अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

सुनसरी—२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक

बिआरटीनेपाल २०७४ कार्तिक २८ गते २२:३३ मा प्रकाशित

सुनसरीका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचन नजिकिएसँगै उम्मेदवार घर दैलो तथा प्रचारप्रसारमा उनीहरू व्यस्त भएका हुन् ।

यहाँ नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाललगायतका पार्टीका तर्फबाट प्रदेश तथा प्रतिनिधिसभाका लागि भएका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रममा व्यस्त भएको पाइएको छ ।

सुनसरी क्षेत्र नम्बर २ (ख) प्रदेशसभा तर्फ नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका जिल्ला सभापति राजीव कोइरालाले सदरमुकाम इनरुवा क्षेत्रमा घरदैलो कार्यक्रम गर्नुभएकोे छ । कोइरालाले बिहानैदेखि इनरुवा क्षेत्रका विभिन्न वडामा घरदैलो तथा भोट माग्ने कार्यक्रम गर्नुभएको हो ।

नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहनुभएका कोइराला र उम्मेदवारी दर्ता हुनुभन्दा एक दिन अगाडिसम्म पार्टीको उपसभापति रहनुभएका रामप्रसाद मेहता नै आमने सामने भएपछि यो क्षेत्र चुनावी चर्चाको शिखरमा पुगेको हो । त्यही कुरालाई मध्यनजर गरेर काँग्रेसका उम्मेदवार कोइरालासहित काँग्रेसका नेता कार्यकर्ता घरदैलोमा व्यस्त बनेको युवा नेता सन्तोष शर्माले जानकारी दिनुभयो ।

कोइरालाको घरदैलो कार्यक्रममा सयाँै कार्यकर्ता तथा जिल्ला नेताको साथ रहेको छ । उता काँग्रेस त्यागेर एमालेबाट प्रदेश सभामा उम्मेदवार बन्नुभएका रामप्रसाद मेहताले पनि इनरुवा–९ बबियामा छलफल तथा अन्तरक्रिया र घरदैलो कार्यक्रम गर्नुभएको छ ।

स्थानीय एमाले नेता हबिब मन्सुरीको घरमा बबिया क्षेत्रका नेता कार्यकर्तालाई डाकेर मेहतालाई जिताउन अपिल गरिएको बताइएको छ ।

उता सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार नारायण यादवले समेत प्रचारप्रसार तथा घरदैलोलाई निरन्तरता दिनुभएको छ । यादवले फोरम नेपालको क्षेत्र सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (ख) पकड क्षेत्र भएकाले कोइराला र मेहताभन्दा आफू अब्बल रहेको भन्दै घरदैलोलाई निरन्तरता दिएको युवा नेता अभिनन्द यादवले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू