लगाउनु भयो ।

नेता सिंहले मुलुकमा बढ्दै गएको भ्रष्टाचार जस्ता विकृति र विसंगति साना र नयाँ दलका प्रतिनिधिहरुले हटाउन नसक्ने जिकीर गर्दै भन्नुभयो,“ राजनीतिक परिवर्तन मात्रै होइन, नीतिगत परिवर्तन पनि साना र नयाँ पार्टीबाट संभव छैन। नारायणमान विजुक्छेजी २०४८ सालदेखि निरन्तर संसदमा प्रतिनिधित्व गरिरहनुभएको छ, चित्रबहादुर के.सी. पनि दुईपटक आइसक्नुभयो, उहाँहरुले कुनै सुधार गर्न सक्नुभएको छैन । सुधारको कुरालाई  पार लगाउन पनि ठूलै पार्टी चाहिन्छ ।”

पूर्व उपप्रधानमन्त्री सिंहले आफू निर्वाचित भएर गएपछि यस क्षेत्रका मतदाताहरुको इमान्दारीपूर्वक सेवा गरेको पनि दावी गर्नुभयो । उहाँले संविधान निर्माणको नेतृत्व गर्ने सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै राजधानीको पहिलो नम्बरको निर्वाचन क्षेत्रलाई विकसित, सुन्दर र नमूना बनाउने संकल्प लिएर आएको बताउनुभयो ।

उहाँले निर्वाचन अभियान र घरदैलोको क्रममा १०७ बर्षीय आमाको समेत आशिर्वाद पाएकोले यो निर्वाचनमा अलग्गै उत्साह थपिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा क्षेत्र नं १ को प्रदेशसभा (क) का नेपाली कांग्रेसका उम्मेवार दीपेन्द्र श्रेष्ठ र  (ख)का उम्मेद्वार सुरज लामिछानेले नेपाली कांग्रेसले युवालाई समेत जिम्मेवारी दिएको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण, पूर्वाधार विकास,आर्थिक समृद्धिको लागि नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष चूडाराज उप्रेतीले १० बर्षभित्र साम्यवादी शासन स्थापना गर्ने प्रचण्डको अभिव्यक्ति डरलाग्दो भएकोले यो निर्वाचनमा जसरी पनि नेपाली  कांग्रेसलाई  बहुमतमा पुर्याउन बुद्धिजीवीहरुले खट्न पर्ने बताउनुभयो ।

शान्ति,सुशासन,विकास र समृद्धि नेपाली कांग्रेसबाहेक अरुले दिन नसक्ने भएकोले नेपाली कांग्रेसलाई जिताउनुपर्ने तर्क राख्नुभभयो ।

अन्य कुराले जनतालाई आकर्षित गर्न नसकेपछि कम्युनिष्टहरुले नक्कली राष्ट्रवादको विषय उचालेको  उल्लेख गर्दै प्रतिप्रश्न गर्नुभयो,“ सार्वभौमसत्ता सम्पन्न जनतालाई दुःख दिएर पनि राष्ट्र बलियो हुन्छ ?” उहाँले विदेशसंग सुहार्द सम्बन्ध बनाउने काम  सरकारको कर्तव्यभित्रै पर्ने उल्लेख गर्दै जनताले पाएको दुःखमा रमाउने नेताहरु राष्ट्रवादी हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक गुणनिधि न्यौपानेले लामो समय बामपन्थी रहनु भएका प्रा चैतन्य मिश्रले एक लेखमार्फत “साह्रै नै माओवादी भइएछ,सोभियतवादी भइएछ,माक्र्सबाद पढिएछ र गाँजा खाइएछ” भनेर पश्चातापपूर्ण अभिव्यक्ति दिएकोले कम्युनिष्टहरुको नाराको पछाडि नलाग्न बुद्धिजीवीहरुसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष केशवानन्द गिरीले सिंह जत्तिको इतिहास भएको, राजनीतिमा खारिएको,अनुभवी र योग्य उम्मेद्वार पाउनु काठमाडौं क्षेत्र नं १ को सौभाग्य हो भन्दै उहाँलाई विजयी गराउन आग्रह गर्नुभयो ।

भेलालाई संबोधन गर्दै नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलाले विभिन्न जातजाति र भूगोलमा बसेको नेपालीलाई भड्काउने  दलहरु राष्ट्रवादी हुन नसक्ने बताउदै भन्नुभयो,“राष्ट्रलाई कमजोर बनाउने पार्टी र तिनका नेताहरु राष्ट्रवादी हुन सक्दैनन।”

कार्यक्रममा नेपाल वार एशोसियसनका अध्यक्ष शेरबहादुर के.सी.ले कम्युनिष्टका विरुद्धमा लोकतन्त्रवादीहरु एक हुनु पर्ने बताउदै यो निर्वाचन पछि कम्युनिष्टहरुको पतनको दिन आउने  भविष्यवाणी गर्नुभयो ।

कार्यक्रममा प्रजातन्त्रवादी कानून व्यवसायी संघका अध्यक्ष भरत खरेल, प्रशासन तथा व्यवस्थापन केन्द्रका अध्यक्ष डिल्लीप्रसाद शिवाकोटी, नेपाल सांस्कृतिक संघका महासचिव शिवशंकर रिजाल,नेपाल इञ्जिनियर्स एशोशियसनका अध्यक्ष हरेराम श्रेष्ठ, नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्ति श्रेष्ठ र नेपाल प्राध्यापक संघका खुमा शर्माले पनि यो निर्वाचन लोकतन्त्रवादी र कम्युनिष्टहरुको बीचको जनमतसंग्रहको रुपमा आएकोले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाउन आग्रह गर्नुभएको थियो ।

प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा  राजेन्द्र गौतमले  स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन जनक मल्लले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू