अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

निर्वाचनको निर्वाध प्रचार प्रसारमा अवरोध नगर्न मानव अधिकार आयोगको आग्रह (विज्ञप्ती)

बिआरटीनेपाल २०७४ कार्तिक २९ गते ०:४८ मा प्रकाशित

निर्वाचनका क्रममा बिभिन्न जिल्लाहरुमा भएका श्रृंखलाबद्ध गोली तथा बम प्रहारका घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बुधबार आयोगले प्रेश विज्ञप्ती जारी गर्दै उम्मेदवार तथा कार्यकर्ताहरूलाई लक्षित गरी श्रृंखलाबद्ध रूपमा भएको गोली तथा बम प्रहारका घटना लगायतका निर्वाचन विरोधी गतिविधिहरूप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्वाचनको निर्वाध प्रचार प्रसारमा अवरोध नगर्न सबैलाई आग्रह गरेको हो ।

आयोगद्वारा जारि विज्ञप्तीमा भनिएको छ :आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको दिन नजिकिंदै गर्दा प्रचार प्रसारका क्रममा रुकुम, रोल्पा, भोजपुर, म्याग्दी, संखुवासभा, गोरखा लगायतका जिल्लाहरूमा उम्मेदवार तथा कार्यकर्ताहरूलाई लक्षित गरी श्रृंखलाबद्ध रूपमा भएको गोली तथा बम प्रहारका घटना लगायतका निर्वाचन विरोधी गतिविधिहरूप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

आयोगले विभिन्न जिल्लामा गरेको अनुगमनका क्रममा निर्वाचनको विरोधमा रहेको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुबाट उम्मेदवारको घरमा कालो झण्डा राख्ने तथा सम्पत्ति कब्जा गर्ने, मतदातालाई मतदान गरे कारबाही गरिने धम्की दिने, निर्वाचनको प्रचार प्रसारमा अवरोध गर्नेे र निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुविच भएका झडप लगायतका तथ्यहरु प्राप्त भएका छन् । यस्ता कार्यले भयरहीत वातावरणमा निर्वाचनमा भाग लिन पाउने मतदाताको अधिकार तथा स्वतन्त्र, निर्भयतापूर्वक र शान्तिपूर्ण ढङ्गाबाट प्रचार प्रसार गर्न पाउने उम्मेदवारको अधिकारको उल्लंघन भएको देखिन्छ ।

स्वच्छ, स्वतन्त्र र आवधिक निर्वाचन लोकतन्त्र र मानव अधिकारको पर्याय हो । यसको सम्मान गर्नु सबै नागरिकको कर्तव्य पनि हो । नागरिक तथा राजनीतिक विषयक अनुबन्ध लगायतका अन्तर्राष्ट्रिय र नेपालको संविधान लगायतका राष्ट्रिय दस्तावेजहरूबाट प्राप्त अधिकारको पूर्ण उपभोगमा अवरोध गर्ने जो कसैलाई पनि विगतमा सरकारबाट कानुनी दायरामा ल्याउन नसक्दा यस्ता घटनारू बारम्बार भैरहेको आयोगको निष्कर्ष रहेको छ ।

अतः निर्वाचनमा भाग लिन पाउने प्रत्येक नागरिकको अधिकारलाई अवरोध नगर्न, कुनै किसिमको व्यवधान सृजना नगर्न तथा सर्वसाधारणको मानव अधिकारको सम्मान गर्न आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ । साथै, आफ्ना चुनावी गतिविधिहरु सञ्चालन गर्दा संयमता अपनाउन आयोग सबै राजनीतिक दलहरूलाई आग्रह गर्दछ । स्वतन्त्र र भयरहीत वातावरणमा प्रचार प्रसार गर्न पाउने उम्मेदवारको अधिकार र मतदान गर्न पाउने मतदाताको अधिकार सुनिश्चित् गर्न तथा निर्वाचनको क्रममा सम्पूर्ण सुरक्षा व्यवस्थालाई अपेक्षित रुपमा सक्षम तथा सवल तुल्याउन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

 

प्रतिक्रिया